~विपुल सिजापती~
मेरो शिर सगरमाथा
मस्तिष्क बुद्ध
म शान्त अमिताभ
तिम्रा कुत्सित बुद्धिले अभिप्रेरित
फोहर नंग्राले
नकोपर मेरा शान्तिका सिमाना
लिन नखोज परीक्षा मेरो धैर्य र शान्तिको
विथोलिए
थुत्नेछु जटा पछार्नेछु आफ्नै छातीमा
निस्कनेछन् अनगिन्ती वीर बलभद्र
तेरो छाती कुल्चदै फलाग्नेछन् समुन्द्रसम्म
प्युँनेछन् समुद्र फर्कनेछन पुनः अस्तित्वमा
म शान्त अमिताभ
कोही पहरा बस मेरो पुराना खतका घेरोमा
सशस्त्र सुजज्जित
ता कि
कसैले कोट्याउने जमर्को नगरुन्
सिंहका छातीमा
यस्ता खतहरु अनगिन्ती हुन्छन्
गहना हुन् यी घाउहरु
वीरताको निसानी छत्रसम्राटको ध्योतक
खरानी मुनिको प्रचण्ड आगो हुन् यी खतहरु
बिथोलिए भर्भराएर लावा हुन् सक्छन्
ख्यालखेँलाचीमा नजिस्क आगोसँग
तिम्रा उरन्ठेउला रहरले उक्साएर
नचलाउन शुसुप्त भुंग्रालाई
बिथोलिए
फुक्छु एक सास
जीवन दिन्छु बलभद्र र अमर सिंहलाई
खुकुरी र खुँडाका धारमा रगतको लेप लगाउँदै
निस्कनेछन् झिल्को भएर
नाप्नेछन् तेरो छाती छाप्नेछन् पाउका नाप
जन्माउनेछन् रक्तवीज जित्नेछन् समर
फैलाउनेछन् सीमा र फर्कनेछन् पुनः अस्तित्वमा
म शान्त अमिताभ
रगत उही हो सौरभ त्यही हो
बुद्ध र लौह तत्वको जननी माटो एकै हो
बुद्ध पनि फलाम नै थिए जब्बर जण्ड
फलाम पनि बुद्ध नै हो शान्त श्वान्त सुखाय
समाहित छ दुवै म मा
त्यसैले बिथोल्नु अघि हेक्का राखेस्
म हुँ शान्त अमिताभ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)