~सोम खनाल~
शब्द नै रसीला कस्ता, प्यास नै पो मेटाउने
शब्दैका पन्तुरा भित्र, आत्मा नै हो भेटाउने
शब्दका छहारी शीतल, शब्दैका झरना झरी
एक्लो हृदयका साथी शब्द नै छन् वरीपरी ।
शब्दमै पहिरो चल्छ, शब्दैमा उठ्छ टाकुरा
शब्दले डढेलो लाग्छ, शब्द उम्रन्छ आंकुरा
शब्द लगाएर पैंचो, उधारो बाच्छ जीबन
शब्दैका मोहनी, माया, सपना साच्दछ मन ।
नि:शब्दै भएर मर्छन् कति शब्दका मारले
शब्दैले ओखती गर्छन् उठ्छन् शब्दका सारले
शब्द शब्द सिलाएर बन्दछन् शब्द -बस्त्र रे,
ब्याधालाई गलाउने शब्द अचूक अश्त्र रे !
शब्दका खुट्किला उक्लि चुट्किला पो सुनाऊं कि !
शब्दकै सुरमा बग्दै गीत पो गुन्गुनाउं कि !
उथलपुथल भई कहिले शब्द सिगौरी खेल्दछन्
गुम्सेका भावनालाई भित्रै बाट पो ठेल्दछन् ।
शब्द मिठा भए देखि हृदयै हुन्छ गद्गदी
ति शब्द भैदिए तीता मन काट्दछ कट्कटी
शब्दैमा घुम्दछ विश्व, सारा स्रिष्टी चराचर
शब्दै हो रहने आखिर, मरेर लानु के छ र ?
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)