~मनोज बोगटी~
मलाई तिम्रो कुवा मनपर्यो
तिमीले त्यहॉंबाट कराइरहेको पनि मन पर्यो।
मैले मन पराएर तिम्रो कुवा संसार हुँदैन
के गर्छौ
मैले मन पराएर तिम्रो कुवा जीवन हुँदैन।
तिम्रो स्वर पनि राम्रो छ
संगीत पनि राम्रो छ
लय पनि राम्रो छ।
सप्पै राम्रो छ
के गर्छौ
सुन्ने स्पेस फराकिलो छैन
कुवाको भित्ता छेड़्दैन।
तिमी त्यहीँ बसेर फुल्लिनू
र त्यहीँ फुट्नू।
तर याद राख तिमी फुट्दा निस्कने आवाज
कुवा बाहिर उछिटिनेछ
त्यो आवाजले सुनाउने छ सबैलाई
कुवाको मर्म र मृत्यु।
के गर्छौ
त्यतिबेला तिमी नै हुनेछैनौं।
भ्यागुतालाई भन्ने कुरा यो भन्दा ठूलो हुँदैन।
कुवाभित्र पसेर नहेरेको भए
मैले यो अक्षर पाउने थिइनॅं
यो साहस पाउने थिइनॅं।
कुवाबाहिर ननिस्किएको भए
कुवा निर्माता चिन्ने थिइनॅं।
कुवा नायक चिन्ने थिइनॅं।
त्यो सर्जकलाई चिन्ने थिइनॅं
जसले लेख्यो तिम्रो निधारमा
उचाल्नै नसक्ने दुर्भाग्य।
र भोग्न पाउने थिइनॅं
जीवनको यो जटिल अर्थ।
कुवा, भ्यागुता र मबीचको नाता
अब त ठम्याइसक्नु भो की?