~स्मृती रानाभाट~
ए मान्छेहरूका प्रिय भगवान ,
तिम्रा अनगिन्ती भक्तका लस्करालाई चिरेर
मलाई त तिमी माथी एउटा केस हाल्न मन छ
तर मेरो मुद्दा कस्ले लडिदिन्छ खै ?
अदालतको कठघेरामा ,
पापका साङ्लेबारहरु भित्र
पस्चतापको आगोलाई पर राखेर
गुराँसको मुस्कान सापटी मागी
मुस्कुराउदै उभिएका सृष्टिकर्ता ,
मैले कविता कोरेसरी ब्रह्माण्ड कोर्ने ब्रह्म
तिमीसँग आफै वकिल बनी लड्नु छ मलाई ।
तर , तिम्रै गुनगानले लिपिवद्ध
गिता सामु राख्दिन म
इन्द्रेणीले पनि रङ्गाउन नसकेका
स्वोप्निल सपनाहरुमा रङ्ग भरेर
अनि वेदनाका पहाड उक्लि
जिन्दगिको म्याराथनको जित
आकाङ्क्षाका कोपिला नै निमोठेर
आफ्नै अञ्जुलीले अर्कैको झोलिमा राखिदिने
जितेर पनि सदा हारेका
आमा – काकी , फूपू – माइजू , दिदि- बहिनी ,
कयौं नारिलाई आफ्नै आँखा सामु राखी
तिनकै आवाज बनी
मलाई स्वयम् वकिल बनी लड्नु छ ।
अनि आशुको घट्को पिएर
आफ्नै रगतका चिताले जल्दै
नयनरसका धाराले रचेका
चिहानघरमा मुर्दा जस्ता लडेका
अनुहारै बिगार्ने दर्जनौ प्रश्नहरू
मेरा पापी भगवानलाई सोध्नु छ ।
ए पर्मेश्वर !
म सारा नारीहरूको
आवाजबिहिन आवाज बनेकी छु
आज म केवल स्मृति हैन
सृष्टि बनेकी छु
म अखण्ड दिप बाल्ने
सहनशिलताको मुर्ति बनेकी छु
म आमा बनेकी छु ,
बुद्धकी , रामकी , गणेशकी अनि पृथ्वीकी ।
तिमी मसँग लड्न सक्ने हुनु पर्छ
अनि शुरू हुन्छ तिमी माथीको मुद्धा ।
ए रचनाकार !
आखिर तिमीले नै
भेदभावको थालनी किन गर्यौ ?
तिम्रो रचना प्रति घृणा लाग्छ मलाई ,
तिमी यति निर्दयी किन ?
यति बैगुनी किन ?
साच्चै ,
म पहिले सोच्थे कि ,
बेहुला / बेहुलीको खेल मै उमङ्गित
नानीहरू रमाए जसरी
मुस्कुराइरहेका फुलहरूको मुन्टो निमोठेर
भगवान खुशी पार्छु भनि
यि मान्छे कहलिएका अमान्छेहरू ,
ढुङ्गालाई फुल किन चढाउछन् ?
समयको वेगले आज बुझायो कि ,
तिनीहरूका भगवान ढुङ्गे मन भएका
ढुङ्गा जस्तै कठोर रहेछन् ।
ए प्रभू !
किन मानिस र मानुषी बनायौ ?
के कम्जोरी थिए र ममा ,
कि म मानुषी भएर जन्मिए
अनि मेरै आमाको पवित्र कोखबाट
मेरो भाइ मानिस भएर जन्मियो ।
हर रात !
जुनु चुहिरहेकी हुन्छिन्
म झ्यालका पर्दा उघार्दै नियाल्छु ,
आकाशका ताराहरू टिपेर
सपनाको घर बनाउछु
म गगन भन्दा माथी
मेरा लक्ष्यहरू पोत्न थाल्छु ,
म कल्पनाको सागरमा
सपनासँग खेलिरहन्छु
तर समयले नै कोल्टो फेरिदिन्छ ,
मेरो उद्धेश्यको सागर
सुकेर पोखरी भैदिन्छ
म उचाइ भुलेर उड्न खोज्छु ,
भर्खर मेरा आत्मशक्तिमा पङ्ख जोडिन्छन्
अनि फेरी त्यही दिन आउछ
पखेटा फिजाउन खोज्दा
पर्खाल मै ठोकिन्छु म ।
मलाई मेरा सपनाले धिकार्छन् ,
आकाङ्क्षाले गिज्याउछन् ।
अनि थहा हुन्छ ,
आज फेरी मेरो रजस्वला भयो ।
ए भगवान् !
यो रजस्वला मलाई नै किन हुन्छ ?
मैसँग हुर्केको मेरै दौतरी
हर्केलाई चाही किन हुदैन ?
जब संसार उठाउने रगत बग्छ ,
मलाई किन कम्जोर बनाउछन् खुट्टाहरू ?
मानौ यो संसार कै बोझ ,
यि मेरा बेसुरा खुट्टाहरूमा परेका छन्
मेरो यो पिठ्यु,
किन पहाड जत्रो दुख खेप्न बाध्य छ?
कम्मरमा त मेरो घरछेउको
नाग थान बनाइएको ढुङ्गा भएको आभाष हुन्छ
मेरा कम्मर चौबिसे राज्य ,
ति भन्दा बढी खण्डमा विभाजित छन्
जसमा ति नागहरू सल्बलाए जस्तै
सल्बलाउछन् वेदनाका लहरा
पेटका आन्द्राहरू दुखाईले तन्किरहेछन्
यि दुखाई सहन नसकेर
मेरा शरिरका हर अङ्गहरू गुन्जिरहेछन् ,
गाईने दाइको सारङ्गी सरी
किन रेट्टि रहन्छन् मेरा व्यथा ?
ए भगवान् !
यसरी मेरा रक्तपिण्डहरू ,
किन कहिल्यै नसुक्ने गंगा सरी बग्छन् ?
अनि पिडा समुन्द्री छाल किन बन्छन् ?
लाग्छ ,
रजस्वलासँगै मेरो जिन्दगीले
मृत्यु भेटेको हुन्छ ,
र हर महिना मेरो पूर्नजन्म हुन्छ ।
अनि गर्भवति भएकी म ,
सारा जगतलाई हुर्ष बाढ्छु
तर आफैले मृत्यु अँगालेको आभाष हुन्छ ।
यो जगत अस्तित्वका लागि
मेरो पाठेघर नै किन चुन्यौ ?
महिनावारीको असहय पिडा सहेर
किन मेरो पाठेघर
‘कच्चा पदार्थ ‘ जुटाउने मसिन बन्यो ?
तल्लो पेटसँगको दूखाईको यात्रामा
म आफै हारेर
भ्रुणबाट मानिस बनाउछु
अनि आफ्नो अस्तित्व
त्यही हजारौ माइल्सको यात्रामा देख्छु
फेरी दुखी हुन्छु ।
ए मेरा बिपक्षका कठघेराका भगवान ,
मेरो पाठेघरलाई किन विर्य बोक्नै झोला बनायौ?
अनि तल्लो पेटलाई किन बच्चा बोक्ने झोला बनायौ ?
स्मृती रानाभाट
पोखरा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )