~मदन राई ‘लामाखुले’~
मेची बगरमा
आज, बाढी आएछ
आकाशमा गिद्धहरू
फन्फन्ती घुमिरहेका रहेछन्
धुसेनीबाट स्यालहरू निस्केर
छाला लुछीरहेका रहेछन्
हुँडारहरू जंगलबाट निस्केर
शरीरका अंग अंग बोकेर
कुदाई रहेका रहेछन्
मेची बगरमा आज,
एउटा हल्ला भएछ ।
मुसाहरू दुला भित्रै
उकुस मुकुस भएकारहेछन्
पारिबाट जंगली हात्ती आएर
झुकी झोपडी भत्काइदिँदा
पाकेको बाली
बेस्सरी दलेर जाँदा
दुलाहरू किचिएर
मुसाको बनिबास भएका रहेछन्,
मेची बगरमा आज
एउटा उल्का भएछ।
जंगे पिलर हराएको बेला
भुस्याहाहरू
कार्तिक अगावै
दोहोरी सांझमा
काठमाण्डू गएका रहेछन् ।
डान्सबारमा बिदेशी डन् कुकुर
ङयारर गर्दाको बेला
टांगमुनि पुछर हुालेर्
त्वम् शरणम् भएका रहेछन्,
मेची बगरमा आज
एउटा अनर्थ भएछ ।
डुङ डुङती गन्हाउदा पनि
जीउमा अत्तर छर्केर
सुगन्धको स्वाङ गर्ने
गाईका स्वरुप भएका
गोरुका बथानहरू
लाजको मुखौटो लाएर
निर्धक्क
पजेरो जोत्दा जोत्दै
कच्याक्कै हलो भांचिएछ
म झल्यास्स बिउंझदा,
डिगेन्द्र राजबंसीले
बल्खु दरबारमा,
आत्म हत्या गर्यो भनेर
समाचारहरू आईरहेकारहेछन् ।
छि, कस्तो अलक्षणा सपना ।
मेची बगरमा आज
एउटा ढलेको रहेछ।।
४।१।०६७
मदन लामाखुले