~कृष्णप्रसाद कोइराला~
भवानी भिक्षुको परिचय
माता यशोदादेवी कलवार गुप्ता र पिता इन्द्रप्रसाद गुप्ताका माइलो सुपुत्रका रूपमा विक्रम संवत् १९६६ साल जेठ २१ बिहीबारका दिन लुम्बिनी अञ्चल कपिलवस्तु जिल्लाको तौलिहवामा जन्मिएका भवानी भिक्षु आधुनिक नेपाली कथाको फाँटमा गुरुप्रसाद मैनाली र विश्वेश्वरप्रसाद कोइरालापछिका तेस्रा हस्ताक्षर हुन्।् । भिक्षुको खास नाम नोहरराम गुप्ता हो, उनी सानामा रोगी थिए । घरको कहालीलाग्दो आर्थिक अवस्थाका कारण उनी वाल्यकालमा झोक्राएर नै बामे सरे । त्यसैताका उनलाई शितला माई (बिफर)ले आक्रान्त बनायो । त्यसै बिमारले उनी थला परे । त्यसपछि उनकी आमा उनकै गाउँ तौलिहवाको कालीमन्दिरमा पुगेर आर्तपुकारा गर्न थालिन्, ‘हे साक्षात् देवी ! मेरो छोरोलाई केही नहोस्, चिरञ्जीवी होस् ।’ अनेक बिलौना गरेर भिक्षुकी आमा घर फर्किन् । उनी देवीथानबाट घर पुग्दा उनको छोरा टुकुटुकु हिंडेर उनको स्वागतमा उभिएका थिए । आफ्नो थलापरेको छोरोको सप्रँदो अवस्था देखेर उनकी आमाका आँखामा हर्षका आँसु छछल्किन थाले । उनले अङ्गालोमा छोरो च्यापेर भनिन् ‘मेरो बाबु ! तिमी देवीका कृपाले निको भयौ ।’ तर भिक्षुको मुखैभरि विफरका दागले ढाकिदियो । यसरी उनी बिफर रोगले आक्रान्त भई मरणासन्न अवस्थामा पुगेका र आमा यशोदादेवीले भवानीसँग भिक्षा मागेर बचाएकी हुनाले उनको नाम भवानी भिक्षु रहन गएको हो भन्ने जनश्रुति पनि छ ।
जन्मँदै भवानी भिक्षु तीक्ष्ण बुद्धिका थिए । तर उनको बौद्धिकताको सदुपयोग आफ्नै घरमा चाहिं हुन सकेन । त्यसैले मावलीले यिनलाई काखी चेपे । यिनको मामा घर कपिलबस्तुपारि भारतमा थियो । आफ्नो गाउँको भाषा पाठशालामा चार पास गरेपछि भवानी भिक्षु मामाघर पुगे । मामाघरमा केही वर्ष बस्न नपाँउदै फेरि उनका बुबाले उनलाई नेपाल नै फर्काए । तर भवानी भिक्षुको एकोहोरो जिद्धिका कारण उनी पुनः मामा घरै फर्के । त्यसपछि भने यिनको नियमित पढाइलेखाइ भारतमै हुन थाल्यो । यिनले बाह्र वर्षे उमेरमा हिन्दी माध्यममा कुलभूषण परीक्षा दिए र त्यस परीक्षामा दोस्रो स्थान प्राप्त गरे । भिक्षुले स्वाध्ययनबाट नै हिन्दी, अङ्गे्रजी, बङ्गाली र उर्दू भाषामा राम्रो दक्षता प्राप्त गरेको पाइन्छ । घरको गरिबीले भिक्षुलाई थेचार्नु थेचारेको थियो, निमोठ्नु निमोठेको थियो र निचोर्नु निचोरेको थियो । त्यसैले नेपाल फर्केपछि यिनले हरेक जुक्तिले घरको आर्थिक अवस्था उकास्ने काम गर्न थाले । यसै सन्दर्भमा यी अड्डाको लेखनदास बन्न पुगे । यिनका लेखन गुरु अम्बिकाप्रसाद श्रेष्ठ थिए । अड्डाअदालतमा लेखापढी गर्दागर्दै उनमा नेपाली अक्षर लेख्ने मन बस्न थालेको थियो । त्यही लेखनदासी लेखनी नै उनको नेपाली भाषाको जग बन्न थाल्यो । त्यस बेला श्रेष्ठले उनलाई बस्नका लागि आफ्नै घरको एउटा कोठा पनि दिए । श्रेष्ठका घरमा डेरा सरेपछि भिक्षु बिहान, बेलुका र दिउँसो लेख्ने काममा मात्रै लागिरहे । त्यसैताका मथुराप्रसाद गुप्ताद्वारा तौलिहवामा श्रीराम पुस्तकालयको स्थापना भएको थियो । त्यसपछि भिक्षु नेपाली साहित्यका कृति पढ्नमा पनि अग्रसर भए ।
भवानी भिक्षुको तौलिहवामा लेखनदासमा राम्रो नाउँ चलिसकेको थियो । त्यही सिलसिलामा स्थानीय पशुपतिप्रताप पुरीको घरजग्गा उकास्न यी काठमाडौं आए । वास्तवमा पुरी भूमिपति थिए । तर प्राकृतिक प्रकोपका कारण उनको जग्गा लिलाम हुने परिस्थिति आएको थियो । त्यस बेला पुरीलाई उनको जग्गा उकास्नका लागि मद्दत गर्न एउटा भरपर्दो व्यक्तिको खोजी थियो । त्यस्तो योग्यता भएका व्यक्तिका रूपमा पुरीले भवानी भिक्षुलाई नै छाने । त्यसैले पुरीको कागजात बोकेर भिक्षु काठमाडौं आएका थिए ।
काठमाडांै आएर भवानी भिक्षुले सर्वप्रथम पुरीप्रतिको आफ्नो दायित्व पुरा गर्न प्रयास गरे । त्यसपछि उनी गोरखापत्र पुगे । त्यहाँ उनले सम्पादक प्रेमराज शर्मालाई भेटे । साथै सिद्धिचरण श्रेष्ठसँग पनि उनको भेट भयो । त्यस बखतका साहित्यका शिखरपुरुष सिद्धिचरणलाई विमातृभाषी भिक्षुको नेपाली भाषाप्रतिको अनन्यप्रेम, आस्था र लगनशीलताले प्रभावित बनायो । अन्ततः श्रेष्ठले भिक्षुको उत्साहले भरिएको नेपाली भाषासाहित्यप्रतिको समर्पणको नाडी छामे र भिक्षुलाई जोरगणेश प्रेसमा पु¥याई दिए । त्यहाँ पुगेर भिक्षुले आफ्नो रचना ‘शारदा’मा दिए । यसमा १९९३ सालमा उनको लेख छापिएको थियो, जुन नेपाली भाषामा छापिएको उनको पहिलो समालोचना थियो । यस लेखको प्रकाशनपछि भिक्षु ‘शारदा’मा नै टाँस्सिन पुगे । परिणामस्वरूप उनी ‘शारदा’ कै सम्पादकमा पनि नियुक्त भए ।
