कथा : ज्ञानी र बुनु

~सुशीलराज रेग्मी~

एक गाउँ थियो । गाउँको माझमा एक माध्यमिक तहसम्मको विद्यालय । जहाँ दुर दुरदेखि विद्यार्थीहरू पढ्नका लागि आउँथे । फरक जाति, फरक भाषा अनि फरक–फरक पारिवारिक पृष्ठभूमि बोकेका नानी बाबुहरू । विद्यालय आफैँमा एक फुलबारी जस्तै थियो । उसैमाथि सो विद्यालयका प्रअ जनक शर्मा, राजा जनक जस्तै मायालु थिए। आफू भन्दा सानालाई माया गर्नु र ठुलालाई आदर गर्नु भन्ने उनको मुल मन्त्र नै थियो । मायालु र मेहनती भएकाले सबै विद्यार्थी उनको उत्तीकै आदर गर्थे । विद्यालयको पठन पाठन र प्रशासन दुबै त्यस क्षेत्रमा विख्यात थियो । विद्यालयमा करिब ८०० को हाराहारीमा विद्यार्थी पढ्थे । सबै विद्यार्थीहरूमा पनि कोही शिक्षकको निकै नजिक र प्रिय थिए । त्यस्तै मध्येमा सबै शिक्षकहरूको प्रिय एक बालक थियो जसको लगनशील र शालीन स्वभावका कारण शिक्षकहरूले उसको नाउँ नै ‘ज्ञानी’ राखिदिए । उसलाई उसको हाजिरी बोलाउने नाउँले भन्दा पनि ‘ज्ञानी’ को नाउँले सबैले चिन्थे ।

ज्ञानीका बाबा–आमा किसान थिए । गरीब परिवारको छोरो, पढाईमा तेज भएपनि उलाई कापी, कलम र पोशाकको सधैँ अभाव नै हुन्थ्यो । पढाईमा लगनशील भएकाले उसका बाबु आमाले हलो, कुटो गरेर भएपनि विद्यालय सधैँ पठाउँथे । पुरानै भएपनि धोइधाई गरेर इस्त्री गरी ‘ज्ञानी’ की आमा सधैँ पोशाक मै छोरोलाई विद्यालय पठाउथिन् । आगोको कोईलाबाट तात्ने इस्त्रीको प्रमाण फिलिङ्गो उडेर बाहुलाको छेउमा परेको सानो प्वाल छ । तर प्वाल तल पट्टी परेकाले झट्ट देखिदैनथ्यो । यसरी अभाब र कस्ट मै पनि ‘ज्ञानी’ पढाईमा सफल हुँदै गयो । अन्ततः विद्यालयको शीर उचो पार्दै उ प्रथम श्रेणीमा जिल्ला प्रथम भई एसएलसी उत्तीर्ण भयो ।

बिडम्बना, गरीबलाई सफलताले पनि समस्या नै दिन्छ । ज्ञानीलाई उच्च शिक्षा पढाउने उसका बाबु आमाको सामर्थ्य थिएन । यस्तैमा विद्यालयका प्रअ उसको लागि अवसर बोकेर घरमा आए । नजिकैको उच्च माविमा पढ्न छात्रवृत्ति र ट्युसनका लागि एक समूह विद्यार्थीको ब्यवस्था गरिदिए । जनक सरको यो गुनले ज्ञानी आजीवन ऋणी भयो । पकेट मनीका लागि ट्युसन अनि छात्रवृत्तिमा पढाई । उसको जिन्दगीले फेरी डोरेटो समायो । तर बदलामा उसले जनक सरका छोरा छोरी पनि पढाईदिनु पर्ने भयो । उ मन्जुर भयो । एसएलसी पास भए लगत्तै ज्ञानी, विद्यार्थी र शिक्षक दुबै बन्यो ।
जनक सरको कृपाले ज्ञानी सफल हुँदै थियो । दिनानुदिन उसको चर्चा फैलन थाल्यो । कक्षा १२ मा पुग्दासम्म उसले आफ्नै सहपाठी मित्रहरूलाई पनि पढाउन थाल्यो । उ एकै कक्षा भित्र पनि कसैको शिक्षक त कसैको विद्यार्थी भयो ।

समय बित्दै गयो र ज्ञानीको ज्ञान पनि । यता जनक सरका छोराछोरी पनि ज्ञानीको प्रभावमा झन् झन् सफल हुदैछन् । पहिलो वर्ष छोरी र दोस्रो वर्ष छोरो गरी जनक सरका दुई सन्तानले प्रथम श्रेणीमा एसएलसी पास गरे । समयको माग बुझ्न सक्ने जनक सरले छोरालाई भारतको बैङ्गलोर र ठुली छोरीलाई राजधानी काठमाण्डौँ पठाए । ज्ञानी भने अझै स्नातकोत्तरको लागि काठमाण्डौँ जाने आँट गर्न सकेको छैन । राजधानी जस्तो ठाउँ केही पैसाको जोहो नगरी कसरी हिड्नु ।

