कथा : सङ्घर्ष

~हिरण्यकुमारी पाठक~hiranya-kumari-pathak

“हैन बाबू ! तिमीलाई त चिनेकै जस्तो लाग्छ । यस्तो बिरानो देशमा तिमी किन आएको ? तिमी त हाम्रै नेपाली हैन त ?”

“हो नि आण्टी हो । म नेपाली नै हो । मैले पनि तपाईंको एकदमै परिचित अनुहार हेर्दै छु ।”

“हैन तिम्रै घर कोपुण्डोल हैन । तिम्रो बुबा त ठुलै संस्थामा ठूलै पदमा हुनुहुन्छ हैन र ?”

“हो आण्टी हो । आण्टीलाई त सबै थाहा रहेछ । कोपुण्डोलमा हाम्रो दुई दुई ओटा घर छन् । बुबा मामी ठूलठूलै पदमा कार्यरत हुनुहुन्छ तर के गर्नु आफू विदेशिएँ ।” भन्दै हाँस्न थाल्यो तर उसको हाँसोमा रस थिएन माधुर्यता थिएन । यो वार्ता ऊसित अर्थात् सरोजसँग सिङ्गापुरको एउटा स-सानो रेष्टुरेण्टमा भएको हो । त्यति बेला हामी मित्रहरूसँग खाना खाने ठाउँ खोज्दै हिँडेका थियौँ । “नेपाली दाल भात यहाँ खान पाइन्छ” भनेर एउटा रेष्टुरेण्टको बोर्डमुनि लेखिएको रहेछ । हामी प्रफुल्लित हुँदै त्यसै ठाउँमा बसि हाल्यौँ । रेष्टुरेण्टको एउटा व्यायले मेनु ल्याएर दिँदा, हेर्छु त अग्लो, हाँसिलोपन अनुहारमा सिङ्गो सगरमाथा टल्के झैँ उज्ज्वल मुहार अनि सोधी हालेँ “भाई नेपाली हो ।” “हो हो” भन्दै भलाकुसारी सुरू भयो ।

“बाबु सरोज ! अनि तिमी यहाँ के गर्दै छौ त । यो रेष्टुरेण्टमा काम गरी बसेको हो त ?” “म त आण्टी, यहाँ पढ्न भनेर आएको । यहाँ आए पछि त कमाउनै पर्छ । आफ्नो खर्च आफैँ उठाउनुपर्छ । त्यसकारण बेलुका कलेजमा पढ्छु बिहानदेखि दिनभरी यसैमा काम गर्छु ।”

“हैन भाई ! तिमी त सम्पन्न परिवारको हैसियतवालाको छोरा पनि आफ्नै देशमा पढ्न के अप्ठ्यारो भयो र ? “हैन आण्टी हैन, कुरा अर्कै छ । म त एक्लो छोरा घरमा ममी-बुबा बाहेक अरू कोही छैन । अनि बस्न मन लागेन आएँ ।” “तिमीसँग कुरा गर्न मन छ भरे मेरो होटलमा आउन है, आज सन्डे बिदा नै होला हैन त आउ है ।” भन्दै म सरोजसँग बिदा भएँ । आफ्नो देशको युवा शक्ति देशमा नै बसी विद्या आर्जन गर्न सक्ने क्षमता भएता पनि विदेशिनुको कारण जान्न मन लाग्यो मलाई ।

बेलुका ठीक्क सात बजे सरोज र म होटलको लबीमा थियौँ । मैले नै बोलाएको हुँदा कुरा सुरू गरेँ । “बाबु किन तिमी यसरी बिरानीएको । ममी बुबालाई एक्लै पारेर” । एकैछिन अडेर सरोजले आफ्नो कथा सुरू गरे । सबैले मनन गर्नुपर्ने, सबैले आत्मसात गर्नुपर्ने भावनाहरूको पोको सरोजले मेरो सामु उघार्‍यो । सरोज भन्दै गए म एउटी आमा भएकीले मुटुमा गाँठो पार्दै सुन्दै गएँ ।

“म पनि त ममीहरूसँग बस्त रूचाउँछु नि आण्टी । राती भएपछि आफ्नो ममी-बुबाको सम्झनाले कति पिरोल्छ मलाई के बयान गरूँ । कति रात त म सुत्नै सकिन । झन चाडबाडको बेला त आफ्नै देशको रमाइला दिनहरूको सम्झनाले सताउँछ । चरा भएत भुरूरू उडेर आफ्नै घरको छतमा उडेर बस्थेँ होला तर सम्झना र कल्पना सँगसँगै सबै सबै दिन यसैगरी बिताइरहेछु ।” लामो सास फेर्दै सरोजले विगतका दिनहरू सम्झना थाले ।

