~नीमबहादुर थापा~
मीना टुप्लुक्क जेठा चुँदाराको आँगनमा आइपुगिन् । बाजे ढोग गरें भन्दै नमस्कार गरिन् । चुँदारा बाजेले भाग्यमानी भए बा, लामो आयु छ तिम्रो । कालोपाटी लिन किन आइनौ भनेर भर्खर सम्झ्या थें । तिम्रो छोरीलाई रातोगुराँसको हलुका राम्रो पाटी बनाइदिएको छु, यी यही हो, हेर तो, कस्तो छ । पाटीको माथितिर सानो मन्टोजस्तै बनाएको समाउने भागमा हाते वर्माले छेडेर दुलो पारेको रहेछ । असाध्यै राम्रो, मसाइलो, छेउ–छेउमा बुट्टा काटेको पाटी देखेपछि मीना आत्मैदेखि खुशी भइन् र रसिलो अनुहार बनाएर मुस्कुराइन् । उनको बर्वण्डीले त्यो पाटीमा आफ्नो छोरीले खर…र…र बाह्रखरी अक्षर लेखेको देख्यो । जेठा चुँदाराले मीनाको अनुहारमा भावुकता पढे । मीना खुशी थिइन् । यो पाटीमा मीनाले आफ्नो दुधे छोरीको सुदूर र सुन्दर भविष्य लेखेको पुस्तक पढिरहेकी थिइन् । चुँदाराले मनमनै बयान गरे, मैले मेरो ६० औं वसन्त पञ्चमीसम्मको बछुले जिन्दगीमा मेरै हातले कुँदेको पाटीमा हजारौं बालबालिकाहरुले आफ्नो भविष्यको सुन्दर रेखा कोरेर जीवनयात्रा तय गरिसकेका छन् । हरेक आमाहरुले आफ्ना सन्तानको सुन्दर चेतनायुक्त जीवनयात्रा यस्तै पाटीमा देख्ने गर्दछन् । आज मीनाले पनि आफ्नो छोरीको सुदूर, सुखद् र सुन्दर भविष्यको चित्र यसै पाटीमा देखेकी छ ।
“बाजे तपाइँले मेरो छोरीलाई साह्रै राम्रो पाटी बनाइदिनु भो, कति पैसा हो ?”– मीनाले सोधिन् । चुँदाराले बछुलाबाट नजर नउठाई मुसुक्क हाँस्दै दुई दाँत फुक्लेको थोतोबाट भागबाट जिभ्रो थल्थलाउँदै भने– “मीना आज तिमीले आफ्नो सन्तानको उज्यालोका लागि कति मीठो सपना देखेकी छौ । एउटा बालक राम्रो र शिक्षित भयो भने परिवार राम्रो हुन्छ, गाउँ राम्रो हुन्छ, समाज राम्रो हुन्छ, देश राम्रो हुन्छ र तिमी हामी सबैलाई राम्रो हुन्छ । म बछुला, छिनो, रामो, ठोक्के र वर्मा चलाएर जीवन दौडाउने एउटा बुढो चुँदारा, साँझबिहान अगेनो सल्काउन ठीक्क हुन्छ । न मैले देशका लागि केही दिन–गर्न सक्छु, न त गाउँ समाजलाई सहयोग नै, केही पर्दैन । जाऊ नानी । तिम्रो नानी हामी सबैको नानी हो । यो मेरो हातको मयलसहित सानो नानीलाइ धेरै–धेरै आशीर्वाद छ, ठूलो मान्छे बनून् ।”
“यो पाटीलाई अँगार पिसेर कालो बनाउनु छ, सेतो खरी ल्याएर दूधमा पकाउन अगेनामा बसालेर आएकी छु, फेरि–फेरि आउँदै गरुँला, लौ त बाजे म अहिले जान्छु । ढोग्दें बाजे”– भन्दै मीना घरतिर हिँडिन् ।
चुँदाराको आँगनमा गाउँ–गाउँबाट मान्छेहरु आउने जाने क्रम अलि बढेको छ । मोही पार्ने ठूलो ठेकी, मदानी, मदानी छिराउने तरी, घर्काउने कैला, दुहुने गाबु, घिउ राख्ने हर्पे, अचार राख्ने कोसी ल्याउन मानिसहरु आउँथे भने कोही आफ्ना बच्चालाई वसन्त पञ्चमीको दिन अक्षर आरम्भ गराउन कालोपाटी ल्याउन आउने गर्दछन् । कोही आफ्नो घरको बहर बाच्छोको काँधमा नार्नका लागि टुनीको हलुंगो जुवा बनाउन आउँछन् । अघिपछि फुर्सदको बेला टुक–टुक औजार खेलाएर बस्ने चुँदाराबाजेलाई आजभोलि भ्याइ–नभ्याइ छ । वसन्त पञ्चमी आउनु एकमहिना अगाडिदेखि यस्तै चहल–पहल हुन्छ उनको घरमा । उनले सबैको काम गरिदिन्छन् । मुख फोरेर माग्दैनन् उनले ज्याला तर सबैलाई थाहा छ उनको पेशा यही हो । उनको पुख्र्यौली पेशा पनि काठका उपभोग्य सामान बनाउनु नै हो । आज वसन्त पञ्चमीको दिन, मान्छेका बालबालिकाहरुलाई अक्षर आरम्भ गराएजस्तै गाईको बाच्छोलाई पनि काँधमा जुवा लगाएर जोत्न शुरु गरिन्छ । सकेसम्म नयाँ जुवा लगाइन्छ, त्यसलाई काँचो जुवा लगाएको भन्ने चलन छ भने पुरानो जुवामा नार्नुलाई काँध जुवा भनिन्छ ।