ग्य्राजुयसनपछि ज्ञानीले निजी विद्यालयहरूमा पढाउन थाल्यो । केही घर खर्च त, केही बचत । ऊ राजधानी बसेर राम्रो अङ्क ल्याएर डिग्री सक्ने योजनामा छ । उसो त, जनक सरको छोरो सिएका लागि भर्ना हुने वर्ष नै ऊ काठमाडौँ हिड्न आँटेको थियो तर घर परिवार र जनक सरको सल्लाहमा उसले दुई वर्ष आर्थिक संकलनमा लाग्ने निधो गर्यो ।

ज्ञानी बिहान सबेरै पढाउन निस्कन्थ्यो र अबेर घर फर्कन्थ्यो । मानिसहरू आफ्ना सन्तानलाई ज्ञानी जस्तै सुशील र मेहनती होस् भन्ने चाहन्थे । अब यता जनक सरको घरमा भने कान्छी छोरीमात्र छे । जनक सरकी कान्छी छोरी सानैदेखि पढाईमा तिक्ष्ण र रूपकी पनि सुन्दरी घर परिवारको गौरव। छोरी भए तापनि मायाले जनक सर कान्छो छोरो भनी बोलाउँथे । जनक सर बेला बेला भनी रहन्थे बुनुलाई डक्टर बनाउनु पर्छ । बुनुको एसएलसी विशिष्ट श्रेणीमा हुनुपर्ने जिम्मा ज्ञानीको काँधमा छ । उ चार बजे विद्यालय छुट्टी हुना साथ सिधै जनक सरको घरमा पुगिहाल्छ । बुनु र उसको खाजा नास्तासँगै हुन्छ । जनक सरका बुढाबुढी दुबै शिक्षक भएकाले कहिले काँही उ पढाएर हिडिसक्दासम्मै पनि घरमा आईपुग्दैनन् । यसैगरी रातदिनको मेहनतले बुनुको हरेक नतिजा अब्बल आउँछ । अब मुखमुख बुनुको पनि एसएलसी आईपुग्छ ।

ज्ञानीलाई आर्थिक खाँचो पर्नासाथ जनकसर अघि सरिहाल्छन् । उसले पनि बुनुको उत्कृष्ट नतिजाको लागि दिनरात एक गरेको छ । बुनु कक्षा दश पास नहुँदासम्मै उ आफ्नो भन्दा जनक सर कै घरमा बढी भेटिन्थ्यो । बुनु र ज्ञानी  शिक्षक विद्यार्थी भन्दा एकै परिवारका सदस्य झैँ थिए । र पनि पढाईका सवालमा कुनै सम्झौता भएन । ज्ञानी अघिमात्र हुनु पर्छ उसले जुनसुकै प्रश्नको सजिलै हल गरिदिन्थी।  अब उ पढाउन होईन उसका अघिमात्र बसिदिए पुग्छ । अनुहारका हाउभाउ देखेरै बुनु ज्ञानीको मनका कुरा अड्कल गर्ने भइसकेकी छ । बिस्तारै बुनु ज्ञानीलाई मन पराउन थाल्छे । बुनुका हाउभाउ र आत्मियताले प्रेमको अनुभूति गराए पनि ज्ञानीले प्रेम प्रकट गर्न सक्दैन उसका आफ्नै जिम्मेवारी र मर्यादा छन् उसैमाथि कहाँ ज्ञानी कहाँ बुनु । ज्ञानीले मनको प्रेमलाई सधैँ दबाएरै राख्यो ।

केही समयपछि नै बुनुको एसएलसी परीक्षा सुरू भयो । बुनुले हरेक प्रश्नका उत्कृष्ट जवाफ लेखेर आए पनि ज्ञानीका मनमा सधैँ डर रहन्थ्यो किन की जनक सरले बुनुको विशष्टि श्रेणीको जिम्मा ज्ञानीलाई सुम्पेका थिए । ज्ञानी आफ्नो परीक्षामा पनि ति गम्भीर हुँदैनथ्यो जति बुनुका परीक्षामा देखिन्छ्यो ।

परीक्षाको दोश्रो दिन साँझ ज्ञानी बुनुलाई सम्झाउँदै भन्छ, बुनु दुई गणित ९अनिवार्य र अतिरिक्त०  र विज्ञान विषयमा एउटा प्रश्न पनि बिगार्नु हुँदैन ल, यसैबाट परसेन्ट तान्नुपर्छ नी । ज्ञानीले आफ्नो बारेमा यति धेरै चिन्ता लिएको देखेर बुनु गम्भीर हुँदै ज्ञानीका शीरमा हात राखेर भनिदिन्छे, ‘हजुरको इज्जतको लागि भए पनि यो बुनुले विशिष्ट श्रेणीमा एसएलसी पास गर्नेछ, यो बुनुको वचन भयो ।’ बुनुको प्रतिज्ञाले ज्ञानी खुसी र गम्भीर दुबै भयो । प्रतिक्रिया स्वरूप ज्ञानी बुनुका आँखामा हेरेर मुस्कुराउँछ, बदलामा बुनु पनि मनैदेखि मुस्कुराईदिन्छे । उसका आँखामा हेरेरै बुनु मनमनै ज्ञानीले आफूलाई असाध्यै मन पराउन थालेको कुरो अड्कल बाजी गर्छे । केही दिन मै परीक्षा सकीयो अब नतीजाको पर्खाई । पढाउनु पर्ने नभए तापनि पनि ज्ञानी अनेक बहानामा दिनको एक पटक जनक सरको घर पुगेकै हुन्थ्यो । कथमकदाचित पुगेन भने त्यसदिन केही बहानामा टहलिँदै बुनु नै ज्ञानीका घर आसपास पुगिहाल्थी । यसरी ज्ञानी र बुनुबीच अब्यक्त प्रेम चलिरह्यो ।