“आण्टी ! म त सानैदेखि नै एक्लो । मलाइ होस भएदेखि नै ममीलाई दिनभरी आफूसँग भएको थाहा छैन । सानो बच्चामा मलाई स्याहार गर्ने दिदीले मलाई माया दिनुभयो । म उहाँ सँगसँगै खेल्दै ठूलो भएँ । पछि स्कुल जान थालेपछि पनि स्कुलबाट आउँदा ममी घरमा नहुने उनै दिदीसँग खाना खाइ होमवर्क गरी राती म सुति सकेपछि मात्र ममी-बुबा आउने । उहाँहरू कति बेला आउनुभयो मलाई थाहा नै हुँदैन । बिहान एकैछिन भेट हुने । त्यतिबेला ममी आफ्नै धुनमा कहिले फोन त कहिले घरको सामानसम्बन्धी दिदीलाई अराईपराईमा नै व्यस्त हुने । मसँग एकैछिन बसेर मायाको दुई शब्द बोल्ने र मेरो पढाइपट्ट िसोध्ने पनि उहाँहरूलाई फुर्सद थिएन अण्टी । अरू साथीहरूको ममी स्कुलमा नै लिन आउने र कति माया गर्दै गर्दै लाने तर म जैले पनि दिदीसँग मात्रै घर जानुपर्ने कस्तो वोर हुन्थ्यो मलाई । बिस्तारै बिस्तारै मलाई अरू साथीहरूको सामु अलि नमिठो, नराम्रो लाग्न थाल्यो । तर मैले आफ्नो यो भावनालाई ममी समक्ष प्रस्तुत गर्दा मलाई आज पनि त्यो दृश्य सम्झना छ अण्टी ममीले कस्तरी मलाई गाली गर्नुभयो र भन्नु भयो त्यस्तो कुरा पनि तिमी सोच्ने छोरा ! म जत्तिको कमाउने र समाजमा इज्जत भएको तिनीहरूको मम्मी छन् ? उनीहरू त घरमा बसिरहन्छन् काम केही छैन अनि स्कुलमा बच्चा लिन आउँछन तर तिम्रो ममीलाई त त्यस्तो कामको फुर्सत पनि छैन र लाज पनि लाग्छ दिदीलाई राखिहालेको छु नि तिम्रो हेरविचार गर्न । अबदेखि यस्तो कुरा नगर है । भन्दै ममी रिसाउँदै बाहिर जानुभयो । म त्यही नै उभिइरहें मनमा अनेक कुराले घोचिरहृयो । के मैले भन्न नपर्ने, चाहना गर्नुनपर्ने काम गरें त । मैले खै त आजसम्म ममीको माया पाएको । एकै छिन आफ्नो ममीको काखमा शिर राखी स्कुलका कति कुरा सुनाउने रहर गर्नु के मेरो अपराध थियो त ? त्यसपछि त ममी र मेरो वार्तालाप पनि कमै हुनथाल्यो । आवश्यक कुराभन्दा बढी म उहाँ समक्ष बस्दै बस्दिन थिए । यसतर्फ उहाँले पनि मलाई ध्यान दिनु भएन । साथीहरूको घरमा जाने क्रम पनि मेरो बढ्दै गयो आण्टी ! अनि त म कुन बाटो मलाई पनि थाहा छैन ।”

उसको मनमा ज्वारभाटा दन्किरहेको मैले प्रत्यक्ष नै देखें । समुद्रमा उर्लिरहेको लहर झैँ सम्झनाहरू उर्लिरहेको थियो । अनुहारमा पीडाको साथै आक्रोस पनि थियो । मैले उसको हात समाएँ । पिठ्यूँमा यसो हातले सुमसुमाएा । उसको आँखाबाट बरर आँसु झर्‍यो । एकै छिन मपट्ट िमायालु नेत्रले हेर्न थालेँ । म पनि त्य बिेला आफ्नो हृदयमा उठेको मायालु बेगलाई थाम्न सकिन र सरोजलाई अँगालोमा भित्र्याएँ छोराको सम्झनामा । एकैछिन उर्लिएको बेगलाई रोक्दै सरोज फेरि विगतका सम्झनामा पुगे, “अनि त आण्टी । मलाई ममीले मागे अनुसारको पैसा दिनुहुन्थ्यो । म आठ कक्षामा पुगीसकेको थिएँ । घरमा कति पढिस्, कता कुन बाटो लागिस् भन्ने हेर्ने फुर्सद कसैलाई थिएन । बिहान एकैछिन मात्र भेट हुन ममीबुबासँग । मसँग पैसा भएपनि साथीहरू पनि झुम्मिदै सरोज सरोज यार भनी भन्किरहन्थे । आफूलाई पनि शून्यपन यिनैसँग बिताउँदा रमाइलै लाग्दथ्यो । विस्तारै मलाई चुरोटको लत लाग्यो, अनि पछि त जीवन खोक्रो पार्ने ड्रगको बानी पनि साथीहरू बाटै लाग्यो । घरमा कसैलाई थाहा नै भएन बिहान ममीसँग पैसा माग्दा किन यत्तिको पैसा भनेर कहिले सोध्नु भएन राति घर फकेर आउँदा म सुतिसकेको हुन्थे । त्यसैकारण आण्टी म दुईपल्ट एस.एल.सी. मा फेल भएँ । ममीले मलाई नराम्रोसँग गाली मात्र हैन त्यस दिन त कुट्नु पनि भयो । त्यस दिनले मनमा जसरी भए पनि एस.एल.सी. पास गर्छु गर्छु भन्ने ठानेर पढाईमा बढी जोड दिएर राम्ररी पास गरि छाडे ।