भवानी भिक्षुले भारतमा नै बिहे गरे । तर उनको घरजम भएन । अनि फेरि उनले दोस्रो बिहे गरे तर केही वर्षपछि भिक्षु पत्नीवियोगमा परे । धेरै वर्षपछि अर्थात् काठमाडौंमा बसोवास गर्न थालेपछि उनले अर्की एउटीसँग बसउठ गरे । तर उनले बिहे गरेको सकारेनन् । त्यसैताका उनको कवयित्री प्रेमराजेश्वरी थापासँग घनिष्ठता थियो । साथै उनले कथाकार देवकुमारी थापासँग पनि बिहे गर्न अनेक प्रपञ्च गरे तर असफल भए । त्यसैले उनले औपचारिक रूपमा एकल जीवन नै भुक्तान गर्दै आफ्नो यात्रा डो¥याइरहे ।
भवानी भिक्षुले सरकारी जागीरका रूपमा राजनैतिक नियुक्ति पनि पाए । राजा महेन्द्रको निगाहले उनी प्रचार विभागका निर्दशक समेत भए । भवानी भिक्षुले ‘शारदा’ र धरतीको सम्पादन गरे । साथै कथा, उपन्यास, कविता गरेर यिनका नौवटा कृति प्रकाशित भए । उनले ‘आगत’ उपन्यासमा साझा पुरस्कार (२०३२) र मदन पुरस्कार (२०३२) पनि प्राप्त गरे । साथै उनी त्रिभुवन प्रज्ञा पुरस्कार (२०३६)बाट पनि सम्मानित भए । उनी स्थापना कालदेखि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भए । त्यहाँ बाह्र वर्षसम्म सदस्य भएपछि सोही पदको भत्ता पाउने गरी उनी आजीवन सदस्य भए । राजधानी बाहिरका भिक्षुले सुरुसुरुमा आर्थिक रूपमा कठोर सङ्र्घर्ष गरेर आफूलाई काठमाडौंमा नै अड्याई छाडे । उनले हरेक बाधाको सामना गरेर नेपाली भाषासाहित्यका लागि आफ्नो जीवन समर्पण गरे । बाल्यकालमा अवधी र हिन्दी साहित्यको पाठ कण्ठ गरे तापनि किशोरावस्था सकिंदा नसकिंदैदेखि बाँचुञ्जेलसम्म उनले नेपाली हुनुको धर्म निर्वाह गरे । उनले हरेक क्षण नेपाली भाषा र नेपाली साहित्यकै जप गरे । उनले आफ्नो जीवनकालभरि नै नेपाली भाषासाहित्यमैं तप गरे । फलस्वरूप भिक्षु नेपाली आख्यान साहित्यका अविस्मरणीय प्रणेता मानिए । भिक्षु नेपाली साहित्यका अजरअमर साधकका रूपमा सँधैभरि पुजिए ।
मातृभाषा अवधी भएका भिक्षु नेपाली साहित्यका आगन्तुक प्रतिभा हुन् । भवानी भिक्षुको प्रारम्भिक साहित्यिक लेखन हिन्दी भाषाबाट सुरु भएको पाइन्छ । उनले हिन्दी साहित्यको पनि प्रशस्त अध्ययन गरेका थिए । यसबाहेक बंगाली साहित्यका अमर साहित्यकारहरू रवीन्द्र ठाकुर तथा शरद्चन्द्र चट्टोपाध्यायका पनि उनी प्रशंसक थिए र उनीहरूको लेखनबाट प्रभावित र प्रेरित पनि । उनी हिन्दी भाषामा लेख्दथे भन्ने कुरो निम्नाङ्कित आत्मस्वीकृतिबाट प्रमाणित हुन्छ – ‘सुब्बा ऋद्धिबहादुर मल्लज्यूले नै हिन्दीमा लेखिएको भिक्षुको लेखलाई ‘आलोचना र आलोचक’ नाउँले अनुवाद गरी १९९३ साल कार्तिक अङ्कको ‘शारदा’ मा प्रकाशित गर्नु भो र यसरी … नेपाली साहित्यलाई चिनारी गराइयो –’मधेसे नेपाली लेखक । (भिक्षुका आत्मस्वीकृतिबाट)
उनको पहिलो रचना ऋद्धिबहादुर मल्लको सम्पादकत्वमा ‘शारदा’पत्रिकामा प्रकाशित ‘वियोगरात्री’ गद्यकविता हो भने ‘शारदा’मैं प्रकाशित ‘आलोचना र आलोचक’ पहिलो निबन्ध र ‘मानव’ पहिलो कथा हो । साहित्यका कविता, कथा, उपन्यास निबन्ध र एकाङ्की जस्ता विभिन्न विधामा कलम चलाएका भिक्षुको महत्त्वपूर्ण क्षेत्र कथा र उपन्यास हो भने त्यसपछिको क्षेत्र कविता हो । ‘शारदा’देखि ‘मधुपर्क’सम्मका पत्रपत्रिकामा भिक्षुका लेखनिबन्ध छरिएर रहेका पाइन्छन् । उनका निबन्धहरू सङ्ग्रहका रूपमा प्रकाशित हुन सकेका छैनन्, अप्रकाशित अवस्थामैं यत्रतत्र छरिएर रहेका छन् भने अन्य प्रकाशित कृतिहरू निम्न छन् –
(क) कवितासङ्रग्रह : छाँया(२०१७), प्रकाश(२०१७), परिष्कार(२०१७)
(ख) कथासङ्रग्रह : गुनकेशरी(२०१७), मैंयासाहेब(२०१७), आवर्त (२०२४), अवान्तर(२०३४)
(ग) उपन्यास : सुभद्रा बज्यै(२०१९), आगत(२०३३), पाइप नं दुई(२०३४), सुन्तली(२०४०)
(घ) एकाङ्की : पर्दापछाडि(२०३०)
साहित्यका विविध विधाहरूमा मात्र नभएर पत्रपत्रिकामा पनि भिक्षुको अतुलनीय योगदान रहेको चर्चा भइसकेको छ । उनले वि.सं. १९९९ देखि २००३ सम्म ‘शारदा’पत्रिकाको सम्पादक, २००८ देखि २०१३ सम्म प्रचार विभागका अतिरिक्त निर्दशक, २०१३ तिर ‘धरती’पत्रिकाका सम्पादक, २०१४ मा ने.रा.प्र.प्र.का सदस्य रहेर काम गरेको पाइन्छ । उनी साझा पुरस्कार (२०३२) र मदन पुरस्कार (२०३२) का साथै प्रज्ञा प्रतिष्ठानबाट त्रिभुवन पुरस्कार (२०३६) बाट सम्मानित पनि भएका थिए । उनी अनेपाली भाषाभाषी थिए तर अनेपाली होइन । अनेपाली भाषाभाषी भन्नाले उनको मातृभाषा नेपाली थिएन, उनी नेपाली नागरिक थिए । कविवर केदारमान व्यथित र युगकवि सिद्धिचरण श्रेष्ठ नेपाली हुन् तर तिनीहरूको मातृभाषा नेवारी थियो । यहाँ एउटा प्रसङ्ग उल्लेखनीय हुन सक्तछ । खर्साङ्गको एउटा अभिनन्दन समारोहमा उनको परिचय यसरी प्रस्तुत गरिएको थियो – ‘यहाँ जन्मले एक बिहारी हुनुभए पनि नेपाली साहित्यमा यहाँको स्थान उच्च छ । नेपाली साहित्यलाई यहाँको देन बडो सराहनीय छ । अनेपाली भएर पनि नेपाली भाषा र साहित्यको विकासमा यहाँको देन साँच्चै ठूलो छ’ । सम्मान गर्न बोलाइएको समारोहमै आफूलाई ‘अनेपाली भए पनि नेपाली भाषा साहित्यमा कलम चलाएका बिहारी लेखक’ भनिँदा उनको मन कति दुख्यो होला ! तर त्यही निहुँमा उनले नेपाली साहित्यमा कलम चलाउन भने कहिल्यै छोडेनन् । यसरी उनको परिचय दिएपछि उनको सहज र स्वाभाविक प्रतिक्रिया थियो – ‘मेरो परिचय दिंदा यहाँले मलाई अनेपाली भन्नुभो । म कसरी अनेपाली ? म खास नेपाली हुँ, नेपालको छोरो कसरी अनेपाली हुन सक्तछ र ?’ (शिवकुमार राई, श्री भवानी भिक्षुः एक संस्मरणः उन्नयन पृ.१३९)