यसैगरी दिनहरू बितिरहे । एकदिन अपरान्ह दुई बजे तीर एसएलसी परीक्षाको नतिजा निस्केको हल्ला चल्यो । ज्ञानीको मन जोड–जोडले धड्कन थाल्छ । सत्य हो या झुटो उसले बुझ्ने चासो पनि राखेन बरू एकोहोरियो बुनुको नतिजाको पीरमा । त्यसदिन उसले पढाउनु पर्ने दुई ग्रुप टीमलाई नपढाई अलिक सन्चो छैन भनी बिदा गरिदियो । केही बेरमा जनक सरको फोन आयो । उसले निकै गह्रुङ्गो मनले ‘हेलो’ भन्यो ।
‘धन्यवाद छिट्टै घरमा आउ ।’ जनक सरले यतिमात्र भनेर फोन राखिदिए । तर ज्ञानीका मनमा अझै डर छ । धन्यवाद केका लागि ! के बुनु साँचिकै विशिष्ट श्रेणीमा पास भएकै हो त ? या फेरी पास भएकोमामात्र । ज्ञानी, मनमा अनेक तर्कना खेलाउँदै बाटो लाग्छ । करिब आधाबाटो पुगेपछि, परीक्षाको दोस्रो दिन बुनुले आफ्ना शीरमा हात राखेर गरेको बाचा सम्झन्छ । ज्ञानी मुसुक्क हाँस्छ अनि केही आशावादी हुँदै जनक सरका घर तिर लम्कन्छ ।

गेट घन्द्रङ्ग गर्न नपाउँदै बुनु दगुरेर उसका सामु पुग्छे । ल मलाई बधाई दिनुस् । बुनु मस्किदै ज्ञानीसँग हात मिलाउन अघि सार्छे । दुबै हातले उसको दाहिने हात समाउँदै ज्ञानीले पास भएकोमा भन्दा पनि आफ्नो वाचा निभाएकोमा थ्याङ्क्यु भनेर बुनुका काननेरै सुटुक्क भनिदिन्छ । ओरपरको होहल्लाले मुल ढोकामा भएका बाबुआमाले उनीहरूबीचको थ्याङ्क्यु वेलकमको तात्पर्य बुझ्दैनन् । घर भित्र नपुग्दै बुनुले उसका मुखमा लड्डुको बुजो हालिदिन्छे । महिनौदेखिको डर र संकोच हटेर जान्छ । ज्ञानी मनैदेखि प्रशन्न भएको देखेर, बुनु एकोहोरो उसैको मुहार हेरेर मुस्कुराई दिन्छे । त्यसदिन ज्ञानीको राम्रै मेजमानी हुन्छ । खानापछि पनि अबेरसम्मै जनक सरकै घरमा बसेर ज्ञानी अबेर तिरमात्र आफ्नो घर लाग्छ ।

टाढा हुनुपर्ने डरले मानिसलाई अझ नजिक बनाउँछ । एसएलसीपछि बुनुको काठमाण्डौँ जाने तयारी हुन थाल्यो । अब आफू टाढा हुने डरले ज्ञानीको मन उथुलपुथुल हुन्छ । सायद बुनुको मनमा पनि उसै भएको हुनुपर्छ । एकदिन घरपरिवारको अनुमति मै बुनुले ज्ञानीसँगै मन्दिर जाने इच्छा ब्यक्त गर्छे । उसको परिवारले अनुमति नदिनु पर्ने केही थिएन उता ज्ञानीलाई पनि के खोज्छस् कानो ? आँखो, भनेझैं भो । शनिबारका दिन बिहानै नुहाई वरी मन्दीर जाने सहमती शुक्रबार साँझ नै भयो । सहमति अनुसार भोलिपल्ट दुबै मन्दिरका लागि निस्के ।

हातमा पूजाको सामान अनि खुल्लै छोडेको चिसो केश । बुनुलाई त्यति सुन्दर ज्ञानीले त्यसदिनसम्म देखेकै थिएन । उ बुनु कै सौन्दर्यमा एकाग्र हुन्छ । उता बुनु भने लजाएझैं गरी नजर जुधाउँदै झुकाउँदै गर्छे । मन्दिरको लामो लाम कुरेरै पनि बुनुले रित पुर्याएरै पूजा गरी । ज्ञानी भने उसका पछि–पछि मानौ करकापमा औपचारिकता निभाउँदै थियो । बुनुले हात जोरेर निकैबेर माता बागेश्वरीसँग प्रार्थना गरिरही । बुनुका प्रार्थना सकिँदासम्म ज्ञानीले तीन पटकसम्म आँखा उघारेर पुलुक्क पुलुक्क बुनुको मुहार  हेरिसकेको थियो । साँचीकै धर्म–कर्म र धैर्य पुरूषमा भन्दा महिलामा नै बढी हुन्छ सायद । पूजा सकेपछि बुनुले ज्ञानीका निधारमा टीका र शीरमा फूल राख्दै मनमनै केही भनी । ज्ञानी गम्भीर र भद्र देखिन्थ्यो मानौ उसले बुनुको मनको कुरो बुझेको छ ।

