कथा : सम्झौता

~सुषमा मानन्धर~Shushma Manandhar

ऊ एउटी नवोदित लेखिका। लेख्‍ने उसको कुनै पेशा नभए पनि साहित्यतिर गहिरो अभिरुचि भएको कारणले घरव्यवहारपछि उब्रेका समयमा उसले धेरै लेखेकी छ। आफ्ना रचनाहरुलाई उसले लेख्दै अनि साँच्दै गरेकी छ। अहिले नै संग्रह निकालि हाल्न ऊ सक्दिन। केही पत्रिकामा फाट्टफुट्ट एक दुई लेखहरु छापिनु सिवाय बाँकी उसका रचनाले अप्रकाशितको नियति भोग्नु परिरहेछ। उसले प्रयास नगरेकी पनि हैन, धेरै पत्रिकातिर प्रकाशनको लागि पठाएकी पनि हो। तर कुन्नि तिनले कतै किन ठाम् पाएनन्। लोकतन्त्रपछि जताततै समावेशिकरणको नारा लागिरहेको बेला महिला लेखिकाहरुलाई सबै पत्रिकाले प्राथमिकता दिन्छन् भन्ने कुरा उसमा किन लागू हुन सकेन, उसले बुझ्न सकेकी छैन। पत्रिकासँग सम्बद्ध केही साथीभाइहरुलाई हारगुहार पनि गरिसकी। उनीहरुको “आश्वासन”सँग ‘हुन्छ म खबर गरुँला’ भन्नेहरुको खबर उसले कहिल्यै पाइन।

पत्रिका पसलतिर आउने प्रायः नाम चलेका सबै पत्रिकामा उसले आफ्ना रचनाहरु पठाइसकी। आउँदा जाँदा बाटोमा झुण्डयाइएका ती पत्रिकाहरु हेर्न ऊ प्रायः छुटाउँदिन। तर उसले आफ्ना रचनाहरु छापिएको कहिल्यै देखिन न त कसैले उसलाई छापिएको जानकारी नै दिएका छन्। कत्रो लगनले लेखेका आफ्ना सृजनाका अंशहरु कुन कुनामा फालिएका होलान् भन्ने आशंका मात्रले पनि उसको आङ सिरिङ्ग हुन्छ। पहिले पहिले त कुन पत्रिकामा कुन मिति र समयमा कुन-कुन रचना पठाइयो भनेर ऊ बकाइदा टिपोट गरिराख्थी। हरेक दोस्रो रचना पठाउँदा अब यसपाली त छापिन्छ भनेर ढुक्क हुन्थी। त्यसको अब कुनै हिसाव नै रहेन। कहिले काहीं त ऊ खिन्न पनि हुन्थी र निराश भै कागजका खोस्टासरि थन्किएका आफ्ना रचनाहरुलाई अगेनाभित्र झोसिदिन खोज्थी तर उसले कहिल्यै त्यसो गर्न सकिन।

केही दिन अघि एउटा पत्रिकाले कथाहरु छाप्नको लागि आह्वान गरेको देखेर उसले पनि एउटा कथा पठाई। छापिने कुराको संभावना कमै देखे पनि ऊभित्र एउटा क्षीण आश पनि थियो। कथा पठाइएको हप्ता दिन पछि उसको मोबाइलमा एउटा फोन आयो अपरिचितको, अप्रत्याशित तवरले। त्यही पत्रिकाको सम्पादकको थियो, उसले विश्वासै गर्न सकिन। कथामा प्रयुक्त शब्द र अक्षत विषयबाट आफू प्रभावित रहेको बताउँदै उनले उसको लेखाइको मुग्धकण्ठले प्रशंसा गरे। रचना छापिनु भन्दा अगाडि नै प्रतिक्रिया, त्यो पनि सम्पादकबाट ! उसले आफूलाई सपना देख्दै गरेकी हो कि भन्ने ठानी। हैन। राम्रै चलेको त्यो पत्रिकामा उसको कथा छापियो। उसलाई बधाई पनि सबै भन्दा पहिला तिनै सम्पादकबाट प्राप्त भयो। आफ्ना अन्य रचनाहरु नछापिएको पीडा सजिलै बिर्सी उसले। मानौं ठूलै पुरस्कार पाए सरी उसका खुट्टा भूँइमै रहेनन्। आफ्ना चिने जानका सबैलाइ आफ्नो छापिएको कथा देखाई। धेरैले उसको कथा नबुझे पनि “चिया खुवाउनु पर्छ है” भन्दै बधाई दिए।