नेपाली साहित्यका अमर साहित्यकार भवानी भिक्षुले बडो इमान्दारीपूर्वक आफू प्रभावित र प्रेरित हुने साहित्यकारहरूप्रति आभार प्रकट गर्दै भनेका छन् –’ममाथि पहिलो प्रभाव शरच्चन्द्रको परेको थियो, म उनलाई गुरु मान्छु । कथाको अभिव्यक्तिमा जैनेन्द्रकुमार, बाल्जाक, मोपाँसा, दन्तावस्की, एमिल जोला सबै मेरा प्रेरक हुन् । उत्प्रेक्षा र भनाइमा विदग्धताका लागि ममाथि बर्नार्ड शाको छाप परेको छ । वाणी विच्छेद र शिल्पका लागि देवकोटा र सुकोमल भावको अभिव्यक्तिको निम्ति सिद्धिचरण मलाई मन पर्छ । (प्रेरणा र प्रभाव बारेमा भिक्षुको स्वीकारोक्ति)
नेपाली सहित्यको सेवामा आफ्नो जीवन समर्पण गरेका भिक्षु २०३० को दशकपछि रोगग्रस्त भए, उनी फोक्सोको क्यान्सरबाट थला परे । उक्त कारणले २०३२ सालको मदनपुरस्कार प्राप्त गर्दा भिक्षुले त्यसको प्रत्युत्तर भाषण पनि गर्नसकेनन् । २०३८ साल बैशाख ४ गते नेपाली साहित्यका चम्किला तारा भिक्षु यस संसारबाट विदा हुन पुगे ।
कथाकार भिक्षुको कथागत प्रवृत्ति
‘शारदा’पत्रिकामा प्रकाशित ‘मानव’(१९९५) कथाबाट आधुनिक नेपाली कथामा देखापरेका कथाकार भवानी भिक्षु २०३८ सालसम्म साधनारत रहे । आफ्नो कथालेखनको करिब चार दशक लामो यात्रामा कथाकार भिक्षुले करिब ४ दर्जन जति कथा लेखेका छन् । यिनका १९९५ देखि २००६ साल पूर्वका कथाहरू गुनकेशरी कथासङ्ग्रहमा, २००७ सालदेखि २०१६ सालसम्मका कथाहरू ‘मैयासाहेब’मा, २०१७ सालदेखि २०२३ सालसम्मका कथाहरू आवर्तमा र २०२४ सालदेखि २०३३ सालसम्मका कथाहरू अवान्तरमा प्रकाशित छन् । यसपछिका यिनका केही कथा सङ्कलित रूपमा प्रकाशनमा आएका छैनन् ।
भवानी भिक्षु विश्वेश्वरप्रसाद कोइरालाबाट प्रारम्भ भएको मनोवैज्ञानिक यथार्थवादी कथाधाराका अग्रणी प्रतिभामध्ये एक हुन् । कथाकार भवानी भिक्षुको अविच्छिन्न कथायात्रामा मानवजीवनका रहस्यलाई छुने र भावुकतामा रमाउने अनि त्यस युगको नेपाली समाजको यथार्थ अवस्थाका साथै मानिसका मनका थरिथरिका मसिना भावनाहरूलाई केलाउने कुरा नै मुख्य विषयवस्तुका रूपमा रहेको पाइन्छ । रुमानी वा स्वच्छन्दतावादी र रहस्यवादी कथाधाराका साथै सामाजिक यथार्थवादी र मनोवैज्ञानिक कथाधाराको सङ्गममा उनका कथाहरू रचिएका छन् । उनले समाज र जीवनका अनेक पक्षलाई आफ्ना कथामा देखाए तापनि नरनारीका बीचमा परस्परका मानसिक आकर्षण र प्रेमका साथै अनेक प्रकारका द्वन्द्व, तनाव र व्यथाका भावनालाई व्यक्त गर्न सिपालु कथाकारका रूपमा उनको नाउँ निक्कै चलेको छ । भिक्षुका कथायात्रालाई निम्नलिखित तीन चरणमा विभाजन गरी हेर्नसकिन्छ ।
१– प्रथम चरण (१९९५–२००५)
२– द्वितीय चरण (२००६–२०१६)
३– तृतीय चरण (२०१७–२०३४)
यी चरणहरूका कथामा भिक्षुको भिन्नभिन्न प्रवृत्ति पाउन सकिन्छ । उनको पहिलो चरणको कथामा देखा परेको क्षीण कथावस्तु दोस्रो चरणमा आइपुग्दा सघन बन्न पुगेको देखिन्छ । यी भिन्नभिन्न चरणका कथालाई राजनैतिक परिवर्तन, अवस्था र परिदृश्यले प्रत्यक्ष प्रभाव पारेको पाइन्छ । यिनको कथाको प्रथम चरणको पृष्ठभूमिमा नेपालको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक परिवर्तनको युग भएकाले त्यसको प्रभाव यस चरणका कथाहरूमा प्राप्त हुन्छ । दोस्रो चरणमा राणाकालको अन्त्य भई प्रजातन्त्रको उदय भएकाले त्यसताकाका कथाहरू पनि त्यसबाट प्रभावित भएका छन् । २०१७ सालको राजनैतिक परिवर्तनले साहित्यका कुनै पनि विधा अस्पृश्य नरहेकाले तेस्रो चरणका भवानी भिक्षुका कथामा पनि यसको प्रभावजन्य भिन्नता प्राप्त हुन्छ । समग्रमा भवानी भिक्षुका कथामा विशेष गरी चेतन र अचेतन मनका अनेक मनोग्रन्थीको विश्लेषण गरिएको हुन्छ । राजनैतिक, सामाजिक परिवेशअन्तर्गतका कथाहरू पनि सिर्जना गर्ने भिक्षु फ्रायडीय यौन मनोविज्ञानलाई कथाको मुख्य विषयवस्तु बनाएर कथा सिर्जनामा रूचि राख्छन् र शिष्ट यौनलाई मात्र स्थान दिन्छन् । यस अतिरिक्त बाल मनोविज्ञानलाई पनि उनले स्थान दिएका छन् ।
के हो त फ्रायडीय मनोविज्ञान ?
