~क्षेत्र प्रताप अधिकारी~
धेरै ताराहरू थिए यौटा तारा खस्यो
त्यही यौटा तारासित मेरो सारा खस्यो ।
आकाशभरि तारैतारा
मेरै तारा किन खस्यो
त्यै खसेको तारासित
मेरो मुटु किन खस्यो
भन्द्यौ जुनेली
कैलेसम्म अँधेरीमा बसुँ यसरी !
धेरै छायाँहरू थिए यौटा छायाँ खस्यो
त्यही यौटा छायाँसित मेरो माया खस्यो ।
पाखाभरि घाम खस्यो
आँखाभरि छायाँ खस्यो
त्यै छायाँको ओझेलीमा
मेरो माया किन बस्यो
भन्द्यौ उजेली
कैलेसम्म अँधेरीमा बसुँ यसरी !
धेरै आँसुहरू थिए यौटा थोपा खस्यो
त्यही यौटा थोपासित मेरो हाँसो खस्यो ।
(स्रोत : रचना द्वैमासिक)