मेरो पढाई र भविष्यको बारेमा न कहिले घरमा कुरा भयो न कुनै चासो नै लिएर मसँग यस विषयमा कुरा गर्नुभयो मेरो अभिभावकले । म त बिरानो एक्लै भएछु त्यस घरमा जहाँ मेरो जन्म भयो जुन घरको म कुलदिपक हुँ उसैको कदर भएन । म भित्रभित्र कुडिन थालें, छटपटाउन थालेँ, घरमा बस्नै मन लागेन । क्याम्पसमा भर्ना हुन जान पनि मन लागेन आण्टी । सबै साथीहरूका आमा बाबु साथमा गएर भर्ना गरिरहेछन् । मेरो नाम पहिलो लिष्टमा निस्के पनि म आफू एक्लै गएर जीवनको नौलो गोरेटोमा टेक्न जाँगरै चलेन । मन जहिले पनि आफ्नोको खोजीमा साथ पाउन खोजीरहेको थियो । मेरा त बाबु आमा त अति व्यस्त भई आफ्नो एक्लो सन्तानको बारेमा सोच्ने, भविष्य निर्माण गर्नेतर्फ फुर्सत नै निकाल्न नसक्ने कस्तो व्यस्तता हो त्यो म आफैँ छक्क छु । एकदिन दुबैको व्यस्तताको कारण बुझ्न मन लाग्यो र उहाँहरूको अफिसतिर लम्के ठीक ५ बजेपछि कता जाने रहेछन् भन्ने मनमा कुरीकुरी लाग्यो । एकैछिनमा मम्मीको अफिस सामु बुबाको मोटर आयो र दुवै जना गए कता । म पछि पछि टैक्सीमा लागेँ छक्क परें उहाँहरू एउटा ठूला होटलमा गएर बारतर्फ लाग्नुभयो । कस्तो व्यस्तता आफ्नो परिवार, घरकोभन्दा । त्यसदिनपछि मलाई वितृष्णा भयो घर परिवारसँग, आफ्नो भन्नुसँग । मलाई आण्टी ! एउटा साथीले सबै बुरा बुझेर मद्दत गर्‍यो । ऊ पनि सिंगापुरमा पढ्न कोशिसमा रहेछ र मलाई पनि कोशिसमा लगायो । दैवसंयोग दुवै जनाको कलेज एकै ठाउँमा मिल्यो । ऊ मेरो अभिन्नमित्र मात्र नभई मार्गदर्शक पनि भयो घरमा मेरो सिंगापुर जाने कुरा सुनेर एकै छिन त ममी छक्क पर्नुभयो तर तुरून्तै कति पैसा चाहिन्छ के के गर्नुपर्छ भन भनेर स्वीकृति दिइहाल्नु भयो । म टाढा डाँडा काटेर जान लागेकोमा उहाँहरूलाई केही पनि विस्मात भएन । मेरो मन पनि हलुको भयो । मेरो साथी र म यसरी यहाँ आएको झण्डै दुई वर्ष भयो ऊ त दुई फेर घर गइसक्यो त मलाई त जान मन छैन आण्टी !”

सरोज एकैछिन फेरि आफ्नै देशको सुखद परिवारभित्र रमाउन आतुर भए झैं न्याउरो अनुहारमा मलाई नैराश्यले भरिएको आँखाले हेरिरहृयो । मलाई सारै माया लाग्यो उसको । आमा भएर पनि आफ्नो छोराप्रतिको मोह, आकाङ्क्षालाई आत्मसात गर्न नसकेकी सरोजकी ममीप्रति दुःख लाग्यो । बाबु भएर छोराको मनोभावना बुझ्न समय नदएर सन्तानबाट अलगिएका अभिभावकप्रति अत्यन्त पीडा भयो मलाई पनि । अनि झट्ट सोधे, “सरोज बाबु ! अनि तिमीले ड्रगबाट मुक्ति पायौ त ?” “हो आण्टी यहाँ आएपछि आफै कमाएर जीव्न निर्वाह गर्नुपरेपछि मैले बडो सयंम साथत्यो कुलतलाई त्यागें । अब त मलाई घर जानु नै छैन । बाबु-ममीका जति सम्पत्ति भएपनि मलाई चाहिँदैन आण्टी ।”

आफ्नो कथा सुनाउँदा सुनाउँदै सरोजको आत्मबल बढेको अनुभव भयो मलाई । साथै उमेरदेखि एकाङ्की सङ्घर्षमय जीवनमा अल्झिंदा अल्झिंदै आज सरोज एउटा खारिएको अनुभवी विद्यार्थी भइसकेछन् । उनका उज्ज्वल भविष्यको कामना गर्दै हामी छुट्टियौं ।

(स्रोत : फागुन १४, २०६७ शनिबार, गोरखापत्र)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.