यस वर्षको वसन्त पञ्चमीमा मीनाकी छोरीले अक्षर आरम्भ गरेको पनि २५ वर्ष पुगेको छ । अहिले उनले “हिंजोको संस्कृति” विषयमा विद्यावारिधि गर्दैछिन् । हिंजोलाई फर्केर अध्ययन गर्दा सिंगो समाजमा पुरानो संस्कृति हराउँदै जान थालेकाले संरक्षण गर्न पुराना पुस्ताको रोहवरमा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सोंच नानीले बनाइन् । विद्यालयको आँगन खचाखच थियो । त्यहाँ गाउँका बुढापाकाहरु दुःखी–सुखी सबैलाई निम्त्याइएको थियो । कार्यक्रमस्थलमा सदाभन्दा फरक ढङ्गले मञ्च सजाइएको थियो । कार्यतालिकाअनुसार नानी आफ्नो आसनमा बसिन् र झोलाबाट ल्यापटप निकालिन् । केहीबेर यताउता मिलाएपछि मञ्चको अगाडि टाँगेको सेतो कपडामा आफ्नै गाउँका पुराना पुस्ताका बाजेबज्यैहरु नित्यक्रमसँगै देखापर्न थाले । सबैभन्दा पहिले जेठा चुँदाराले प्वाल परेको मोही पारने ठूलो ठेकीमा “पौलो” (काठको भाँडोमा काठकै टालो हाल्ने) ठोकेको दृष्य देखाइएको थियो ।
क्रमशः साहिला टोमाटाले गाग्री–ताउला रसाएको, राना बजैले खादीको भांग्रो बुनेको, सुजिनी आमाले चौबन्दी चोलीमा तुरीपाई गरेको, जुठे सार्कीले खुकुरीको दाप बनाएको, लाटे लोहारले चुलेसी बनाएको, ओडारे कुसुण्डाले धनुस बनाएको, विसे कुमालले घैंटा चिन्दै गरेको, सोम गुरुङले बाँसुरी खोप्दै गरेका र काल्चे माझीले जाल बुनिरहेका दृष्यहरु देखेर सबै मख्ख थिए । यत्तिकैमा जिम्मालबाजेले कड्केर भने– “ए…नानी तैंले यिनै छुरा बछुला चलाउनेहरुको मात्रै देखाइस्, रुपियाँ पैसा र मानोपाथी दिएर यिनको घर चलाइदिनेहरुको केही छैन ए !” “आउँछ, तपाइँको पनि पालो आउँछ जिम्मालबाजे, नआत्तिनुस”– नानीले मीठो स्वरले जवाफ दिइन् । अब पालो आयो सावनमा खाएको चौपाँजे अनाज बुझाउनेहरुको लस्कर । यतिबेला बल्ल जिम्मालबाजे चाइने–चाइने केरे जोह देखिस् भनेर चोरऔंला ठड्याउँदै थिए । अर्कोतिर ठेकी र ब्याजको स्याज जोड्दै नयाँ तमसुकमा गरीबगुरुवाहरुलाई मुनिमले ल्याप्चे ठोकाउँदै थिए । यसै बेला एकजना युवाले “त्यतिखेरको लाटो जमानामा गरीब गाउँलेहरुले ब्याजको स्याज पनि तिर्नुपरेको रहेछ, होइन बाजे ?” भनेर प्रश्न सोध्यो । चाइने–चाइने तँ जान्नी नहो ए… कर्ने”– बाजेले अनुहार बिगार्दै भने ।
अब पालो थियो, गाईका स–साना बाच्छाहरु डो¥याएर बारीमा ल्याउदै नयाँ जुवामा दुबो र पातीले पूजा गर्दै नारेर जोत्न सिकाउनेहरुको चर्तिकला । उनीहरुले कोही–कोही बाच्छै–बाच्छा र केहीले पाको गोरुसँग बाच्छालाई नारेर हलोको सियोको भकारी बनाउँदै श्रीपञ्चमीको अवसरमा श्रीगणेश गरेका थिए । अन्तिमतिरको दृष्य थियो विद्यालय छेउको सरस्वती मन्दिरमा पूजाआजाका साथ बालबालिकाहरुलाई ऊँ लेख्न सिकाउने बा–आमाहरुको चुरीफुरी । अब सेतो पर्दामा एकजना आफूभन्दा अग्लो लौरो समातेको,
थाङ्ने बुट, कम्बरमा लाहुरे पेटी र टाउकोमा छत्रे टोपी लगाएको बुढो मान्छे देखा प¥यो । ऊ १० वर्ष पहिले मरिसकेको साङ्ले कटुवाल थियो । उसले घाँटी तानेर भाका फिराउँदै चिच्यायो– हा…हो…हाम्रो गाउँको प्राइमरी स्कूललाई मिडिल बनाउने छलफल गर्नका लागि भोलि बिहान ठीक स्कूल लाग्ने बेलामा सबै गाउँवासी कुर्रेगन्ती स्कूलमा हाजिर हुनुहोला है…ई…। हाजिर नहुनेले जरिवाना तिर्नुपर्ने छ है….।
(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)