भोलिपल्ट उसले सम्पादकलाई फोन गरी, उनी फूर्सदमा र केही ताजा मूडमा रहेछन्। कथा छापिदिएकामा ऊ सम्पादकप्रति साह्रै अनुगृहित थिई। उसले फोनमा आभार व्यक्त गरी त्यसका लागि। “म त मान्दिन। यतिले कहाँ हुन्छ, चिया खुवाउनु पर्छ।” उनको सरल र सहज माग सहर्ष स्वीकारेर उसले सम्पादकलाई चियाको लागि निम्त्याई नजिकैको रेष्टुँरामा। उनी आए पनि।

करिब पैतालिस वर्ष जतिका भरिला जिउडालका ती सम्पादक निकै वाक्पटु देखिन्थे। आधा घण्टा जतिको उनीहरुको चिया खवाईमा ती सम्पादकले उसमा ठूलै प्रभाव छाडे। उसका लेख रचनाहरुमा आफूले सक्ने सहयोग र स्थान दिने बताएर जस्तै परिस्थितिमा पनि लेख्ने काम छाड्नु हुन्न भन्ने सुझाव दिन पनि उनले विर्सेनन्। उसका लागि ती सम्पादक वास्तवैमा कुनै देवदूतभन्दा कम्ति थिएनन्। कतै पनि कुनै रचनाहरु नछापिई रहेको कालो कुण्ठा माझ जमिरहेकी उसलाई उनले प्रकाश बनेर डोर्याएको झैं लाग्यो। आफ्नो लेखाइको स्तरीयतामा विश्वास गर्नुको साटो, त्यसले पाएको अवसरलाई उसले ठूलो ठानी। हुन पनि कतै नछापिएसम्म त्यसको स्तरीयताको के अर्थ रहन्थ्यो र !

सम्पादकसँग फोनमा प्रायः कुराकानी भैरहे पनि त्यसपछि लामो समयसम्म फेरि उनीसंग भेटघाट हुन सकेन उसको। ऊ भेट्न चाहन्थी, आफ्नो लेखाइ वारेको उनको धारणा, भविष्य र सम्पादकबाट पाइने र्समर्थनका बारेमा लामो कुराकानी गर्न। सम्पादकको व्यस्त दैनिकीलाई अनुमान गरी उसले भेटघाटको लागि पहल गर्न सकिरहेकी थिइन।

एक दिन उसलाई अचानकै बोलाए उनले आफ्नो अफिसमा। ऊ त्यहाँ पुग्दा केवल सम्पादक थियो, मेचमा धुम्धुम्ती बसिरहेका। सँधै भन्दा अलि फरक केही गम्भिर देखिएका उनी, ऊ पुग्ने वित्तिकै उनले हात समाई छेउको मेचमा बसाले। छक्क परी ऊ। उसको सोचाइ विपरीत उनले खासै कुनै व्यक्तिगत कुरा गरेनन्।

“एउटा विचारोत्तेजक लेख लेख्नु पर्यो।”

उनले आफ्नो हातलाई उसको कुममाथि राख्दै भने “पत्रिकाको वाषिर्कोत्सव पारेर एउटा नयाँ पत्रिका लन्च गर्दैछौं।”

समाजमा स्थापित पाँचजना महिलाहरुलाई विशेष हाइलाइट गरी लेख छापिने र त्यसमा उसको पनि लेख रहने बताउंदा पत्याउनै सकिन उसले। हिजोसम्म गुमनामीको अँध्यारोमा रहेकी ऊ, आफूलाई प्रसिद्धिको टाकुरामा चढ्दै गरेको महशुश गरी उसले। के साँच्चि उसको लेखाई यति सशक्त छ, नत्र यो कृपादृष्टि किन ?

“लेख्नु हुन्छ हैन ?”

