~भेषराज रिजाल~
हाँस्दै हाँस्दै रोएको छु रुँदै रुँदै बसेको छु
मेरी जून तिमीलाई मुटुभित्रै कसेको छु ।
हिजो बादल मुनि थियौ मसँगै धर्ती रोयो
चाँदनीको संघार टेकी आज आकास पसेको छु ।
म धर्तीको तुच्छ धुलो श्रद्धाकी तिमी जून
शिरमाथि तिमी चम्क म त भैँमा खसेको छु ।
गाउँ माथि चौतारीको पिपल मुनि सधैँ आऊ
तिम्रा लागि जोगी बनी खरानी नै घसेको छु ।
अब फेरि औँसीका रातहरुमा नहराऊ
तिमी बिना मुटु भित्र मैले छुरा धसेको छु ।
हाँस्दै हाँस्दै रोएको छु रुँदै रुँदै बसेको छु
मेरी जून तिमीलाई मुटुभित्रै कसेको छु ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )