~विमल निभा~
यो मेरो पिठ्यूँ हो
तर केही क्षणपश्चात्
मलाई लाग्छ
यो मेरो होइन
कुनै अर्कैको पिठ्यूँ हो
जो निहुरिएको छ धुलामा एकनासले
आगोको प्रचण्ड रापछेउ खडा छ
भास्सिएको छ हिलोमा सर्वाङ्ग
र खनिरहेछ बाटो
रोपिरहेछ धान
फोरिरहेछ चट्टान
म हेरिरहेछु यहाँबाट
नाङ्गै छ उसको पिठ्यूँ
जहाँबाट ठोक्किएर बेस्सरी
चम्किरहेछ बिजुली
गर्जिरहेछ बादल
र भइरहेछ बर्सात
अथवा यो त्यसको पिठ्यूँ हो
जो हराएको छ इतिहासको गह्वरमा
र थकानले क्लान्त
लामो लामो सास फेरिरहेछ वर्तमानमा
त्यहाँ हेर गहिरिएर
कोरिएका छन् असङ्ख्य आकृतिहरु
जय र पराजयको
समय र सङ्घर्षको
अन्धकार र प्रकाशको
यन्त्रणा र जागृतिको
भोक र साहसको
निराशा र प्रयत्नको
मलाई त्यो मेरै अनुहार भएको
कुनै परिचितको पिठ्यूँजस्तो लाग्छ
जो भविष्यको द्वार खोल्न तम्तयार छ
अथवा यो त्यसको पिठ्यूँ हुनसक्छ
जो आफ्नो आयुको नाङ्लामा
निफनिरहेछ सृष्टिको आरम्भदेखि
दुःख, प्रेम, करुणा,
निद्रा, छाया, अनुभव,
मातृत्व, सहनशक्ति, उष्मा,
स्वप्न, सोच, रङ्ग,
स्मृति, इच्छा, सौन्दर्य,
साहस, उमेद, गति इत्यादि
जहाँबाट जन्मन्छ सभ्यता
र फैलन्छ चारैतिर
समुद्र, पहाड र मैदानमा
एसिया, युरोप र अफ्रिकामा
अथवा जहाँ जहाँ समयको
चपल पाइलाको छाप छ
अथवा यो त्यसको पो पिठ्यूँ हो कि
जो गर्दछ पिठ्यूँकै कारोबार
कमाउँदछ मुनाफा
र पिठ्यूँहीन पार्न खोज्छ समाजलाई
उसको पिठ्यूँ छोपिएको छ मखमलले
सुन–चाँदीको मोलम्बा लगाइएको छ
र जडिएको छ महँगो पत्थरले
जहाँ घाम पर्न सक्दैन
हावा छिर्न सक्दैन
त्यो मेरो पिठ्यूँ होइन
कदापि मेरो पिठ्यूँ होइन
त्यो हाम्रो पिठ्यूँ हुनैसक्दैन
पृथ्वीको भार महसूस गरिरहेछु
म आफ्नो पिठ्यूँमा
(२०५३)