कविता : एक्लै

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

मानव महासागरभित्र
मान्छेहरुकै भीडमा
एक्लै
मात्रै एक्लै
बाँचिरहे झैं लाग्छ
निरश झैं लाग्छ
सुनसान झैं लाग्छ।
खै,
एकत्रित गर्छु
सम्हाल्छु, समेट्छु
मिलाउँछु मिल्ने सम्म
र, सिलाउँछु पनि।

तैपनि
बारम्बार
कतै केही छुटिरहेझैं लाग्छ
भद्रगोल झैं लाग्छ
सपना संसारमै
बेसुर बगे झैं लाग्छ
बेठेगान
असरल्ल
असरट्ट
छरपस्ट
छताछुल्ल
कता कता, के के
फाटे जस्तो
नमिले जस्तो
केही खस्खसाए जस्तो
केही सक्सकाए जस्तो?
निरन्तर
भित्रभित्रै
केही चीज
विछोडिएर न्याश्रोमा
कोक्काए झैं
भक्कानिए झैं
पिरोलिए झैं लाग्छ।

बग्रेल्ती घर
भरिलो टोल
केही जोख्दैन
केही पोख्दैन यो मन
खालि,
एकान्तमय
कतै साथ खोजिरहे झैं
एकतमास
रन्थनिइरहन्छ बरू।

घर छ
परीवार छ
घाम, अनि दिन छ
देख्छु, सबै छ
तर,
फुलिरहँदा
ढकमक्क सयपत्री
मेरो भित्रिबारीमा
कोही छैन
सिउरिने शिरमा
त्यो विचित्र।
न रोप्छ कसैले
काउलीको एक थुँगा
न गोड्छ
कूटोले एक गाँज
मेरो करेसाबारीमा?
शाश्वत
रुन्छु एक्लै,
तर
हाँस्छु पनि एक्लै
त्यही त
त्यसै थिल्थिलिएर
गर्हौं मन
बाँचिरहे झैं लाग्छ।

बिग्रेला
नपुग्दा नजर
उदाङ्गो
यो छेऊ, त्यो कुना
बायाँ हेर्नुछ
दायाँ स्याहार्नुछ,
बोलुँ, के बोलुँ
खोलुँ पनि
के, को सँग खोलुँ?
भए नि
केही नभए झैं,
खाए नि
त्यो निर्लज्ज
असन्तोषी झैं,
एकोहोरो
एक्लै
मात्रै एक्लै
एउटा बिलिनो
तरकारीको स्वाद
उजाड हिउँद
टड्कारो यथार्थ
केवल
बाँचिरहे झैं लाग्छ।
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.