कविता : लोकतन्त्रको काजी

~गोविन्दप्रसाद आचार्य~

दूधमा डल घोलेर दूधको मूल्य मागियो
स्वतन्त्र लोकको तन्त्र आदर्श यही मानियो
काने गुजी भरिएका कान छन् लोकतन्त्रका
लुटेरा लुट्न दे भन्दै स्वतन्त्र लोकतन्त्रका

औषधि क्षति मान्छेको गर्ने भान्से भए यहाँ
यति आदर्शको तन्त्र होला अन्त कतै कहाँ
मान्छेको क्षतिका खेती आराम राम राज्य रे
दलाल दरिला खम्बा आदर्श देशभक्त रे

पहाड गडीमा चढछन् स्वतन्त्र लोकतन्त्रमा
शहीद झाडीमा सढ्छन् आदर्श लोकतन्त्रमा
खानी लिलामामा बेची सिलाम फल्छ रे यहाँ
पानी इलाम अर्कैको विजुली बल्छ रे यहाँ

खानी पानी गरे दान बसेर खान पुग्छ रे
गाडीमा देशको काठ विदेश तिर जान्छ रे
खेत बाँझो कतै हुन्न विदेशी धान फल्छ रे
अब यो खेत बारीमा विदेशी काम गर्छ र

पेट हाम्रो भोको हुन्न विदेशी भर्न आउँछ
यहाँको वन गाई विदेशी चर्न आउँछ
हावापानी चोरी नानी खानी लैजा विदेशमा
दानी छन् देशका छाता खुन लैजा विदेशमा

नूनको मूल्यमा खुन साटेको यही शासन
पानी खानी खनी सुन सुम्पेको यही शासन
हिजोका गालीले पोल्छ त्यो भन्दा झन बढी भयो
हिजो भन्दा चोरी धन्दा अति नै मनपरी भयो

जनवादी मुकुन्डोमा धनवादी जुकाहरू
गयो देश गुराँसको झर्छ आँशु म के गरूँ
देशमाथि दशा डाके सामन्ती पथका मति
रक्तमा पौडी खेलेर देश गर्नु गरे क्षति

चपाई गुलियो पान देश दान गरिसके
रक्तमा पौडी खेलेर खल्ती टम्म भरिसके
गाँजाको भोजमा भोज नसामा देश नै गयो
उज्यालो युगको आशा रक्तको क्षतिमा गयो

शहीदहरूको खेती कमाएका दलालले
मान्छेको खुनमा सुन छाना छाए दलालले
पहाड भित्रका खानी जानी जानी विदेशमा
क्या मिठो मूलको पानी जानी जानी विदेशमा

सफा शुद्ध छ के कहीं यो पाजी लोकतन्त्रमा
रक्तमा पौडिने पाजी क्या काजी लोकतन्त्रमा
खुनको बदला लेउ नुनसँग नसाट है
खानी पानी कतै खन्ला पाजीलाई लखेट है

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ४६ – Nov. 2, 2011 – २०६८ कर्तिक १६ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.