~कुमार काफ्ले~
-राम र रमिता दिनभर पाखुरी चलाउँछन्,दश नङ्ग्रा खियाउँछन्।
-समय कटेको पत्तै पाउँदैनन्।
-गाग्रीबाट अंखोरामा सारेर चिसो पानी खान्छन्,प्यास मेट्छन्।
-रमिता ढिँडो रोटी,मीठो मसिनो बनाउँछिन्,स्नेह र आत्मीयता मिसाएर पस्किन्छिन्।
-रामलाई दिन्छिन् ,आफू पनि खान्छिन्।
-उता हरि र गीता दिनभरजसो अरुको कुरा काटेर बस्छन्।
-भेट भयो कि ठास्सठुस्स गर्न थाल्छन्।
-कहिले कुकुर बिरालो झैँ झगडा गर्न पनि पछि पर्दैनन्।
-एक्लाएक्लै किचनमा छिर्छन,फ्रिज खोलेर ‘कोल्ड ड्रिङ्क’पिउँछन् र पनि प्यास मेटिदैंन।
-खाना खानेबेला प्राय झर्कोफर्को र दोषारोपण गर्छन्।
-रमिता सोच्छिन् “गीताको जस्तो सुखी जिन्दगी भए पो!”
-गीता सम्झिन्छिन् “रमिताको जस्तो खुशी जिन्दगी भए पो!”
– ओखलढुंगा।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)