कविता : चिता

~नारायण पोखरेल~

जलिरहेको छ चिता ,
दाउरा र घ्यु को आगोको
राखहरु उडिरहेको छ हावामा !
केहि आधा जलेकाटुक्राहरु !
वरिपरी मेरो नजिक म बाहेक अरु कोही नै थिएनन् !
सायद त्यो ठाँउ मसानघाट पनि थिएन होला!

हो , बाताबरण बोझिल थियो
र धुँवा दमघोट ..
मृत्यु त आखिर मृत्यु नै हो ,
चाहे जस्कै होस् !
फर्किएँ अब प्रेमको अन्तिम यात्राबाट ,
उस्का सबै पत्रहरु जलाएर !
बाँकि छ त बस्
महसुस र यादहरुका पिण्डदान !

दिललाई थोरै आराम हुन्छ अब !
मेरो चिताको राखमा के हेर्छौ अब तिमी ?
ए मलामीहरु तिमीहरु फर्क अब ,
तिमीहरुले देख्छौ त अब राख
अनी केहि अर्ध जलेको दाउराहरु
खरानीका खातहरु ,
मेरो अर्ध जलेको शरिर !

तर तिमीहरुले देख्न पाउदैनौ
मेरो अतृप्त ईच्छाहरु
मेरो दुनिया सँग अपेक्षा ,
मेरो प्रेम , स्नेह
मेरो घृणा र रिसहरु !
र अन्य भावनाहरु …
जुन चिताले अड्याउन सकेको छैन
आगोले जलाउन सकेको छैन !

बिनासकारी शरिर नष्ट भयो ,
तर ति सपनाहरु , ईच्छाहरु
घुम्दैछन् यतै कतै !!

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.