तात्कालिक चेकोस्लोभाकिया गणतन्त्रको फिवर्ग मोराबियामा एउटा यहुदी परिवारमा जन्मिएका सिग्मन्ड फ्रायड (ई.सं. १८५६–१९३९) पेसागत रूपमा अष्ट्रियाको राजधानी भियनामा कार्यरत मनोचिकित्सक हुन् । उनी नै मनोविज्ञानअन्तर्गतको एउटा विशेष पद्धति मनोविश्लेषणका प्रवर्तक हुन् । यस पद्धतिको स्थापनापछि यस मनोवैज्ञानिक चिन्तन परम्परामा फ्रायडका शिष्य तथा व्यक्तिमनोविज्ञानका प्रणेता अल्फ्रेड एड्लर (ई १८७०–१९३७) र विश्लेषणात्मक मनोविज्ञानका प्रवर्तक कार्ल गुस्ताब जुङ (ई १८७५–१९१६) का मनोग्रन्थी, सामुहिक अचेतन तथा व्यक्तित्व विकासको सिद्धान्तले आवश्यक योगदान पु¥याएका छन् । यी तीन जना मनोवैज्ञानिकहरूको मनोविज्ञान वा मनोविश्लेषण सम्बन्धी सैद्धान्तिक स्थापनालाई नै फ्रायडवादी मनोविज्ञान भनिन्छ । अचेतन र चेतन संवेगात्मक प्रतिक्रियाका बीचको सम्बन्धग्रन्थीलाई पत्तो लगाएर त्यसको आनुक्रमिक विश्लेषण गर्न र व्यक्तिभित्रको मानसिक व्याधि निदान गर्नका लागि त्यसलाई फुकाउने प्रयत्न गर्नु फ्रायडवादी मनोविज्ञानको मुख्य उद्देश्य हो । यसै सिद्धान्तबाट प्रत्यक्षपरोक्ष प्रभावित कथाकार भिक्षु मानिसका अवचेतन मनका अन्तद्र्वन्द्वको सजीव चित्रण गर्दछन् । यिनी प्रतिकूल बाह्य परिस्थितिले सिर्जना गरेका अवचेतन मनका दमित भावहरूको अन्तर्विश्लेषण गर्दछन् । यिनका टाइपिष्ट, माधुरी, नारी, त्यो फेरि फर्केला, मैयासाहेब आदि कथाहरूमा यो प्रवृत्ति प्राप्त हुन्छ । यिनी यौनजन्य अनुरागको विश्लेषण गर्दै यसको निकासको रूपमा देखापरेका बाहिरी कार्यव्यापारहरूलाई मार्मिक रूपमा प्रस्तुत गर्दछन् । गुनकेशरी, स्वार्र्थी, रमा, प्रेमको कथा, मीना, एउटा छर्लङ्ग प्रेमकथा आदि यस प्रवृत्तिका कथा हुन् । कथाकार भिक्षुले नारीका मनका कुण्ठा, भावावेग र रतिचेष्टालाई आफ्ना कथामा प्रस्तुत गरेका छन् । गङ्गा र वन्दना यस प्रवृत्तिका कथा हुन् । कथाकार भिक्षुले आफ्ना कथामा अवचेतन मनमा दमित भावना र मानसिक असन्तुष्टिको पराकाष्ठाबाट उत्पन्न असामान्य मनस्थितिको विश्लेषण गरेका छन् । दमनबाट उत्पन्न कुण्ठाले गर्दा यिनका कथाका पात्रहरूमा निराशाजन्य मनस्थिति, हीनता, पलायनको प्रवृत्ति, एकान्तपन, निस्सारताबोध, मुमूर्षु भावना आदि पाइन्छ । रक्सीबाज, सैनिक, कुवा, मीना आदि यस प्रकारका उल्लेखनीय कथा हुन् । कथाकार भिक्षुले आफ्ना कथामा गिर्दो आर्थिकअवस्थाबाट सृजित उच्चवर्गका मानसिक आघातहरूको वर्णन गरेका छन् । यिनले सामाजिक र राजनैतिक परिवर्तनले सृजना गरेको अभावलाई स्वीकार्न नसक्ने मानसिकता र स्वीकार्नु पर्ने बाध्यताका बीचको द्वन्द्वलाई उतारेका छन् । कुलीन परम्परा, आभिजात्य अहं र वर्गीय प्रतिष्ठामा आँच आउँदाको छटपटी, विषाक्त मनस्थिति आदिको प्रभावकारी वर्णन यिनको कथागत वैशिष्ट्य हो । माउजङ्ग बाबुसाहेबको कोट यस किसिमको प्रतिनिधि कथा हो । यिनका कथामा आर्थिक समस्याबाट पीडित पात्रहरूको जटिल मानसिकता, आत्मसङ्घर्ष र अन्तद्र्वन्द्व पाइन्छ । भौतिक परिस्थितिले मानिसको व्यक्तित्वमाथि पारेको मनोवैज्ञानिक प्रभावको वर्णन यस प्रकृतिका कथाको वैशिष्ट्य हो । साहुको सम्पत्ति, शैतानको शैतानी, एक पैसा आदि यस किसिमका कथा हुन् । आर्थिक समस्या र सामाजिक असमानताका कारणबाट समाजमा यौन दुराचार फैलिन गएको र समाजका कुत्सा, निन्दा र विकृति प्रवाहित हुने पाइपका रूपमा अभावग्रस्त नारीका रूपमा जीवन अल्झिएको मार्मिक अवस्थालाई यिनको पाइप कथाले वर्णन गरेको छ । कथाकार भिक्षुका कथामा प्रतिकूल बाहिरी परिस्थितिबाट अवचेतन मनका दमित इच्छाहरू भिन्न भिन्नरूपमा प्रकट भएका पाइन्छन् । मनका भित्री तहमा लुकेर रहेका यस्ता प्रणय र वासनाका विविध अभिव्यक्तिहरूको विश्लेषण यिनका कथामा पाइन्छ । त्यो फेरि फर्केला, मानव, त्यही सात दिन यस प्रवृत्तिका कथा हुन् । यिनका कथामा आत्मप्रतिष्ठामाथि आघात पुग्दा उत्पन्न हुने मानसिक उद्वेलन तथा आहत मनस्थितिको विश्लेषण पाइन्छ । दुई अनुभूत सत्य, उधारो सम्मान आदि यस प्रवृत्तिका कथा हुन् । आर्थिक कारणबाट उत्पन्न मानसिक अस्थिरता, व्यक्तित्वमाथिको चोट, पीडा, तनाव र अन्तद्र्वन्द्वको वर्णन यिनका रानीसाहेब, भ्रष्टयज्ञ आदि कथामा पाइन्छ । कुनै पनि कुण्ठा र तनावविना मनको निर्मल र सहज अनुरागको वर्णन, भावुक मनोदशा, वस्तुप्रतिको लगावले हुने मानसिक