~किरण दाहाल~
बाँकी नेपालले कर्णालीलाई चिन्ने भनेको नुन र चामलको अभावले हो । झाडापखालाले त्यहि कर्णालीलाई सताउँछ, नुनको ढिक्का र ‘चावँल’को गेडाले त्यहि कर्णालीलाई सताउँछ । औषधीको गोली, खडेरी र अनिकालले पनि त्यहि कर्णालीलाई सताउँछ । समग्र राज्य ब्यबस्थाले पनि त्यहि कर्णालीलाई सताउँछ । बर्षैपिच्छे सुदुर पश्चिमबाट यस्ता खबर देशभर फैलिन्छ । किनकी सरकारी तोकमा मात्र चामल र नुन खान पाईने सम्भावना हुन्छ, कर्णालीमा । सम्भावना यस कारण कि त्यही चामल पनि भट्टीवाला साहुनीले कुहाएर रक्सी बनाउने चेष्टा गरिनन् भने मात्रै एक पेट चामलको भात खान पाउँछन् बाँकी कर्णालीबासीले । कालो बजारी कस्तो हुन्छ भने खाद्यका कर्मचारी कार्यालय अगाडि ‘चामलको रक्सी पार्नु अपराध हो’ लेख्छन् । आफु भने सुरा र सुन्दरीको लोभले चामल त्यहि भट्टीवालीका पु¥याउँछन् । भट्टीवाली चामल कुहाएर रक्सी पार्छे, बाँकी चामल तेब्बर मूल्यमा भोका जुम्लीलाई बेच्छे । अपराध अरु पनि छ कर्णालीमा । खाद्यका कर्मचारीलाई बिना सन्दर्भ चामल पाईन्छ कि पाईदैन भनेर सोध्नु पनि एउटा अपराध हो । किनकि यसो गर्दा चामल नपाईने सम्भावना झनै बढ्छ । मान्छे, मान्छे जस्तो नभई ढल्न आँटेको घरजस्तो भएका छन्, कर्णालीमा । उनीहरु प्रत्येक पल पौडी खेल्छन् । पौडी खेल्न कर्णालीमा हामफाल्नु पर्ने जरुरी छैन । प्रत्येकका घर–घरमा आँशुका नुुनिला कर्णाली सधैँभरी बगिरहन्छन् । यिनै कुरुप यथार्थलाई सुन्दर प्रस्तुतीले सिगाँरेर सुरेश प्राञ्जलीले पहिलो उपन्यास ‘तुइन’ भर्खरै बजारमा ल्याएका छन् । एउटा सपना बोकेको जुम्लीको कथा हुँदाहुँदै पनि यो समग्र कर्णालीको कथा हो ।
जुम्लाको एउटा युबक उमेर नपुग्दै परिपक्क भएको छ । आगोको लप्कामा खारिएको फलामजस्तै परिस्थितिबस आईपरेका दुःख र पीडाले त्यो युबक पनि खारिएको छ । भूमिराज हो उसको नाम । नाम अनुसारको कर्म हुँदो हो त ऊ धेरै जमिनको मालिक हुन्थ्यो होला । नामभन्दा ठीक बिपरित परिस्थिति हुने यो देशमा ऊ एउटा गुमाउन बाँकी केहि नभएको ‘सर्बहारा’ हो । त्यसो त यो उपन्यास नै गुमाउनेको कथा हो । उपन्यासको नायक हुनुको नाताले सबैभन्दा बढि गुमाउनेमा निर्बिरोध भूमिराज पर्छ । समग्र कर्णाली प्रत्येक समय केहि–केहि न केहि गुमाईरहेछ । तुइनमा झुण्डिएर पारी पुग्न नसक्नेहरु सपना गुमाउँछन् । पारीपट्टी पुग्नेहरु सपना देख्न सिकाउने आँखाहरु गुमाउछन् । भूमिराजले आफ्नो बा गुमाएजस्तै । दिनहरु बित्दैजाँदा भूमिराजको गुमाउने उपक्रम सुरु हुन्छ । बाभन्दा अगाडि झाडापखालाबाट आमा गुमाईसकेको उसले पछि दिदी पनि गुमाउँछ । र, अन्त्यमा सपना गुमाउँछ । सपना गुमेको मान्छेसँग आफ्नो भन्नु के नै पो हुन्छ र ? गुमाउनेको यो कथा बाँकी जगतको निम्ती ‘अस्वभाविक’ छ । ‘२१ औं शताब्दी’मा जाबो झाडा पखाला लागेर मर्नु पनि कहिं स्वभाविक हुन सक्छ ? अस्पताल नपुगी कहिं गर्भवती मर्छन् ? तर, कर्णालीमा सबैथोक स्वभाविक हुन्छ । किनकी ‘हेलो’को ‘लो’ भन्न नपाई डाक्टर उपस्थित हुने काठमाण्डौंका शासकले नजर अन्दाज गरिरहेको भूगोल हो त्यो ।
