~प्रकाश सुनुवार ‘निराकार’~
भ्रमको खेति गर्ने
सरकारमा जनमत नभएपनि टिकिरहनु पर्ने
रोजगारी सृजना गर्न नसक्ने
धार्मिक तथा जातिय भडकाव निम्त्याउने
राजनितिक अस्थिरता कायम गरिरहने
धर्म निरपेक्षतालाई स्थापित हुन नदिने
जनताले विदेशीभुमिमा मृत्यु अंगालिरहनु पर्ने
दुर्बलहरुले संधै दमन सहिरहनु पर्ने
यस्तै तितो अनुभुति संगालेर
जीवन कठिन ढंगले व्यतित गरिरहेका छन्
यी परिस्थितिवाट छुटकारा पाउने
अधुरा सपनाहरु ठिंग उभिएका छन् ।
यहि अधुरा सपनाहरु
बर्तमानका लागि उर्जा भएका छन्
जस्को कारण अग्रगमनका लागी थप मद्दत मिलेको छ ।
अग्रगमन आजादी हो
आजादी विना अग्रगमन सम्भव छैन ।
तसर्थ आजादीका आवाजहरु
सिक्किमबाट उठ्नुपर्छ
भुटानभित्र चल्नुपर्छ
तिब्बतले उठाउनुपर्छ
कश्मीरमा पनि अझ चर्को भएर उठ्नुपर्छ
र सिंगो नेपाल भित्र
एउटा सिंगो नेपालको लागी उठ्नु पर्छ ।
सिंगो नेपालको हरेक नागरिकको लागि
आजादीको आवाज बुलन्द हुनुपर्छ ।
आजादीको आवाज यसकारण पनि उठ्न पर्छ
किनकी
शासकहरुले सार्वभौमसत्ता पैसामा बेचे
शासकहरुले दमनको चरम विन्दु देखाए
नयाँ शासकहरुले पनि पुरानै शैलीमा सक्दो गरेर देखाए
जनताको मुख बन्द गरे
आँखा नदेख्ने बनाए
कान थुनिदिए
उमालेको तातो पानी
जनताको टाउकोबाट खन्याउंदा सम्म
टुलुटुलु हेरिरहने बनाइदिए ।
पालो अब जनताको हो ।
(२९ जुन २०१६, फार्नवोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)