कविता : त्यस्तो बाटो

~गोविन्दप्रसाद आचार्य~

मेरो न्यानो किरण रविको हुन्न, कहिल्यै पुरानो
मायाँ मेरो अमर जगमा हुन्न कैलै विरानो
सोचेजस्तो भर्खर कहाँ जान्छ यो अन्धकार
आऊ नौला गर र भर लौ दिव्य आशा नमार

ताते गर्ने ठम्–ठम् हिँड्न ठेस काहीँ नलागोस्
गर्ने भर्ने रहर हरियो शित पापी नमारोस्
जस्तै आउन रूप प्रलयका फु–फुकी फाल्नुपर्छ
फाल्नैलाई यदि मन भए जिन्दगी गाल्नु पर्छ

ओठे कोठे लहडी लयमा क्रान्तिको हुन्न बाठो
जाने हुन्थ्यो लहडी बबुरा क्रान्तिले भिज्छ माटो
कोठालाई जगत कथियो क्रान्तिको रङशाला
सोचै कच्चा नदुरपथका धर्तीले रक्त खाला

यो माटोका कण–कण सबै रक्तले गल्नुपर्छ
अग्ला–अग्ला भवन जग यी रक्तले गल्नुपर्छ
हारेका जो लहडी बबुरा क्रान्तिको सूर्य हेर
सोचेजस्तो न त सफलता गैगयो रक्त खेर

पर्खेका छन् विकट पहरा बन्न मैदानलाई
मागेका छन् शितलहरमा देऊ न न्यानो मलाई
देखेका छन् समय घटना रच्नलाई घटेका
हारेजस्तै ऋतु शरदका फूल सुक्दै झरेका

लेखेका छन् जन हृदयमा रक्तका प्रेम बोली
आयो आयो दुःख दूर ग¥यो आज बन्दैछ भोलि
जाँदैछन् कि जगत सपना पातजस्तै सुकेर
जाँदैछन् कि धन र पदमा बाँसजस्तै नुगेर

नौलो क्रान्ति नरम नबनोस् सर्पले डस्न सक्छ
सम्झौताको शरण नपरोस् हात्तीले मार्न सक्छ
जस्तै धोएपनि रगतको जान्न टाटो हटेर
बाधा बैरी गर दमनका जान्न मायाँ घटेर

हाँसेका छन् फगत असिना क्रान्ति पोल्छ गल्छ,
हारेकाका हविगत रूँदै क्रान्तिका ज्वार उठ्छन्
तानाबाना छलकपटका हारका धुन रच्ने
स्वाँगी ढोँगी असफल मति खास मर्दछ बन्ने

खोल्दै बाटो हर समयमा क्रान्तिले लड्छ–बढ्छ
मौकावादी महतिर पसे मौरीले टोक्छ–टोक्छ
ढोकालाई कति दिन सुखी क्रान्तिले तान्छ–हान्छ
जाने हुन्थ्यो अधम मतिले क्रान्ति जो हुन्छ–हुन्छ ।

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ४ – Nov. 30, 2011 – २०६८ मंसिर १४ गते, मंगलवार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.