कथा : सेवा ही परमो धर्म!

~घनेन्द्र ओझा~

निकै ठूलो समाजसेवीका रूपमा परिचित छ ऊ। उमेरको आधा समय समाजसेवामै समर्पित गरेको छ उसले। घर, परिवार, सन्तानको चाहना भएन उसलाई अथवा त्यसको लोभ देखाएन। समाजको हित, मानिसहरूको सेवा, उसले जानेको यत्ति हो।

निकै समय बिताइसकेको छ उसले समाजसेवामा। त्यही भएर सबैले चिन्दछन् उसलाई। सम्मान गर्छन्- निस्वार्थ समाजसेवीका रूपमा।

त्यसो त निकै धेरै काम भएका छन् गाउँमा- उसको अग्रसरतामा। निकै राम्रा योजनाहरू ल्याउँछ उसले। प्रायः मान्छेहरू समर्थन गरिहाल्छन्, किनभने उसका योजनाहरू समाजका लागि आवश्यक हुन्छन्।
कहिले बाटो बनाउने, कहिले अस्पत्ताल, कहिले क्याम्पसको आवश्यकताबारे दत्तचित्त भएर लागिरहेको हुन्छ ऊ। देश नै पूरै भ्रष्टाचारको दलदलमा फसिरहेका बेला कम्तीमा एउटा भए पनि निस्वार्थी र इमानदार व्यक्ति पाएको छ, यस गाउँले। गाउँलेहरू गौरवान्वित छन् ऊदेखि।

त्यसो त निकै धेरै काम भएका छन् गाउँमा- उसको अग्रसरतामा। निकै राम्रा योजनाहरू ल्याउँछ उसले। प्रायः मान्छेहरू समर्थन गरिहाल्छन्, किनभने उसका योजनाहरू समाजका लागि आवश्यक हुन्छन्।

गाउँलेहरूलाई विश्वास छ, ऊ यस गाउँको देवदूत हो। देशका नेता, मन्त्रीले गर्न नसकेका कामहरू पनि उसले सजिलै गर्न सक्छ। भर्खरै ६ किलोमिटर कच्ची बाटोलाई कालोपत्रे गर्न दातासँग पैसा मिलाएको छ रे! अस्पत्ताल बनाउन र क्याम्पस खोल्न पनि पैसा जुटाएको छ रे! गाउँघरमा कसैलाई अप्ठेरो परेमा उसकहाँ पुग्नेबित्तिकै केही न केही राहत महसुस भइहाल्छ अनि कसरी नमानुन् उसका कुरा!

सामान्य छ जीवनशैली। रूखा र रिस उठ्दा कुरा गर्नु छैन उसले। कसैप्रति वैरभाव राखेको थाहा छैन।

‘विवाह गरेर घरजम गर्नुपर्छ अब’, गाउँले र साथीभाइको सल्लाह हाँसेर उडाइदिन्छ, ‘म परिवारमै त छु नि!, तपाईंहरू नै मेरो परिवार हो, यो गाउँ सबै मेरो घर हो।’

‘त्यो त भावनात्मक कुरा भयो’, गाउँलेहरू सम्झाउँछन्, ‘व्यावहारिक जीवन अझ रमाइलो हुन्छ।’

ऊ मान्दैन गाउँलेका तर्क। लाग्छ, उसले आफ्नो जीवन नै समाजसेवामा समर्पित गर्ने सोचेको छ।भन्छ, ‘सेवा ही परमो धर्म!’

एकदिन उसलाई सम्मान गरिन्छ- उत्कृष्ट समाजसेवीका रूपमा। निकै धेरै मानिसको उपस्थिति देखिन्छ। हरेक तह, तप्का र क्षेत्रका विशिष्ट व्यक्तित्वहरू देखिन्छन् कार्यक्रममा। उद्‍घोषक भन्दै हुन्छ,

‘देशमा दिनानुदिन भ्रष्टाचार बढिरहेको छ, देश बनाउँछु भन्नेहरू भ्रष्टाचारको आरोपमा जेल परिरहेका छन्। हामीमाझ यस्ता निस्वार्थी समाजसेवी पनि हुनुहुन्छ, जसले कहिल्यै व्यक्तिगत लाभको बारेमा सोच्नुभएन, जे जति गर्नुभयो सबै समाज र हाम्रा लागि गर्नुभयो’, ऊ भनिरहन्छ, ‘आफू अविवाहित रहनुभयो, सबैलाई परिवारका सदस्य ठान्नुभयो। यस्ता व्यक्तित्वका धनी श्री सेवकराम ज्यूलाई आज हामी सम्मान गर्दै छौँ।’

सेवकराम सम्मान ग्रहण गर्छ, मुसुक्क हाँस्छ र सहरमा रहेको पाँचतले घर अनि श्रीमती र दुई छोराछोरी सम्झन्छ र भन्छ, ‘सेवा ही परमो धर्म!’

000

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.