~भूमि भण्डारी~
जानेछु साथी एकदिन
यी रुमानी सपनाहरु छोडेर
नखोलिएको प्रेमपत्र झैं
अधुरा चाहनाहरु मसँगै
जानेछन् एकदिन धुँवा भएर
मेरो अनुपस्थितिमा
यी डाँडाहरुमा
के मेरा यादहरु गुञ्जिरहलान्
के मेरा अपूर्ण सुस्केराहरु
यी चौतारीहरुमा सुसाइरहलान्
बाँकी रहनेछ केवल
नचढिएको सगरमाथा
नटेकिएको भूगोल
अतृप्त चाहना
नचुँडिएको जन्जीर
अप्राप्य खुशी, उन्मुक्त हाँसो
र छरपष्ट पार्न नसकिएका संवेगहरु
प्रिय साथी,
म यतै हुँदै
के तिम्रो हृदय जित्न सकेँ
तिमी सँगै हाँस्न र रुन सकेँ
या म फूलिरहेँ फोस्रो दम्भले
जीवन त यसरी नै बितिगयो
उत्तरार्धमा, अब सोच्छु
मसँग पनि हाँस्ने समय भए
मान्छे झैं भएर बाँच्ने समय भए
तिमी हाँस उन्मुक्त भै
तिमी बाँच स्वतन्त्र भै
(स्रोत : रचनाकारको ब्लगबाट सभार)