परिवर्तन आदिको अभिव्यक्ति पनि यिनका कथामा प्राप्त हुन्छ । साबित्रीको बाख्रो, मेरो सानु साथी आदि यस प्रवृत्तिका कथा हुन् । परिवर्तनको सङ्घारमा उभिएको विशिष्ट परिस्थितिप्रतिको दृष्टिकोण र परिवर्तनपछि आएको सामाजिक हलचल, उथलपुथल र उतारचढावले सृजना गरेको मानसिक अन्तद्र्वन्द्व यिनका कथामा पाइन्छ । नयाँ इतिहासको प्रारम्भ यस प्रवृत्तिको उत्कृष्ट कथा हो । नेपालको तराईका बासिन्दा भएकाले भवानी भिक्षु त्यहाँको रहनसहन, रीति–रिवाज, खानपिन, पहिरन र जीवनशैलीसित पूर्ण परिचित थिए । अतः उनको कथा ‘हारजीत’ शीर्षकमा त्यहाँको ग्रामीण जीवनको यथार्थ चित्रण गरिएको छ । भवानी भिक्षुले हारजीत शीर्षक कथाबाट नेपाली साहित्यको आञ्चलिक परिवेशलाई इङ्गित गरेर एउटा प्रशंसनीय काम गरेका छन् । यसरी कथाकार भिक्षु आर्थिक दुरवस्थाको चित्रण र पात्रको मानसिक अवस्थाको विश्लेषणमा मात्र केन्द्रित नभएर विशिष्ट भौतिक परिस्थितिलाई कारण र त्यसको कार्य वा परिणामका रूपमा मानसिक स्थिति वा मनोदशाको चित्रण गर्दछन् । भौतिक यथार्थ र मनोयथार्थ, समष्टि जीवन र व्यष्टि जीवन, सामजिक मूल्य र वैयक्तिक मूल्य, परम्परा र नवीनता आदिका बीचको समन्वित वर्णन कथाकार भिक्षुका कथाको वैशिष्ट्य हो । कथाकर भिक्षुले सामाजिक तथा आर्थिक परिवर्तनले व्यक्तिको मानसिकतामा पारेको प्रभावको मनोवैज्ञानिक ढङ्गले विश्लेषण गरेका छन् ।
भिक्षुका कथाको आदि, मध्य र अन्त्यलाई निम्नानुसार व्यक्त गर्न सकिन्छ ।
आदि – प्रमुख पात्र र समस्याको थालनी, अन्तद्र्वन्द्वको थालनी,
मध्य – समस्याको गहिराइ, अन्तद्र्वन्द्वको विकास, उत्कर्ष विन्दुतर्फ उन्मुख र
अन्त्य – समस्याको चरम रूप, पश्चाताप, दुःख, वेदना, आत्मग्लानि ।
मैंयाँसाहेब कथाको विश्लेषण
(१) कथानक :
कथाकार भवानी भिक्षुद्वारा लिखित प्रस्तुत ‘मैयासाहेब’ कथा सानाठूला गरी ४५ अनुच्छेदमा संरचित कथा हो । यहाँ संवादका क्रममा व्यक्त हुन आएका ससाना सन्दर्भ वाक्य र एउटा हारमा मात्र सीमित अनुच्छेदलाई पनि समेटिएको छ । यस कथाको रचना वि सं २०१२ सालमा भएको हो । २०१७ सालमा प्रकाशित भएको ‘मैयासाहेब’ कथासङ्ग्रहमा यो कथा सङ्ग्रहित छ । यो कथा उक्त सङ्ग्रहभित्र सङ्कलित कथाहरूमध्ये उत्कृष्ट कथा हो । (इन्द्रेणी सङ्गालो, २०५८, पृष्ठ ८४)
भवानी भिक्षुका कथाहरूमध्ये ‘मैयासाहेब’ एउटा महत्त्वपूर्ण कथा हो । यो कथा २००७ सालको क्रान्तिको पूर्वापरका राणाकालीन दरबारिया पारिवारिक पृष्ठभूमिमा पल्लवित प्रेम प्रसङ्गको व्याख्यानमा आधारित मनोवैज्ञानिक कथा हो । राणा दरबारको परिदृश्यबाट कथाको उठान भएको छ । ‘म’ पात्रको स्मृतिपटलको चित्रणका साथै परिचयात्मक इतिवृत्तबाट थालनी गरिएको यस कथामा मैयासाहेब र अजय नामक दुई मुख्य पात्रको उच्च मनोग्रन्थीको अहंको द्वन्द्वलाई नाटकीकरण गरिएको छ ।
‘मैयासाहेब’ रतिरागात्मक कथावस्तुमा आधारित मनोवैज्ञानिक कथा हो । त्यसैले यस चरित्रप्रधान कथामा आन्तरिक ऊहापोहलाई तार्किक र मनोवैज्ञानिक ढङ्गले विश्लेषण गरिएको छ । राणा परिवारको बिग्रँदो आर्थिक अवस्था र खानदानी आडम्बरका बीचमा देखिएका असन्तुलनलाई यस कथाले पृष्ठभूमि बनाएको छ । शासनारूढ कुनै राणाकी भित्रिनीपट्टिकी छोरी मैयासाहेब र उनीहरूकै दरबारमा काम गर्ने कुनै कर्मचारीको छोरो अजयका बीचमा आएको प्रेमसम्बन्धलाई प्रस्तुत कथाले अघि सारेको छ । दरबारका आभिजात्य राणा परिवारसँग आवतजावत गर्दा समवयस्क अजय नामक पात्र मैयासाहेबसँग घनिष्ठ सम्बन्धमा बाँधिदै जान्छ । मैयासाहेब पनि अजयसँग सामिप्यसम्बन्ध स्थापित गर्न पुग्छिन् । पारस्परिक भेटघाट, पत्राचार र प्रेमालाप अघि बढाउँदै जाने क्रममा यी दुईको प्रेममा प्रगाढता आउन थाल्छ । उनीहरूको यस प्रसङ्गको चिन्तन अचेतन अवस्थामा रहँदारहँदै यी दुबैको भिन्नाभिन्नै स्थानमा विवाह हुन्छ । केही समयपछि अजय राणाशासन विरोधी अभियानमा संलग्न हुन्छ । फलतः राणाशासनको अन्त्य हुन्छ । अजयको उन्नति हुँदै जान्छ र सत्ताविमुख हुन पुगेका राणाहरू आर्थिक दुरवस्था र प्रतिष्ठाजन्य घमण्डका कारण बिदेसिन बाध्य हुन्छन् । मैयासाहेबको परिवार पनि यसरी बिदेसिने अवस्थामा पुग्छ । यस्तै अवसरमा एउटा मन्दिरमा अजय र मैयासाहेबको भेट र वार्तालाप हुन्छ । त्यस वार्तालापपछि ती दुईले एकअर्काको प्रेमको परिभाषा पहिल्याउने प्रयत्न गर्दछन्, दुबैलाई पछुतो हुन्छ तापनि प्रेमलाई पूर्ववत् निरन्तरता दिइरहने बाचा गर्दै कथानकको अन्त्य हुन्छ । निम्न भनाइले पनि उक्त कुराको सङ्केत गर्दछ – म जहाँ छु, सकेसम्म मलाई त्यहीं नै रहन देऊ न, अजय ! (इन्द्रेणी सङ्गालो, २०५८, पृष्ठ ९६)