सम्पादकको हातको भार उसको काँधमा बढेपछि उसको कल्पनामा चढाइ रोकियो। उसले विस्तारै टाउको हल्लाइ, केही बोलिन। उसको गाला थपथपाएर घर जानू भने सम्पादकले त्यसपछि।

केही समयपछि फेरि दोश्रो कथा छापियो उसको। साथीहरुले उसलाई यो अझ माझिएको छ भने। तर उसले यसको सम्पूर्ण श्रेय तिनै सम्पादकलाई दिई। उनले नछापिदिएका भए त्यो सिर्फ एउटा कागजको टुक्रा हुन्थ्यो। आफ्नो प्रतिभाको पारखी तिनै सम्पादकमात्र रहेछन्, उ विस्वस्त भई। उनको नम्बर डायल गरेर उसले आफ्नो कृतज्ञता देखाई। आफ्नो खुशी नजिकबाट बाँड्न चाहेर उसले कुनै दिन लन्चमा आउन अनुरोध पनि गरी उनलाई। उनले लन्चमा नभै उसँग डिनरमा जान चाहेको कुरा बताए। डिनर, उसको लागि स्वीकार्न गाह्रो कुरा थियो। घरमा श्रीमानलाई के भन्ने ? उसमाथि सानो छोरो। उसले असमर्थता जनाई पहिलोचोटी। उनले खान आउने कुरा त स्वीकारे तर स्थान र समय उनको रोजाइमा हुने कुरामा उनको अडान रह्यो। बाध्य भएर उसले स्वीकारी।

ऊ बेलैमा लन्चमा गएर फर्किन चाहन्थी तर सम्पादकको फोन आएको थिएन। करिब चार बजेतिर उनले फोन गरेर उसलाई रत्‍नपार्कमा आउन भने। त्यहाँबाट कहाँ जाने उनले केही खुलाएनन्। निर्धारित समयमा ऊ त्यहाँ पुग्दा उनी सडकछेउ गाडी बिसाएर उसैलाई कुरिरहेका थिए। गर्मी, नर्वसनेस र हडबडीमा ऊ पसिना पसिना भएकी थिई। उनले गाडीको ढोका खोलेर रातै भएकी उसलाई एकछिनसम्म नियालिरहे अनि अगाडि बस्न ठाउँ देखाए। उनको मौनता देखेर उसले कुन ठाउँ जाने भनेर सोध्न सकिन। दुई तीन वटा गल्लीहरु छिचोलेपछि एक ठाउँमा गाडी रोकियो। मुख्य सडकदेखि भित्र, शान्त वातावरणमा यति राम्रो रेष्टुरेण्ट, उसले सोचेकै थिइन।

“कस्तो लाग्यो ठाउँ ?”

पहिलो चोटि बोले उनी। केही दबेको स्वरले “ठीकै छ” भने पनि ऊभित्र एउटा अव्यक्त डर मडारिरहेको थियो। कुनाको टेवुल रोजे उनीहरुले। एक जोडी विदेशी ग्राहक बाहेक अरु थिएनन् त्यहाँ।

“के खाने ?” उनले सोधी।

“जो इच्छा तिम्रो”

सँधै गर्ने तपाई सम्बोधन छाडेर उनले “तिमी” को तात्पर्यमा भने।

“के खुवाउन सक्छ्यौ ?”

द्विअर्थ लाग्ने उनको प्रश्नमा ऊ मनमनै आत्तिई। प्रत्यक्षतः केही नबोली मेनु हेर्न तिर लागी ऊ। कोल्ड ड्रिन्क र खाना अर्डर गरेपछि उनले पत्रिकाको कुरा निकाले। लेखहरु छापिन तयार भैसकेका र त्यसमा छापिने उसको लेखले उसको ठूलो परिचय बनाउँछ भन्दै ती सम्पादकले उसको पिठ्यू थपथपाए। ऊ बोलिन। एकछिन मौनता छायो दुई बीच। उसले घरिघरि घडी हेरेर ढिला हुँदैछ भन्ने जनाउन खोजी।

“खै कति बज्यो ?”

उसको हात छातीतिर घचेट्दै उनले उसको घडीमा समय हेरे। यसो गर्दा उनको हातले उसको छातीमा छोइयो। नियतले गरिएको थियो कि त्यो अन्जानमा भयो, उसले भन्न सकिन। सम्पादकले उसको हात आफ्नो हत्केलामा लिंदै अर्को विस्फोट गरे, “तिमी सेक्सको बारेमा के सोच्छौ ?