हातमा प्रसाद स्वरूप लड्डु परेपछि ज्ञानी मुसुक्क हास्छ । बदलामा बुनु पनि मुस्कुराउँछे । लामो दौडपछिको सफलतामा झैं ज्ञानीले लामो सास फेर्यो । उसले लामो सास फेरेको देखेर बुनुले जवाफ दिन्छे ‘किन बुनुको प्रतिज्ञामाथि विश्वास थिएन ? अब बुनु बालखा रहिरहिन ज्ञानीजी, बुनु वाचा निभाउन सक्ने भइसकेकी छे । जीवनमा पहिलो पटक बुनु यति फ्र्याङ्क भएको देखेर ज्ञानी एकोहोरो बुनुका आँखामा हेर्छ । ज्ञानीको एकटक हेराईले लजाएर बुनुका नजर झुक्छन् । केही क्षण दुबै मौन भएरै मन्दिर परिसरबाट केही पर खुला चौर तीर अघि बढ्छन् । ज्ञानीका मनमा बुनु प्रतिको प्रेम उर्लिएर आउँछ, बुनुका हातमा रहेको पूजाका सामान आफ्नो देब्रे हातमा सार्दै उ बुनुका हात समाउन पुग्छ । बुनुका मुहारमा स्नेह र आश्चर्य दुबै एकैसाथ देखापर्छ । ज्ञानीको स्पर्शले बुनु पनि मन मनै धन्य हुन्छे ।

केही पर अशोक र ताडीका छायाँमा दुबै घन्टौं गफिन्छन् । पूजाको आधा प्रसाद ज्ञानीले बिचबिचमा खाएरै सकिसक्यो । हरेक पटकको मिठाईको बुजोसँगै बुनु मुस्कुराईमात्र रहन्छे, यता ज्ञानी भने झन बालखा झैँ गर्दैथियो । निकै बेरको गफगाफपछि बुनु उच्च शिक्षाका लागि काठमाण्डौँ जाने निधो सुनाउँछे । ज्ञानी गम्भीर हुन्छ । समाधान स्वरूप बुनुले ज्ञानीलाई पनिसँगै जान राजी गर्छे । अब बुनु र ज्ञानी राजधानीमा आफ्नो भविश्य खोज्न जाने पक्का भयो । बुनुकी दिदी पहिलेदेखि नै राजधानी भएकाले उसलाई कुनै समस्या थिएन तर ज्ञानीको कोही थिएन न त बुनु जति सम्पन्नशाली नै । तैपनि बुनुको जिद्धीका अगाडि उसले नाई भन्न सकेन । केही बेरको मौनतापछि बुनुले सोध्छे, सुन्नुन ! यदी हामी एक अर्काबाट टाढा हुनुपर्यो भने वा एक देश अर्को परदेश हुनु पर्यो भने ! बुनुको यी दुई कुरापछि नै ज्ञानीले उसको ओठहरूमा आफ्नो हत्केलाले थुनिदियो । बुनु मनमनै खुसी भई अब ज्ञानी पनि बुनु बिना बाँच्न नसक्ने भइसकेको छ । अनेक बहाना गरेर त्यसदिन बुनु र ज्ञानी अबेरसम्मै मन्दिरका कुना कुना चाहारी चाहारी बसे । अन्ततः माँ बागेश्वरीलाई साँची राखी कहिल्यै नछुट्ने कसम पनि खाए ।

दिनहरू बित्दै गए । बुनु राजधानी जाने दिन पनि नजिकिँदै थियो । ज्ञानी पनि आफ्नो पैसाको जोरजाममा व्यस्त थियो । करिब दुई वर्षदेखिको उसको मेहनत पसिना पनि त यसैका लागि थियो । अब छिट्टै ज्ञानीकी आमाको सपना साकार हुने भो । ज्ञानी अबको दुई वर्षमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरी आफ्नो घर र टोल  कै पहिलो डीग्री होल्डर हुनेछ । ज्ञानीका बाबु–आमा पनि छोरोको सफलताले गदगद थिए ।

‘हुने हार दैव नटार’, गरीबको छोरो आफ्ना सपनाको खोजीमा अघि बढोस्, सफल होस् ! सायद विधातालाई यो मन्जुर थिएन । उता बुनुको भोलि काठमाण्डौँ जाने निधो थियो । यता एक्कासी ज्ञानीकी आमा पेट दुखेर फत्र्याकफत्र्याक परिन् । कसोकसो आधारातमा एम्बुलेन्सको साहारामा आमालाई अस्पताल पुर्याउन ज्ञानी सफल हुन्छ । आफ्ना दुःखमा कतिलाई घसेट्नु । उसले गाउँमा पल्लो घर बाहेक अरू कसैलाई भनेन । पल्लो घरकी अन्टी र ज्ञानी बिरामी लिएर गए, थप पैसाको खाँचो परे भोलि खबरपछि लिई आउनु भनी उसले बाबुलाई समेत घरै बस्न भन्यो ।