यस कथामा अजय र मैयासाहेबको सामजिक स्तरको भिन्नताले स्थायी मिलन हुन नदिएको देखिन्छ । यी दुई प्रेममा आबद्ध भए पनि आआफ्ना सामाजिक स्तरप्रति सचेत छन् । सम्पन्नता र सामान्यताका वर्गीय भेदले प्रस्तुत कथाका नायक अजय र नायिका ‘मैयासाहेब’ पारस्परिक मिलनबाट वञ्चित भएका छन् । जात, कुल र वर्ग नमिलेका कारण यी दुईका बीचमा विवाह हुन नसकेको देखिन्छ । यी दुबै पात्र आफूभित्रको कुरालाई खुलस्त व्यक्त गर्न असफल हुन्छन्, आवेगलाई दमन गर्छन् र अभिभावकको इच्छामा बग्छन् । यस कथामा आआफ्ना अभीष्ट प्राप्तिका लागि मैयासाहेब र अजयका मनोभावमा देखापर्ने उतारचढावलाई द्वन्द्वका रूपमा चित्रण गरिएको छ । दरबार र जनताको परिवारका बीचको आर्थिक, सामाजिक र सांस्कृतिक असमानता पनि यहाँ बाह्य द्वन्द्वका रूपमा देखा पर्दछ, तर त्यो यस कथाको प्रतिपाद्य विषय होइन । कथाको मुख्य विषय दुई मुख्य पात्रको प्रेम र आदर्शको अभिव्यक्ति हो । २००७ सालको क्रान्ति र त्यसकै सेरोफेरोमा दरबारिया जीवनजगत्लाई परिवेशका रूपमा चित्रण गर्दै यी दुई पात्रका मनमा उब्जिएको अन्तद्र्वन्द्वलाई पटाक्षेप गर्नु यस कथाको वैशिष्ट्य हो ।
कथानक संरचना र विकास ः
(क) आदि–
(अ) चिनारी
राणा परिवारको कुनै एकजना प्रतिष्ठित व्यक्तित्वकी भित्रिनीपट्टिकी छोरी मैयासाहेब र त्यसै परिवारमा काम गर्ने एकजना कारिन्दाको छोरो अजय परिचित छन् र आत्मीय मित्र हुन् भन्ने सङ्केतसम्मलाई चिनारी अन्तर्गत राख्न सकिन्छ ।
(आ) सङ्घर्ष र विकास
मैयासाहेबले साइकल सिक्ने चष्ेटा गरेको र उनी लड्न खोज्दा अजयले समातेको घटना नै प्रथम सङ्कटावस्था वा सङ्घर्ष विकास हो ।
(ख) मध्य–
(अ) सङ्कटावस्था अजयले मैयासाहेब लड्न खोज्दा साइकल अड्याउँदै गरेको क्रियाकलापदेखि मैयासाहेब बिदेसिन लागेको थाहा पाएर भेट गर्न जानुसम्मका घटना यस अन्तर्गत पर्दछन् ।
(आ) चरमोत्कर्षर्
मैयासाहेबले अजयलाई के तिमीले मलाई माया गरेका थियौ भनी सोध्नु, अजयले माया गरेको कुरा स्वीकार्नु, त्यसो भए किन प्रस्ताव गरेनौ भनी पुनः मैयासाहेबले सोद्धा अजय निरुत्तर भई टोल्हाइरहनु आदि कथानक विकासमा देखा परेका चरम अवस्था(निर्णायक सङ्कटावस्था) हो।
(ग)अन्त्य–
(अ) सङ्घर्षह्रास
मैयासाहेबले अजयलाई मायाको चिनो स्वरूप हीराको औंंठी प्रदान गर्नु कथानकको सङ्घर्षह्रासको स्थिति हो ।
(आ) उपसंहार
अन्त्यमा अजयको आँखाबाट आँसु झर्नु कथानकको उपसंहार हो ।
(२) चरित्र
चरित्रविनाको कथा कल्पना गर्न सकिंदैन । यसर्थ कथालाई जीवन्तता प्रदान गर्न चरित्रको महत्त्वपूर्ण स्थान हुन्छ । झिनो कथानक रहेको यस कथामा मुख्य पात्र मैयासाहेब र उसको आत्मिक प्रेमको केन्द्रिय व्यक्तित्वका रूपमा आएको पात्र अजयको चरित्राङ्कनलाई महत्त्वपूर्ण स्थान दिइएको छ । कथाका प्रमुख व्यक्तित्वका रूपमा यी दुई पात्र उपस्थित भएका छन् भने यसमा ‘म’पात्र, महारानी, सागरी महारानी, नोकर्नी, अजयकी पत्नी, मैयासाहेबको लोग्ने आदि पात्रहरू पनि प्रयुक्त छन् । यस कथाका यी चरित्रहरूको आँकलन गर्दा मैयासाहेबलाई कथाकी मुख्य पात्र एवं नायिकाका रूपमा पाउन सकिन्छ । त्यस्तै अजय नायक हो भने कथामा उसको दोस्रो स्थान छ । महारानी, उनका छोराछोरी, अजयको बाबु, स्वास्नी र ‘मैयासाहेब’को पति यस कथाका सहायक पात्रहरू हुन् । सारांशमा यहाँ अजय र मैयासाहेबलाई नायक–नायिकाका रूपमा लिन सकिन्छ । प्रमुख दुबै चरित्र अजय र मैयासाहेब कथामा समान चारित्रिक विशेषता वहन गरी देखा परेका छन् । तिनीहरू कार्यका आधारमा प्रमुख, प्रवृत्तिका आधारमा अनुकूल, स्वभावका दृष्टिमा गतिहीन, जीवनचेतनाका आधारमा व्यक्तिगत, आसन्नताका आधारमा मञ्चीय र आबद्धताका आधारमा बद्ध पात्रका रूपमा कथानकमा प्रस्तुत भएका छन्, अतः यिनै बिन्दुहरूका आधारमा यी दुबैलाई समान भन्न सकिन्छ ।
(३) परिवेश
