~कमल कुमार~
थानकोटमाथिको तामाङ बस्तीबाट
एकाविहानै
सम्झना दिदी
मुल सडकतिर फटाफट झरिरहँदा
आमाको सुकेको छाती
अघाउन्जेल चुस्न नपाएको
काखे छोरोको अतृप्त रुवाइ
बाक्लो हुस्सुबीच पातलिँदै जान्छ,
पर सडकमा
अलिअलि घाम पोखिन्छ
देखिन्छन् नौला मान्छेहरु
टायर बलेर निस्केको धुँवाको मुस्लो,
रङ्गीन झन्डाहरु
र प्रायोजित नाराको समिश्रणमा
मनमनै अर्थ खोज्दै
सम्झना दिदी छोरोको सम्झना बोकेर
एकनाश चालिरहन्छिन् पाइलाहरु ।
२ घन्टा १७ मिनेट
लगातार हिँडेपछि
नारायणचौरको साहुको अफिसको
चिसो सिँढीमा थचक्क बस्छिन् सम्झना दिदी
कापकापबाट निस्केका ताता पसीना
सेलाउँछन् बिस्तारै
चिस्याउँछन् भित्रैदेखि सम्झना दिदीलाई
शीतको थोपा सरी
घरैघरैको जंगलपारि
उठेका धुवाँका काला मुस्ला हेर्दै
बेलाबेलामा सुनिने गस्तिका साइरनसँग झस्किँदै
सम्झना दिदी दिनभरि उमालिरहन्छिन्
फिक्का चिया
र छोरोको सम्झना ।
सम्झना दिदी
फटाफट पाइला चाल्छिन्
नेपाल बन्दको साँझ
उनलाई थानकोटमाथि पुग्नुछ हिँडेर
चुक पोखिएका अँध्यारा सडकमा
जँड्याहा,
फटाहा,
लुटेरा,
भुस्याहा कुकुर
र प्रहरीबाट
जोगाउनुछ सम्झना दिदीले आफूलाई
२ घन्टा १७ मिनेट हिँडेर
पुग्नुछ थानकोट
र चुसाउनुछ अतृप्त छोरोलाई
सुकेका छाती ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)