घरछोड्ने रात, उता बुनु छट्पटीमा अनिधो छे यता ज्ञानी अस्पतालको आकस्मिक कक्षमा।  उसका आँखा एकतमास पिडामा छट्पटाएकी आफ्नी आमाको अनुहार नियाल्दैमा अनिधो छन् । घरी बुनुको हँसिलो अनुहार त घरी आमाको निस्लोट मुहार, उसले जीवनको अर्थ बुझ्नै सकेको छैन । प्रेम घनिभूत हुन नपाउँदै पिडामा क्षतविक्षत हुनु पर्यो । फेरी मन दह्रो पार्दै सोच्छ, सामान्य होला कहिले काँही अचम्मैसँग पेट दुख्छ । कक्षा सातमा पढ्दा उसको पनि यसैगरी दुखेको र भोलिपल्ट सन्चो भएको सम्झन्छ । मनमनै भगवानसँग बिन्ती गर्दै भन्छ ‘मेरी आमालाई छिट्टो सन्चो होस् ।’ किनकी उ पनि राजधानी जानु पर्नेछ उसकी आमाको सपना साकार पार्न र आफ्नो लक्ष्य भेट्न । मेडिकल रिपोर्टको पर्खाईमा उसका रात उसै अस्पतालका बेन्चमै बित्छन् ।

‘दुखस्य अन्त्यम् सुख’ त केबल मान्यता न हो । यथार्थमा त दुःखपछि फेरी दुःखै आईपर्न पनि सक्छ । साँची तेस्तै भयो । बिहान नौ बजे डाक्टरको घुमुवा जाँचसँगै आएको रिपोर्टले ज्ञानीको पैताला मुनीको जमीन भासियो । डाक्टरहरूले यथासक्य छिटो बिरामीलाई भारतको लखनऊ वा काठमाडौँ लैजान सल्लाह दिए । जाँदा जाँदै डक्टरले भन्यो सकभर लखनऊ लैजानुहोस् त्यहाँ नयाँ उपकरण आएको छ । अस्पतालका केही कर्मचारीको सहयोग र सल्लाहमा उसले बेलुकी भारतका लागि हिड्ने तारतम्य मिलायो । अब काठमाडौँ जाने भनि देखेको सपना सबै चकनाचुर भयो । दुई डोज सुई र औषधीले आमाको छटपटी कमी त आएको छ तैपनि निर्मुल भने सायद लखनऊ नपुगी हुँदैन या हुँदै हुँदैन त्यो भविश्य कै गर्भमा छ।

दिउँसो को २ बज्न आँटिसक्यो, ज्ञानीको एक दर्शन पनि नपाएपछि  बुनु ब्याकुल हुन्छे । केही निजी कामको बहाना पारेर बुनु उसका घरसम्मै पुग्छे । बिमारी आमा कुरेर ज्ञानी अस्पताल छ भन्ने सुन्ना साथ उसका आँखा रसाएर आउँछन् । गहभरी आँशु बोकेर बुनु घर फिर्छे । आज बेलुकाको बसको टिकट उसका लागि हिजै बुक भइसकेको छ, बुनुलाई काठमाडौँ भन्दा पनि दगुरेर अस्पताल पुग्न मन छ तर अरूका सामु आफ्नो प्यार लुकाई राख्नु पर्ने बाध्यता पनि । आज पहिलो पटक घरदेखि टाढा जाँदैछ सायद बुनु सोही पिरमा छ । बुनुको उदासीनतालाई घरकाले त्यसरी बुझे । बुनु भने ज्ञानीलाई नभेटी काठमाडौँ नजाने संकल्प मन मनै गर्छे ।

टीका, टाला र दीयो कलश, बुनुको साईत भब्य सजिएको छ । यता ज्ञानी भने काठमाडौँ गई पढौला भनी जोगाई राखेको रूपिया बोकेर आएका बाबुलाई भारूको जोहमा बजार पठाउँछ । ज्ञानीका बा भारू बोकेर नआउँदै बुनु हस्याङ फस्याङ गर्दै अस्पताल परिसरमा आईपुग्छे । असिना पसिना भएकी बुनुलाई देखेर ज्ञानी आफ्ना टिल्पील गरेका परेली पुछेर झुटो हाँस्ने प्रयास गर्छ । बुनु उसका छातीमा टाँसिएर रून्छे । हाड, छालाको शरीर हो सन्चो, बिसन्चो भै हाल्छ आत्तिनु पर्ने केही छैन । ज्ञानीले यसरी सम्झाएपछि बुनुले शीर ठाडो गर्छे, उसका परेलीबाट एक ढिक्का आँशु गुड्दै गालासम्मै आईनपुग्दै ज्ञानी आफ्ना हातले ती आँशु पुछिदिन्छ, बुनु मुस्कुराएझैँ गर्छे । ज्ञानी पनि फिक्का हाँसिदिन्छ ।