मैयाँसहेब कथाका सम्पूर्ण घटना र कार्यव्यापार काठमाण्डौ सहरभित्रै सम्पन्न भएका छन् । राणा दरबार र वज्रयोगिनीको उल्लेखबाट यस कथाको घटना र कार्यव्यापारको स्थलको रूपमा काठमाण्डौ सहरलाई लिन सकिन्छ । वि सं २००७ साल पूर्वापरका दुई बेग्लाबेग्लै सामाजिक परिवेशलाई यस कथाले चित्रण गरेको छ । कथाकी मुख्यपात्र मैयाँसहेबको व्यक्तित्वको विकासको अवस्था र कथामा वर्णित घटनाका आधारमा यस कथाले मोटामोटी १५ वर्षको समयावधिलाई समेटेको देखिन्छ । कथाको प्रारम्भिक अवस्थामा राणाशासन विद्यमान छ भने कथाको मध्यभागमा नै राणाशासनको अन्त्य भई प्राजातान्त्रिक शासनव्यवस्था सुरु भई सकेको छ । यस कथामा उच्च वर्ग र मध्यमवर्गको आर्थिक र सामाजिक स्थितिबीचको द्वन्द्वात्मक परिवेशको चित्रण गरिएको छ । एकातिर अजयको साधारण घरगृहस्थी, रहनसहन, लुगापहिरन आदिको उल्लेख छ भने अर्कातिर ‘मैयासाहेब’को सानदार दरबार, सुसज्जित कोठा र मूल्यवान् वस्त्राभूषणादिले एउटा असमान परिवेशको उल्लेख गर्दछ । यी असामञ्जस्यमूलक परिस्थितिका कारण प्रादुर्भूत परिस्थिति नै नायक–नायिकाका बीचमा टुसाएको प्रेममा बाधक भई उपस्थित भइदिनाले कथानक दुःखान्त परिवेशमा उभिन पुगेको छ । यी दुबै परिवेशको समानताको खोजी गर्न प्रयास गरे पनि त्यसलाई कथाकारले फेला पार्नसकेका छैनन् ।
(४) दृष्टिविन्दु
यस कथामा कथाकार स्वयं नै ऊ पात्रको भूमिका ग्रहण गर्दै विवरण प्रस्तुत गर्दछन् । विवरणलाई उल्लेख गर्ने क्रममा ‘ऊ’पात्रका माध्यमबाट कथाको थालनीमैं हुँदै गरेका घटना र त्यसबाट भविष्यमा उत्पन्न हुनसक्ने परिणामको सङ्केत गरिएको छ । त्यसैले यो कथा तृतीय पुरुषको सर्वदर्शी (बाह्य) दृष्टिविन्दुको प्रयोग भएको कथा हो । कथामा मैयासाहेब र अजयको कुराकानी हुँदामात्र ती दुईले आफ्ना कुरा आफैं व्यक्त गरेकाछन् । अन्य समस्त प्रसङ्गमा कथावाचक बनेर छुट्टैै व्यक्तिले सम्पूर्ण विवरण प्रस्तुत गरेको देखिन्छ । कथामा आएको गति, प्रकृति र परिस्थिति–अनुसार ती पात्रमा देखा परेको प्रेम, कुण्ठा, आशा, निराशा आदि संवेगहरूको चित्रण पनि कथावाचकले गरेका छन्, साथै ‘मैयासाहेब’को बाह्य तथा आन्तरिक चारित्रिक विशेषतालाई पनि विवरणका माध्यमबाटै प्रस्तुत गरिएकाले बाह्य दृष्टिकोण प्रयोग भएको प्रष्ट हुन्छ । अनि यो एउटा चरित्रप्रधान र मनोवैज्ञानिक कथा भएकाले पनि कथामा प्रयुक्त सर्वदर्शी दृष्टिबिन्दु सहज र उपयुक्त देखा पर्छ ।
(५) भाषाशैली
भिक्षुले यस कथाको भाषालाई विविध बिम्ब र अलङ्कारको प्रयोगबाट कलात्मक बनाउने प्रयास गरेका छन् । शब्दचयनका क्रममा विशिष्टतालाई बढी महत्त्व दिएको भान हुन्छ, फलतः कतिपय प्रसङ्गमा भाषा बक्रोक्तिमय पनि बन्न पुगेको छ, जस्तै – ‘निश्चयतः त्यो अनौठो मनोवैज्ञानिक सृजन थियो’ (भवानी भिक्षु, ‘मैयासाहेब’, तेस्रो संस्करण २०५२ ः १)
तेस्रो भाषाका रूपमा नेपाली भाषालाई ग्रहण गरेकाले कथाकार भिक्षुको अभिव्यक्ति सहज, सरस र सरल भने छैन । जटिल किसिमका वाक्यविन्यास तथा भाषिक क्लिष्टताले कथा सहज रूपमा सम्प्रेष्य तथा बोधगम्य बन्न सकेको छैन । भिक्षुका अन्य कथाहरूमा झैं नै यस कथामा पनि क्लिष्ट र संस्कृतनिष्ठ भाषाको प्रयोग भएको देखिन्छ । यस कथामा पनि भिक्षुले प्रायशः तत्सम र आगन्तुक शब्दको प्रयोग गरेका छन्, यद्यपि उनका अन्य कथा झैं यसमा भाषिक दुरुहता भने छैन । अप्रचलित तथा क्लिष्ट तत्सम शब्दको प्रयोगाधिकताले सामान्यतः दुर्बोध्य लागे पनि समष्टिमा यसमा सम्प्रेषणीय भाषाको प्रयोग छ । यस कथामा बौद्धिकता, तार्किकता, गम्भीरता र मार्मिकता प्राप्त गर्न सकिन्छ । समानान्तरता र विचलनको प्रयुक्तिले भाषा सौन्दर्युक्त बन्न पुगेको छ । तार्किक र विश्लेषणात्मक शैलीमा संरचित प्रस्तुत कथामा पाइने अनुप्रास, निपात, अनुकणात्मक, द्वित्व आदि शब्द प्रयोगले भनाइलाई काव्यमय बनाउनुका साथै प्रस्तुतिलाई प्रभावकारी तुल्याएको छ । आङ्गिक दृष्टिले कथा पूर्ण छ । आदि, मध्य र अन्त्यको बीचमा कार्यकारण सम्बन्ध छ । पात्रहरूको चारित्रिक र मानसिक अवस्था विश्लेषणमा केन्द्रित भएकाले यो एउटा चरित्रप्रधान कथा बन्न पुगेको छ । कथानक संरचना र विकासक्रम क्रमिक ढाँचामा अघि बढेकाले यस कथालाई सरल प्रकृतिको कथा हो भन्न सकिन्छ । परम्परित शैलीमा कथानकको संयोजन गरी रचना गरिएको यस कथामा कथानकले मागे–अनुरूप चरित्र, संवाद र परिवेशलाई समेटिएको छ । उपर्युक्त आधारमा कथाकारले रोचक र प्रभावकारी शैली प्रयोग गरेको स्पष्टतः देखा पर्छ ।
(६) शीर्षक
