~दुर्गाप्रसाद ग्वालटारे~
काँचो सुख्खा छुट्टिंदैन, आगो बलेपछि ।
माटोसंगै चट्टान खस्छ, डाँडै गलेपछि ।।
धागो रहे चङ्गा हुन्छ, धागो छिने खोस्टो ।
उल्टै बाटो उड्छ उल्टो हावा चलेपछि ।।
कति मर्लान् बालबच्चा, कति बृद्ध युवा ?
नासपातीको रुखमा उस्तै हर्ताल फलेपछि ।।
मूर्ख सन्तान पहिले हाँस्छ, बितेपछि चेत्छ ।
अन्यत्रीले आमालाई ध्वाँसो दलेपछि ।।
कस्ले आई बुझाइदेला लठ्ठक छोरालाई ।
तोरण आफैँ धरो बन्छ लिङ्गो ढलेपछि ।।
माटो माटो मेरो माटो, भन्छ कुर्लिएर ।
सुँघ्दा गन्ध केको आउला माटै जलेपछि ??
२०७२ भाद्र, पोखरा ।
(स्रोत : एबिसिखबर डट कम)