बिरामी कुरूवा वार्डको केही परपट्टीको बेन्चमा बसेर, बुनु र ज्ञानी केहीबेर गफ गर्छन् । डक्टरले भनेका कुरा उसले सबै बुनुलाई भन्दै बेलुका भारत जाने योजना सुनाउँछ । अनि बुनु पनि आफूँ काठमाडौँका लागि हिडेको र ड्राईभरसँग अस्पतालमा आफन्त सिकिस्त बिमारी भएकाले तीस मिनेट बसपार्क मै कुरिदीन अनुरोध गरेर आएको बताउँछे । मायाले मानिसबाट हरेक काम गराउँछ, ज्ञानीले बालखै देखेकी बुनु बस रोकाएर उसलाई भेट्न आएकी छ । बुनुलाई अङ्गालेर उसका निधार चुम्न मन भएपनि अस्पतालमा ओहोर दोहोर गर्ने मानिसले ज्ञानीलाई असजिलो पर्छ । उ मनमनै बुनुलाई कैयौ चुम्बन गर्छ । केही बेरको आत्मियतापछि, बुनु भित्ताको घडीमा हेर्छे, उसले मागेको ३० मिनेट मध्येको २० सकिनै आँटेको छ । त्यहाँबाट बसपार्क करिब ५(७ मिनेटको बाटो अब हिड्नु पर्छ, बुनु बसेको सीटबाट उठ्छे । बुनुलाई छोड्न ऊ बाटोसम्म निस्कन्छ । बाटोको पल्लो छेउबाट रिक्सा घुमेर बुनुछेउ आउनु अगावै बुनुले हातमा पैसाको मुठो पारेर ज्ञानीका हातमा राखिदिन्छे । ज्ञानी अचम्म मान्दै नाई नाई पर्दैन भन्दै लिनमान्दैन । बुनु उसका आँखामा हेरेर फेरी भन्छे । यो मेरो निजी पैसा हो, बाबाले दिएको ५००० छँदैछ । अनि ममीले पनि रू दुई हजार आफ्नो तर्फबाट दिनु भएको छ । बुनुले अरू सात हजार रूपैयाँ पर्समा देखाउँछे । ज्ञानी आँखा उठाएर हेर्छ । बुनु पैसाको डल्लो फेरी ज्ञानीका हात तीर सार्छे ऊ अझै लिनमान्दैन । यो मेरा लागि कपडा किन्ने पैसा हो र कपडा मसँग प्रसस्त छन् भोलि धेरै पैसा कमाउने भएपछि मेरालागि रोजेको कपडा किनिदिने सर्त भो ल भन्दै बुनुले ज्ञानीको कमेजको गोजीमा रू ५००० राखिदिन्छे । बुनुका सर्त सुनेर ज्ञानी मुसुक्क हास्छ। रिक्सावाल सामुन्ने आएर रोकीनासाथ बुनु  छिट्टो बसपार्क… भन्दै चढ्छे, ज्ञानी गम्भीर भएर हेरेको हेरेईमात्र गर्छ । केही मिटर अगाडि पुगेपछि बुनु फर्केर हातको ईशारामा बेला बेला फोन गरिराख्नु भन्छे, केही पर पुगेकी बुनुलाई हातको ईशारामा उसले शुभयात्रा भन्छ । बेगले कुदेको रिक्सामा पछाडि फर्कदै बुनु हात हल्लाई रहन्छे र ज्ञानी पनि बजारको भीडमा बुनुको रिक्सावाल ओझेल नपर्दासम्म उतै आँखा टक लगाउँछ ।

उसको एकाग्रता उसको बाबुको बोलाईबाट तोडिन्छ । ज्ञानी झसङ्ग हुन्छ । ईमर्जेन्सी अगाडि एम्बुलेन्स कुरिरहेको थियो उ झल्यास्स भयो अहो ! आमा… । म त बिरामी लिएर भारत पो हिड्नु पर्ने । यसरी दुई प्रेम गर्नेहरू दुई अलग अलग उद्देश्य बोकेर दुई अलग दिशामा सोझिन्छन् । एउटै रात ज्ञानी बिरामी आमा लिएर भारत लाग्छ भने बुनु डाक्टर बन्ने सपना बोकेर काठमाडौँ ।

