कविता : तीजको कोशेली

~विशाल दर्लामी~

प्रिय जीवन साथी
धेरै धेरै माया ¤
गाउँघरमा यति बेला
तीजको चहलपहल
चलिरहेको होला
वरपरका दिदीबहिनीहरु
कस्तो गहना किन्ने
कस्तो साडी किन्ने
वा, तीजनमा कसरी सजिने
छलफलमा व्यस्त छन् होला
यस्तो खालको छलफलले
तिमीलाई पनि छोएको होला
तर, तिमीलाई राम्रोसँग
जानकारी हुनुपर्छ
ती चुरा, पोते अनि गहनाहरु
महिलाहरुलाई दबाउने
सामन्ती संस्कार मात्र हुन्
त्यसैले
ती भड्कावहरुले तिमीलाई
कत्ति पनि विचलित
र प्रभाव पार्ने छैनन्
मलाई विश्वास छ,
ती भड्किला फेसनमा सजिएका
महिलाहरुको बीचमा
तिमी पुरानै चोली र फरियामा
टक्क उभिएर
नयाँ युगको नयाँ सन्देश दिने छौ
ती भड्किला फेसनका विरुद्ध
सामाजिक कुरिति र कुसंस्कारका विरुद्ध
महिलामाथि हुने सामाजिक विभेदका विरुद्ध
सबै खाले अन्याय र अत्याचारका विरुद्ध
महिला दिदी बहिनीहरुलाई
सजग र संगठित गर्दै
तिजी भाकामा तिमीले
आव्हान गर्नेछौं
महिला मुक्ति आन्दोलनमा
एक जुट हुन
गोलबन्द हुन
हो, त्यतिबेला
चिन्नेछन् उनीहरुले
वस्तविक गहनाहरू,
हो प्रिय
तिनै विचारका भावनाहरु नै
मैले तिमीलाई दिंदै आएका
गहना र कोशेली हुन्
यो तिजमा पनि तिमीलाई
तिनै विचारका गहनाहरू समर्पित गर्दछु
लगाएर सजिनु ।।

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३८ – २०६८ श्रावण ३२ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.