~केदार वाशिष्ठ~
बनेका छौ
यस्तो उन्मत्त
मानौँ कि
डामेर छाडेका हुन्
तिमीलाई
कसैका बा आमाका नाममा ।
हुन्छन्
सबै खेलका
नियमहरु
सिक तिनीहरुलाई
आत्मसात गर्न
अनि छाड
ग्वाँ गर्दा
विपक्षमाथि
जाइलाग्न ।
नत्र
सिक्नेछन्
तिम्रो मिचाईमा परेका
बाछाहरुले
तिमीले होक्राँ गर्दै
पुच्छर ठाडो पारेर
अरुले खाने
हरियो घाँसमा
खुट्टाले खोस्रँदै
तुर्र तुर्र पार्न ।
पाउनेछैनौ तिमीले पनि
पोटाउन लागेको
धानखेतमा
खानुभन्दा पनि
रैदलो गर्न
किनिक
नियोजनमा परेका
तिम्रा सहधर्मीहरु
सक्ने छैनन्
दिन उर्बरता
धरालाई
हलो जोतेर
त्यसैले
नतुल्याऊ
विकृत
तिनले दाँत रगडेर
पेट भर्ने घाँसे
मैदान ।
तिम्रो प्रत्येक
डुँकारमा
तिनैका काँधमा
मरेको छालाको
भिटामिनको गन्ध
आएको हुन्छ ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)