~लक्ष्मी प्रसाद देवकोटा~
क.
उषा चढिन् रे सल्लो !
स्वर्ग भयो आकाश उपल्लो !
त्यसको मछाया,
ताल धरामा, तल्लो !
सुन्दरताले झस्केको, वायुमण्डल
हाल्यो !
प्रतिस्पर्शले क्या बादल बल्लीे ,
फुल्दै झल्क्यो ! फुल्दै झल्क्यो !
ख.
पन्छी–गाना उडाइन् तिनले ।
श्रवण भरीकन,
फुलको कोभी आँखा भल्यो !
के, के तिनले गाइरहिछन् ?
सृष्टि रसिलो, लाल सुरा भै,
कसरी उछल्यो ! कसरी उछल्यो !
ग.
आदिपुरुस ? औ प्रकृतिदेवी
खेल्छन् जुहारी रङ्गमा !
सुनिरहेछु, स्वर्गकी बाला !
पर्वतमाला, मिरमिर पुराना,
गुन्जिरहेछन् ढङ्ग, ढङ्गमा !
जन्मिरहेछन् दिवस जगत्को,
चल्छ किरणको डल्लो !
घ.
अप्सराकी ए ! रानी ! तिमी,
छवि–खानी !
देवदारुको ऊँचा उपवन,
डुल्न आई, दिन्छयनै दर्शन !
स्फटिकमहलको द्धार उघारी,
दिनदिन, पखमा
मधुर बिहानी !
आनन्द जम्यो क्या ! मुटु डल्लो !
ङ.
भेडा गोठाला बतासहरु छन् !
राज्यमा तिम्रो काम छ ऊनको ?
जलप छ सुनको ?
मसिना सोनार ?
चित्रकार ?
मेषचारको कान्तिपुरीमा
तिम्रो विहार ?
भाषा रल्यो ! भाषा रल्यो !
च.
मुसकानहरुमा संसार शुरु भो
स्पर्शमा, प्राणको सञ्चार शुरु भो !
ज्योतिदानमा गुञ्जार शुरु भो !
सुमुखी !
गुँडको चरो यो भन्दछ नीड–हि
छोडूँ कि ?
उडूँ, उडूँमै डल्यो !
छ.
शून्य रङ्गियो !
जगत् भङ्गियो !
अनङ्ग अङ्गियो, तल हेरी !
प्यार जन्मियो, सुन्दरताको,
जनमन, जादू बेरी !
मूर्त देख्छु मुहूर्तमा यो !
कविता ? मेरी ?
जीवन जल भो, कलकल्यो !
ज.
ऊ ! ऊ ! बादल बल्लीमा
लाग्यो दिनको चिचिल्लो !
सृष्टिदेवीको मुसकान
—लाई हामी भन्छौ बिहान !
हे गौरी ! क्या ब्रीडासुन्दर
मुखमा लाली उछल्यो !
झ.
स्वर्ग र पृथिवी ओठ अरुणझै
चुम्बन गर्छन् । मस्कन्छन् !
मिठास पाई, स्मितिमा मनोहर
लच्कन्छन् !
भाव बनीगो चुली उपल्लो !
भाषा लागी बन्न रे खल्लो !
उषा चढिन् रे सल्लो !