नयाँ ठाँउ नयाँ रहनसहन बुनुलाई काठमाडौँसँग घुलमिल हुन निक्कै समय लाग्छ । देशै भरीबाट छानिएर भर्ना भएका विद्यार्थी, महङ्गो निजी कलेज, ब्यस्त दैनिकी, रूम, कलेज र पठन पाठन, बुनुले ब्यस्त दैनिकी भित्र पनि स्मृतीमा पुराना यादहरू जोगाएर राखेकी छ । कक्षाकोठामा हरेक शिक्षक उसका नजरमा ज्ञानी बनी दिन्छन् । ऊ ज्ञानीबाट धेरै पर गए पनि स्मृतीमा ज्ञानी कै आसपास हुन्छे, उसैसँग गफिन्छे र उसैसँग जिस्कीन्छे । तर जीन्दगी कल्पनाले चल्दैन उसको मन पनि कल्पनामा मात्र सन्तोस हुन सकेन । हरेक पटक घर फोन गर्दा उसले ज्ञानुको आमा र घर गाउँको हाल खबर बुझिरहन्छे । उता ज्ञानी भने पर्चा अनुसारको दबाई किन्दैमा हैरान छ । केही दिनको दबाई र ईन्जेक्सनपछि डाक्टरले अप्रेशन गर्नु पर्ने निश्कर्ष निकाले । बेलैमा अप्रेसन नगरे सानो आन्द्रामा ईन्फेकसन हुने र पछि क्यान्सर हुनसक्ने कुरा ज्ञानीले वार्डमा खटिएका नर्समार्फत बुझेको छ । दुई वर्षसम्म दिनरात एक गरेको पैसा दबाई मुलो मै सकियो । एक महिनाको अस्पताल बसाईमा बुनुले दिएको पाँच हजार पनि खर्च गर्न ज्ञानी बाध्य भयो ।

आमा र सम्पती कहिल्यै तुलना नहुने कुरो । जुनसुकै हालतमा पनि आमालाई निको पारिछाड्ने संकल्प बोकेर उसले डाक्टरसँग अप्रेशनमा लाग्ने खर्च सोध्यो । डाक्टरले करिब डेढ लाख भारतीय रूपयाँ लाग्ने बताए । डेढ लाख भारू यानि करिब साढे दुई लाख नेपाली । ज्ञानीका परिवारका लागि निकै ठुलो रकम । तर आमाको जीवनका अगाडि सन्तानलाई पैसा ठुलो हुने कुरा भएन । उसैमाथि ज्ञानी, आमाको लाडप्यारमा हुर्केको केटो । उसले खेतबारी अडानमा राखेर बाबुलाई पैसाको बन्दोबस्त गर्न भन्यो । केही आनाकानी गरेपनि बाबुले खेतबारी अडानमा राखी पैसाको जोहो गरेर अस्पताल पठाई दिए ।

अप्रेसनको केही घन्टापछि आमाको होस आयो । अप्रेसनपछि आमाको होस नखुल्दासम्म उसले आमा र भगवान बाहेक अरू सबैलाई बिर्सेको थियो । भगवानका मर्जिले ज्ञानु आमाको सफल उपचारपछि घर ल्याउन सफल भयो । अप्रेसन कक्षको बाहिर कुरिरहँदा सेलाएका उसका भावना, उसका अचेतन महत्वाकांक्षाहरू एकाएक हुत्तिएर आउन थाले । ऊ जति जति घर नजिक आउँदै थियो उतिउति उसका चकानाचुर योजना र महत्वकांक्षा आँखामा झलझली घुम्न थाले। समयले उसलाई एकाध महिनाको अन्तरालमा नै भुई को धुलोसँग मिसाई दियो । जुन छुने सपना बोकेको एक युवा असरल्ल भुईमा परेको छ । दुई वर्षसम्मको मेहनत, काठमाडौँ गएर डिग्री पढ्ने, समाजमा सफल हुने र एकदिन बुनुलाई बिहे गरेर खुसी खुसी जीउने उसको योजनामा तुसारोपात भइसकेको छ ।

अब साहुको ब्याज र कचकचले ज्ञानीको हालत झन् झन् नाजुक हुँदै थियो । जेनतेन गरी कमाएको पैसाले ब्याज धान्नै पनि गाह्रो पर्न थाल्यो । बिस्तारै पैसाले उसको जीवनमा माईने राख्न थाल्यो । मुखले सान्त्वना दिनु र परिआउँदा सहयोग गर्नु बिलकुल भिन्न कुरा रहेछन् भन्ने बुझ्दै थियो । यो सबैभन्दा पनि उसको बुनुसँग बढेको भौतिक दुरी र पातलो फोन सम्पर्कले उसलाई ब्याकुल बनायो ।

समयले सबथोक बदलिदिन्छ अनि हामी मानिसलाई पनि । सायद अब बुनु पनि उही परानै बुनु रहिरहिन । मिनपचासको छुट्टी पारेर घर आएकी बुनुसँग ज्ञानीले एकान्तमा भेट्ने कैयौ प्रयास गर्यो । निधाएको भए बिउँझाउन सकिन्थ्यो तर निधाएको अभिनय गर्नेलाई सकिदैन भनेझै बुनुका बहाना र ब्यस्तताका अघि उसको केही जोर चलेन । यसै छटपटीमा ज्ञानुले बुनुका फोनमा म्यासेज गर्यो । उसले म्यासेजमा आफ्नो माया साँचो भएको जिकीर पनि गरेको थियो । अन्ततः जेको डर थियो त्यही भयो । करिब दुई वर्षदेखि जनतले राखेको माया, सबैसँगबाट जोगाएको प्रेम अब छताछुल्ल भयो । ज्ञानीले पठाएको म्यासेज बुनुकी आमाको हात लाग्यो ।