यस ‘मैयासाहेब’ कथाको शीर्षकले कथाकी मुख्य र सशक्त पात्रको नाम ग्रहण गरेको छ । यस कथामा मुख्य पात्र मैयासाहेबको मनोलोकलाई कथ्यसामाग्रीका रूपमा प्रस्तुत गरिएकाले यस कथाको ‘मैयासाहेब’ शीर्षक सार्थक र औचित्यमूलक छ ।
(७) उद्देश्य
यस कथामा राणापुत्री ‘मैयासाहेब’ र त्यसै दरबारको कारिन्दाको छोरो अजयका बीचको प्रेमसम्बन्धलाई दृश्याङ्कन गरिएको छ । यहाँ पृष्ठभूमि दिग्दर्शन गर्ने क्रममा प्रजातन्त्र–प्राप्तिपूर्वको राणाहरूको सामाजिक र आर्थिक हैसियत एवं प्रजातन्त्र–प्राप्तिपछिको उनीहरूको ह्रासोन्मुख जीवनचर्यालाई पनि औंल्याइएको छ । त्यसैले सामाजिक र आर्थिक स्थितिको उद्घाटन गर्नु नै यस कथाको पहिलो उद्देश्य हो । यहाँ सामाजिक यथार्थ खोतल्ने क्रममा एकातिर प्रजातन्त्र प्राप्त भएयता राणावर्गले कुन दुर्गति ब्यहोर्नुपर्यो भन्ने यथार्थको झलक प्रस्तुत गरिएको छ भने अर्कातिर समाजका युवायुवतिमा देखा पर्ने प्रेमाकर्षण र त्यसबाट प्रादुर्भूत घात–संघात तथा निराशाजन्य अवस्थालाई पनि चित्रण गरिएको छ । अजय र मैयासाहेब एकअर्कालाई माया गर्छन्, तर उनीहरू दुबैको विवाह बेग्लाबेग्लै व्यक्तिसँग हुन्छ, तथापि एक अर्कालाई पहिले जसरी नै माया गरिरहन्छन् । त्यसैले चोखो मायाका सामु अन्य यावत् वस्तुहरू गौण बन्न पुग्छन् भन्ने कुरा यस कथामा दर्शाउने चेष्टा गरिएको छ । सामाजिक मानमर्यादा र श्रेणी विभाजनको लक्ष्मण रेखा प्रेममा कोर्न सकिन्न भन्दै यस कथामा लेखकले प्रेमको दार्शनिक व्याख्यान गरेका छन् । अजय र मैयासाहेबको प्रेमलाई दृष्टान्तका रूपमा उपस्थापन गर्दै कथाकार प्रेम स्वाद होइन, प्राप्ति पनि होइन, त्यसलाई केवल आत्मसात् गरेर मात्र पनि सुखी हुन सकिन्छ भन्दछन् । अतः यस कथाको मुख्य उद्देश्य नै मैयासाहेब र अजयको अनुपम प्रेमप्रसङ्गको उल्लेख गर्नु हो र त्यस प्रेमप्रसङ्गलाई यथार्थपरक तल्ुयाउन राणाहरूको अधोगति–उन्मुख दिनचर्यालाई छर्लङ्ग पार्नुु रहेको देखिन्छ ।
अन्त्यमा के भन्न सकिन्छ भने अधिकार र सम्पतिबाट ओह्रालो लाग्दै गरेको राणा परिवारकी कन्याको पवित्र प्रेम विभिन्न कारणले सफल हुन नसके पनि त्यस प्रेमप्रसङ्गमा छुट्टै वैशिष्ट्य कायम रहेको देखिन्छ । त्यसैले आवेगमय र वासनात्मक प्रेमलाई मुख्य ध्येय बनाउनु भन्दा भावनात्मक र आध्यात्मिक प्रेममार्फत प्रेमलाई दीर्घकालसम्म निरन्तरता दिनु नै प्रेमको निर्णायक कसी बन्न सक्छ भन्ने विचारको उदाहरणीय कथाकृति हो – भवानी भिक्षुको ‘मैयासाहेब’ कथा । समग्रमा प्रेमलाई नवीन ढङ्गले परिभाषित गर्दै नारी पात्रको मानसिक अवस्था, दुःख र मर्मलाई सूक्ष्मताका साथै अत्यन्त प्रभावकारी तरिकाले भिक्षुले ‘मैयासाहेब’ कथामा प्रस्तुत गरेको देखिन्छ ।
सन्दर्भ सूची
१. अधिकारी, अच्युतरमण, एउटा भिक्षुको कथा, काठमाडौं, उन्नयन, पूर्णाङ्क १०, साउन, भदौ, असोज २०४९ ।
२. गौतम, देवीप्रसाद, डा., नेपाली कथा, काठमाडौं, नवीन प्रकाशन, २०५४ ।
३. ज्ञवाली, कमला, भिक्षु र उनको मैयाँसाहेब कथाको विश्लेषण, काठमाडौं, सम्प्रेषण वार्षिक पत्रिका, वर्ष–१, अङ्क–१ ।
४. त्रिपाठी, वासुदेव, डा., पाश्चात्य समलोचनाको सैद्धान्तिक परम्परा, काठमाडौं, साझा प्रकाशन (ते. सं.),२०४९ ।
५. त्रिपाठी, वासुदेव, डा., भवानी भिक्षुको समष्टि कथायात्रा ः एक रेखाङ्कन, काठमाडौं, उन्नयन,पूर्णाङ्क १०, साउन, भदौ, असोज २०४९ ।
६. प्रसाईं, नरेन्द्रराज, नेपाली साहित्यका बटवृक्ष : भवानी भिक्षु, समकालीन साहित्य, (www.samakalinsahitya.com संस्करण) ।
७. पौडेल, सुशील, सम्झनामा भिक्षु, काठमाडौं, कान्तिपुर दैनिक, २०६८ ज्येष्ठ २५ ।
८. भट्ट,आनन्ददेव,डा, भवानी भिक्षु र त्यो फेरि फर्केला, काठमाडौं, उन्नयन, पूर्णाङ्क १०, साउन, भदौ, असोज २०४९ ।
९. भिक्षु, भवानी, अवान्तर, काठमाडौं, साझा प्रकाशन, २०३४ ।
१०. भिक्षु भवानी, मैयाँसाहेब, काठमाडौं, साझा प्रकाशन (ते. सं.), २०५२ ।
११. भुसाल, गुणाकर, काठमाडौं, इन्द्रेणी(सँगालो),क्षितिज प्रकाशन, २०५८ ।
१२. राई, शिवकुमार, श्री भवानी भिक्षुः एक संस्मरणः काठमाडौं, उन्नयन, पूर्णाङ्क १०, साउन, भदौ, असोज २०४९ ।
१३. राकेश, डा रामदयाल, भवानी भिक्षु शतवार्षिकी विशेष, ‘नेपालको छोरा, म कसरी अनेपाली ?’ काठमाडौं, गोरखापत्र, www.gorkhapatra.org.np संस्करण ।
कृष्णप्रसाद कोइराला,
उप–प्राध्यापक
पिण्डेश्वर विद्यापीठ, धरान–१४, सुनसरी
(स्रोत : साहित्यघर – निहारिका)