त्यसो त भूमिराजले गुमाएकाको लिष्टमा मालती पनि छ । ऊ गाउँ छोडेर बासँगै सुर्खेत झर्छे । भूमिराज एक्लै हुन्छ । मालतीसँग उसको प्रेम, सहयोग र सामिप्यताको संस्मरणहरु रमाईला छन् । द्वन्द्वसँगसँगै प्रेमको उपस्थिति पनि देखिने यो पक्ष सायद धेरैको बिगतसँग पनि मिल्नेछ । भूमिराज र मालतीको बालसुलभ प्रेम समग्र उपन्यासकै आकर्षक पक्ष हो । बालसुलभदेखीको त्यो प्रेम किशोराबस्थासम्म कायम रहन्छ । परिस्थितिले घात गर्दैनथ्यो भने सायद पछिसम्म पनि कायम रहन्थ्यो होला । केटी धनी बाबुकी छोरी हुृने र केटा गरिब बाबुको छोरा हुने फिल्मी ‘टाईप’को प्रेमकथा उपन्यासमा छ । तर, प्रशंसनीय पक्ष कहाँ छ भने त्यो प्रेममा फिल्मी पारा भने छैन । कथा पढ्दै गर्दा धेरैले आफुले केटाकेटी छँदा गरेका उपद्रबहरु र संयोगहरु सम्झनेछन् । पाट्याभात(बनभोज) गएको, गोठालो गएको, स्कुल छोडेर पौडी खेल्न गएको, पूजामा रमाईलो गरेको, मन मिल्ने साथी नबोल्दा कागजको चिर्कटोमा ‘सरी’ लेखेको पनि धेरैलाई सम्झना हुनेछ । समग्रमा उपन्यासको प्रेमिल पक्षको जति प्रशंसा गरे पनि कम हुन्छ ।
त्यहि भूमिराज माओवादी चपेटामा परेर जुम्ला छोड्न बाध्य हुन्छ । तुइनका घिर्नीजस्तै घुमिरहन्छ उसको जीबन । होटलमा काम गर्छ । माओवादी र सेनाको तानातानमा परेर होटल साहू मारिन्छ । एउटाले खाना ख्वा भन्ने र अर्कोले किन ख्वाईस भन्दाभन्दै अन्नत साहूको इहलिला समाप्त हुन्छ । भूमिराज त्यसपछि पोखरा हानिन्छ । तर, आवाजबिहिनको गन्तब्य नै कहाँ हुन्छ र ? ऊ पोखरा होईन परासीको बिरानो ठाउँमा पुग्छ । त्यहि बसोबास हुन्छ, लामो समय । तर, जताततै द्वन्द्वपीडित भेटिन्छन् । कोहि सेनाबाट, कोहि माओवादीबाट । अन्त्यमा आफै पनि सेनाबाट समातिन्छ र जबर्जस्ती आतंककारी बनाईन्छ । सेनाको ब्यारेकमै ऊसँगै उसको सम्पूर्ण सपनाको अन्त्य हुन्छ । त्यसो त सम्पूर्ण देश नै सेनाको व्यारेक भएको त्यस परिस्थितिमा सयौंलाई बन्दी बनाईनु र सपनाको अन्त्य गराईनु सामान्य हर्कतमात्रै थियो, सेनाको निम्ती । त्यसकै सानो अभ्यासमात्रै हुन् खास बन्दीहरु । भूमिराज एउटा उदाहरणमात्रै ।
