~रामचन्द्र खतिवडा~
बौद्धमा एक हुल मान्छे नारा लगाइरहेका थिए । उनीहरू स्वतन्त्र तिब्बतको बारेमा आवाज उठाउँदै थिए । त्यो भीडको छेउमा उभिएर म दृश्य हेरिरहेको थिएँ ।
एउटा युवकले अचानक सोध्यो मलाई– “दाइ तपाईंको घर कहाँ हो ?”
“जोरपाटी ।” –भनेँ मैले ।
”अनि तपाईंको नि ?” –मैले पनि प्रश्न गरेँ ।
उसले भन्यो– “शरणार्थी हुँ दाइ म । शरणार्थीको देश हुन्छ र ? म देशविनाको मान्छे हुँ दाइ ” उसले फेरि भन्यो । ऊभित्र कति धेरै पीडा रहेछ ।
मैले सोचेँ– “देशभन्दा ठूलो अरू कुनै चीज नहुँदो रहेछ ।”
(स्रोत : सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रामचन्द्र खतिवडाको “दमिनी कान्छी” लघुकथा सङ्ग्रहबाट सभार)