कविता : तिमी जात देख्छौ ?

~लक्की चाैधरी~

मैले बोल्दा, लेख्दा जात देख्छौ
उठ्दा, बस्दा कराउँदा नि जात देख्छौ ।
तिम्रो मथिङ्गल बिग्रेको हो कि मेरो,
सुत्दा, खेल्दा र खाँदा’नि जात देख्छौ ??

हाम्रो बालापनको स्मरण गरौं,
धुलाम्य माटोमा खेल्दाको स्मरण गरौं ।
खोला, तलाउमा सँगै डुबुल्की मार्दा
तिमी डुब्दा, मैले बचाएको स्मरण गरौं ।।

तिम्रो र मेरो मित्रता अनन्य थियो,
मेरै घरको पाकवानको स्वाद लिन्थ्यौं ।
आफ्नो घरमा जान विर्सन्थ्यो,
आमाले भकुर्दा रुँदै घरतिर लाग्थ्यौ ।।

सानो छँदा के खाएनौ ?
गगंटा, माछा मासुका अनेक परिकार ।
सुंगुर, बंगुर, मुसा र वयरका चटनी,
बसियामार, घोङ्घीको सुर्का लाएनौ कि ??

घरको आङ्गन जोडिएको थियो
विहान उठ्दा दौड्दै अङ्गेना आउँथ्यो ।
सँगै खलियान छेउको कहुरा जान्थ्यौं,
मकै पटपटी पोलेर खान्थ्यौं ।।

सँगै गाउँको विद्यालय गयौं,
माछा मार्न बल्छी थाप्न गयौं ।
फर्की माछा पोलेर चट्नी बनाई
मिझ्नी भात र रोटी सँगै खायौं ।।

एक–अर्काको जुठो खायौं,
एउटै थालमा नखाँदा पेट भरिएन ।
गर्मी हुँदा नजिकको खोला गयौं,
नाङ्गै खोलामा डुबुल्की लायौं ।।

थाहा छ तिम्लाई जुका लागेको दिन ?
तिमी कराउँदा आँखा चिम्मगरेर फालेको ।
तिम्रो दुःख मेरो दुःख थियो,
आइपर्दा जस्तै दुश्मन ढालेको ।।

आज तिमी शहर पस्यो,
पढ्यो लेख्यो ठूलो भयो ।
गाउँघरको खेतबारी बेच्यो
आज शहरिया र सभ्य बन्यौ ।।

शहर पस्दादेखि टाढा बन्यौ
म गाउँमै रमाए तिमी शहरमा ।
गाउँघरको खोजखबर लिएनौं,
संगै खेलेका साथीभाइ चिनेनौं ।।

आज म बोल्दा तिमी जात देख्छौ,
पढ्दा लेख्दा नि जातै देख्छौ ।
खै तिम्रो मथिङ्गल विग्रियो कि के भनौं,
मेरो चालचलन र व्यवहारमा जात देख्छौ ??

मेरो घरमा आउँदा मैले जात देखिनँ
सँगै खाँदा नि जात देखिनँ ।
तिम्रो सुख, दुःखमा जात देखिनँ,
आज तिमी किन जात देख्दैछौ ??
हो, तिमी मलाई किन जात देख्दैछौ ??

– धनगढी–५, कैलाली

(स्रोत : मार पहुरा डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.