पछिल्लो समय प्रकाशित पुस्तकहरुमा माओवादी युद्धप्रति प्रायः लेखकको धारणा पुर्वाग्रहले पीडित देखिन्छ । तर, प्राञ्जलीको प्रस्तुती सन्तुलित छन् । बरु स्वयं कर्णालीबासीको कस्तो छ कुन्नी ? ‘एक घर, एक व्यक्ति’ भनेर उर्दी लगाउने उसबेलाको माओवादीलाई अहिले ‘एक घर, एक प्रश्न’ गर्ने अबसर जुटाईदियो भने कस्ता प्रश्न उठ्लान् ? व्यक्तिको मात्रै नभई संसारको मुक्तिको कुरा गर्नेले ‘मुक्ति टाबर’ ठड्याएको भन्ने बजार हल्लालाई के जवाफ देलान् ? युद्धको बेलामा अरुलाई तास कोच्याउने कमरेडहरु आजकाल आफैं ब्राण्डेड रक्सीका बोतल अगाडि भटिन्छन् । ऊ बेला तास कोच्याउँदै हिड्नेले आफैंलाई कसरी जवाफ देलान् ? तुइन पढ्दै गर्दा दिमागमा रहिरहेको त्यतिबेलाको युद्धको फुटेजले जवाफ खोज्न थाल्छन् । भूमिराजको यो प्रश्न उसको मनोवाद मात्रै हो कि समग्र सत्ता राजनीतिप्रतीको ब्यङ्ग्य हो ? ऊ भन्छ, “कर्णालीको नाम र परिचय फेर्न हिँडेको म आफैं फेरिएँ आज । आखिर यही बन्दुकले फेरिदियो मेरो नाम र परिचय । के यो बन्दुकले मेरो नाम र परिचय फेरेजसरी कर्नालीको नाम र परिचय पनि फेर्न सक्छ होला र ? भूमिराजलाई उत्तर दिदै कोहि बन्दुकवालाले कर्णालीमा यो–यो कुरा फेरियो भनेर ‘लिष्ट आउट’ गर्न सक्छ ? कर्णालीमा पाँच सयको साउँब्याज पाँच हजार हुने ‘प्याज प्रणाली’ फेरियो होला की फेरिएन होला ?
त्यसो त उखानै छ, ‘सबैभन्दा ढुङ्गा साह्रो, ढुङ्गाभन्दा अभाव साह्रो’ । धेरैका पेट भरिन्न, कर्णालीमा । भोको पेटले आफ्नै तौललाई तुइनको घिर्नीमा कति दिन पो तान्न सक्ला र ? त्यहीकारण प्रत्येक साल तुइनबाट कर्णालीमा कोहि न कोहि खसिरन्छन्, ती मर्छन, हराउँछन् । तुइनका डोरीजस्तै कर्णालीबासीका भाग्य रेखा कमजोर छ ।
उपन्यास निकै सशक्त भएको छ । यति हुँदाहँदै पनि बत्तिसै लक्षणले युक्त छ भन्दा अस्वभाविक नै होला । भूमिराजले एक ठाउँमा भन्छ, ‘उसको (मालतीको) घर (हाम्रो भन्दा) तीन कान्ला मास्तिर थियो ।’(पेज नं.३५) अर्को ठाउँ उसले भन्छ,‘उनीहरुको भान्सामा मिठा चामलको भात छड्केको वासना ढिडो फत्किँदै गरेको हाम्रो भान्सासम्मै आइपुग्थ्यो ।’ (पेज नं.५१) पहाडको ठाउँ, हावा तलबाट माथितिर बहने हो । त्यसमाथि तीन कान्ला माथिको घरबाट तलतिरको घरमा वास्ना आउला र ? त्यस्तै परासीको धनेवा गाउँमा भेटिएका केहि पात्रले कर्णालीतिरकै ठेट भाषा बोलेका छन् । कर्णालीसँगको कुनै सम्बन्ध प्रस्तुत नगरिएकोले पनि यो भाषाशैली अस्वभाविक बनको छ ।
कर्णाली लेखनको निम्ती नयाँ थिएन । माओवादी युद्ध पनि नयाँ बिषय पनि होईन । चामल गेडा र नुनका ढिक्काहरु पनि नयाँ होईनन् । तर, पात्र र भोगाई नितान्त नयाँ छन्, तुइनमा । कर्णालीको ठेट भाषा र प्रस्तुतिले उपन्यासलाई यथार्थनजिक पुर्याएको छ । पात्र, बिषय र कथा सबै स्वभाविक लाग्छन् । यस्तो दिन पनि आउला की कर्णालीमा चामल, नुन सहज होस् । त्यहाँका स्याउले संसार सयर गरुन् । जडिबुटीले धेरैका ज्यान जोगाओस् । जताततै सडक र पुलहरु बनुन् । भूमिराजहरुका सपना पुरा होउन् । त्यस दिनको निम्ती एउटा ईतिहास बोल्ने उपन्यास हो, तुइन ।
शनिबार, मार्च २२, २०१४
(स्रोत : सेतोपाटी डट कम)