उनको हात तातो थियो र कामिरहेको। बिरामी हुन र ? थिएनन् ! फेरि त्यो उन्माद कस्तो।

यदि आफ्ना रचनाहरु छाप्नु पर्ने थोरै स्वार्थ मात्र नभएको भए पनि ऊ यो परिस्थितिमा यसरी लाचार भै बस्ने थिइन। विषयलाई परिवर्तन गर्ने बारे सोच्दैथिई ऊ, उनले ऊतिर निहुरिंदै सुस्तरी भने, “मलाई ठूला छाती भएका स्वास्नी मान्छे निकै मनपर्छ।” उनले घुटुक्क थुक निलेको देखी डरले उसको मुखै सुक्यो। उसलाई असहज र अन्यमनस्क भएको अनुमानमा सहज बनाउन उनले फेरि लेखाइको प्रसङ्ग झिके। लेखाइको शैली नौलो रहेको भन्दै त्यही गतिमा लेखे छिट्टै नामी र स्थापित लेखिका बनिने सपना देखाए उनले। सपना उसले पनि देखेकी थिई तर सपना पछाडिको अँध्यारो रात उसलाई त्रस्त बनाउंदै थियो।

अर्डर गरिएका खानेकुरा आइसकेका थिएनन्। ढिलो भएको हो वा गराइएको, झिनो शंका उठ्यो उसको मनमा। शंका उपशंका, डर संकोच र छोरोको पीरले कुरा गर्न उसँग कुनै विषय बचेको थिएन।

उनी ऊसँग अलि बढी टाँसिए, “सुन, तिम्रो लेखाई असाध्यै राम्रो छ, मलाई मन पनि पर्छ। तर एउटै कमी छ ……।”

उनले वाक्य अपूरै छाडेकाले उसले पुलुक्क उनको अनुहारमा हेरी।

उनले अगाडि भने, “यदि नामी र स्थापित बन्नु छ भने तिमीले आफ्नो कमजोरी हटाउनु पर्छ। यही तिम्रो प्रगतिको वाधक हो। हटाउँछ्यौ हैन ?”

एउटा साँचो शुभचिन्तकले जस्तो उनले उसको सृजनाप्रति चासो र चिन्ता लिएको देख्दा उसलाई उनी प्रति व्यर्थै शंका गरे जस्तो लाग्यो। उनले एकछिनसम्म उसलाई तौलिरहे, “तिमीमा लेख्ने अदम्य शक्ति र इच्छा छ, यसलाई संकोच र रुढिवाढीतामा नअल्झाउ। लेख्नेहरु यहाँ धेरै हुन्छन् तर सबै नामी बन्दैनन्। मैले धेरैलाई स्थापित गराइसकेको छु। तिमीलाई पनि गराउँछु। यहाँ केही पाउन केही गुमाउनु पनि पर्छ। आऊ हिंड, माथि बसेर डिस्कस गर्दै गरौं। कुनै ठूलो र बेर लाग्ने कुरा पनि हैन। ती सम्पादकले उसको सामु एउटा सत्य र्छलङग्याइदिएका। ऊ स्तब्ध र शून्य भई। ऊसँग अब पाँच मिनेटको विकल्प थियो। सम्पादकको कुत्सित शर्त पुरा गरेर लोकप्रिय र स्थापित लेखिका बन्ने कथित अवसरका सम्भावनाहरु लिने या आफनो मूल्य मान्यता, अस्मिता र आत्मसम्मानलाई कायम राख्ने।

आँखा अगाडि अंध्यारो छाएर भाउन्न छुट्ला झैं भयो उसलाई। उसले कोही देखिन त्यहाँ, न सम्पादक, न विदेशी जोडी न कुनै कर्मचारी। ऊ जुरुक्क उठी। लडखडाउँदा पाइलाहरुले अगाडी बढी। सम्पादक उसलाई बोलाउँदै थियो। उसले सुनिन। बाहिर घाम अस्ताइसकेको थियो। सडक किनारका बत्तीहरु पनि बलिसकेका थिए। साह्रै अबेला भए जस्तै उसको मन अत्तालियो। उसको कानमा छोरो रोइरहे झैं लाग्यो। ऊ हिंड्दै गरेकी बाटोभरि ढुंगैढुंगा थिए। हरेक ढुंगा मुन्तिर उसलाई आफ्नै रचनाहरु किच्चिएका झै लाग्यो। एउटा यथार्थ थियो उसको सामु ,उसले अभ्यस्त हुन सकिन। रुन नचाहेर पनि उसका आँखा रसाए। उसलाई थाहा छ- अब त्यो पत्रिकामा उसका दोश्रो कुनै रचना छापिने छैनन्, आखिर उसले सम्झौता जो गर्न सकिन।

December 22nd, 2007

(स्रोत : माइ संसार डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.