‘सर्पलाई दुध खुवाएर पाल्यो भने आफैँलाई डस्छ भन्थे हो रैछ’ बुनुका बाबु आमाले ज्ञानीको प्रेमलाई यसरी परिभाषित गरिदिए । बुनुले आफ्नो आफ्नो तर्फबाट ज्ञानीको बचाउमा कुनै प्रतिक्रिया जनाईन । बुनुका परिवारले उसलाई बुनुको जीवनबाट टाढा बसिदिन बिन्ती गरे । प्रेम गरेकै भरमा ज्ञानी एक अपराधी जस्तै ठहरियो । धमिलो मन लिएर ज्ञानी घर तर्फ लाग्यो ।

ऋण को भारी र बियोगको पिडाले विक्षिप्त ज्ञानी देश छाड्ने दृढ़ संकल्पमा पुग्यो । पैसा वा पढाई दुई विकल्पमा उसले पैसालाई रोज्यो । नरोजोस् पनि किन, एक बिमारले उसलाई पैसाको महत्व जो झल्काएर गएको छ । फेरी उसकी आमा बिमार परे कसो गरी उपचार गरौला ? उसका मनमा यीनै तर्कनाहरू चलिरहे । भए भरको सम्पती अडानमा राखेको ज्ञानीलाई पैसाले स्याप स्याप पार्यो । केही दुरदुरसम्म का आफन्त गुहारेर उसले बैदेशिक रोजगारीका लागि उपयुक्त भिसा मिलाईदिन भन्यो । जसको कोही हुँदैन उसको भगवान हुन्छ भने झैँ, तिहारको लगत्तै काठमाडौँबाट उसका लागि दुबईको तारे होटलमा कामका लागि भिसा लागेको खबर आयो, उ मन मनै खुसी भयो । भिसाको खबर सबैभन्दा पहिले उसले आफ्नी आमालाई सुनायो । आमा पनि एकछिन त आकर्षक तलब सुनेर खुसी हुन्छिन् तर छोरो टाढा जाँदैछ भन्ने कुराले फेरी गम्भीर हुन्छिन् । जेनतेन ज्ञानी आमालाई सम्झाई बुझाई गर्न सफल हुन्छ । बेलुकीको खानापछि बाबुआमालाई अराई सिकाई गरी घर ब्यवहारको मेसो मिलाएर उ केही वर्षका लागि अन्तिम निन्द्रा सुत्न आफ्नो बिच्छ्यौना तर्फ लाग्छ । तर घर छोड्ने रात, अनि आलो बिछोड र तिरस्कार । कैयौं कोल्टो फेर्दा पनि ज्ञानीलाई निन्द्रा पर्दैन । तथापि उ सुत्ने प्रयास गर्छ ।

संयोग भनु या साईत यता ज्ञानी हातमा झोला बोकेर रातो टीको र फुलमालामा गरुङ्गो मन सहित मुग्लानको यात्राको तयारीमा छ भने केही पर बुनु उसै गरी टीको टालोमा सजियर एमबीबीएसको तयारीमा जान तम्तयार छ । वाह समय, जो मन भरी थियो उही नजरबाट पनि टाढा हुँदैछ । जसको मन्दिर एक थियो उसैको ईश्वर अलग हुँदैछ । जो सहयात्री हुनु पर्थ्यो उही बिरानो हुँदैछ, जो आफ्नो हुनु पर्थ्यो उही पराय हुँदैछ । बसको ब्रेकको आवाजले ज्ञानी तन्द्राबाट बिउँझन्छ । भित्र भारी मन बाहिर हँसिलो अनुहार पारेर ज्ञानी बाबुआमासँग हात जोडी बिदा हुन्छ । गाडीले उड़ाएको धुलोमा घर र बाबुआमाको आकृती धमिलो हुन नपाउँदै गाडी बुनुका दैलो हुँदै हुईकिन्छ । ऊ गाडीको झ्यालबाट अन्तिम पटक बुनुको मुहार नियाल्छ । सडक छेउ गाडीको पर्खाईमा रहेकी बुनुसँग एक निमेषका लागि ज्ञानीका आँखा जुद्छन् । बुनुका आँखामा प्यार टिलपिल थियो, सायद उसले माया मारेझैं गरेर रूखो हुनुमा उसका पनि बाध्यता होलान्, ज्ञानीको मन भरी बुनुको लागि प्यार जागेर आयो, साहस गरेर उसले झ्यालबाट बिदाईका हात हल्लायो र मनमनै भन्यो, ‘बुनु यो परदेशी भोलि थाकेको जीउ र रोगी शरीर लिएर घर फर्कदासम्म तिमी एक असल डाक्टर बनी सक्नु है ।’ आखिर प्रेम लुकाएर कहाँ लुक्थ्यो र छेउमै उभिएका बाबुआमाको परवाह नगरी बुनुले हँसिलो मुहार पारेर बिदाईका हात हल्लाई । यता ज्ञानी खुसीले गदगद हुँदै आफैँलाई भन्छ ‘शुभ यात्रा परदेशी’ । गाडी एकतमास हुईकिई रहन्छ… ।

समाप्त !

हाल : दक्षिण कोरिया

(स्रोत : आजको खबर डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.