~विजय महर्जन ‘श्रीजय’~
अध्याय एक
काले आज निदाउन सकिरहेको छैन। निदाओस् पनि कसरी, भोलि डोजर बाटो खन्दै तल्लो गाउँमा आइपुग्ने हल्ला छ। काले ओछ्यानमा उत्तानो पल्टियो अनि ध्वाँसोले आफ्नै अनुहार भन्दा पनि कालो बनाइदिएको दलिनतिर टोलाएर सोच्न थाल्यो,”भोलि त उठ्ने बित्तिकै डोजर हेर्न जान पर्छ बाबै पल्लो न्यार गाम्मा। झन् भोलि त शनिबार, क्या मज्जा!” हुन त काले आज दिउँसो नै स्कुलबाट भागेर साथीहरुसँग झन्डै एक कोश टाढाको बाटो डोजर हेर्न गएको थियो। “आम्मै! घराँ था’पा भे मार्थे।” कालेले ङ्याक्क पारेर जिब्रो टोक्यो। उसले त्यति ठूलो र रमाइलो चिज कहिल्यै देखेको थिएन। काले फेरी घोप्टियो ओछ्यानतिर, सिरानीमुनि टाउको जोत्यो अनी कल्पना गर्न थाल्यो। कालेको घर भएको कामीडाँडामा पनि डोजरले बाटो खन्दिएको रे, कालेका बाउले उसलाई सानो साइकिल किनिदिएका रे, अनी नयाँ लुगा लगाएर कालेले ओरलोमा गटट साइकिल कुदाउँदा ह्यान्डिलमा बाँधिएको रङ्गी-चङ्गी ध्वजा फर्फराएको रे, पछि पछि कालेका साथीहरु “ए काले! हाम्लाई नि एक्फेर चढ्न दे न” भन्दै दगुरेका रे। यस्तै सोच्दासोच्दै काले कतिबेला निदायो थाहा नै भएन।
“थुइक्क मुर्दार! अइले स’अ ओछ्याना रै’च, ह्वाँ सुङ्गुर भोकै छ, त उठ्चस् कि यै कुच्चोले हानम् तँलाई?” एक्कासी आमा च्याँट्ठिएको सुनेर झसँग भयो काले। तर अझै अल्छी गरेर नसुनेको झै गर्दै थियो। आमाले कानको जरा उख्लने गरेर जुरुक्क उचालिन्, “जा खुरुक्क कुँडो बनाउन।” उतापट्टी कालेको तीन वर्षकी बहिनी पुन्टी “आमै!!!” भनेर रुन थालेको सुनेर आमा गइन्। काले उठेर बाहिर लाग्यो। आँगनमा घाम लागिसकेको थियो। बाहिरको अगेनामा फू फू गर्दै आगो सल्काएर सकी नसकी खड्कुलो बसाल्यो। आँगनको डिलतिर गयो अनी तिनिक्क तन्किएर तल्लो गाउँतिर केही देखिन्छ कि भनेर आँखा च्यात्यो। बाटोमा माथितिर उक्लिदै गरेको जुठे काकालाई देखेर टाठो भयो काले। “ए काका! डोजर काँ’स’अ आयो?” टाढैबाट चिच्यायो अनी एकैचोटि उसको नजर काकाको हातमा तुर्लुङ्ग झुन्डिएको प्लास्टिकको झोलाको पोकोमा पनि पर्यो। “खै मलाई के था, इ म त मासु लेर आ, आज त मासु खानि हो।” झोला माथि उचाल्दै जुठे काका ङिच्च हाँसे, काकाले लगाएका पुरानो फाटेको ढाकाको टोपी पनि हाँसिरहेको थियो। काले मुख अमिलो बनाउदै फर्कियो। कुँडोलाई काठको लाम्चो अनी खाल्डो भएको आफुभन्दा जेठो भाँडोमा खन्याएर सुङ्गुरलाई दियो। कहिले काही कालेलाई आफू भन्दा त्यो सुङ्गुर बढी भाग्यमानी लाग्थ्यो, बसी बसी उसले बनाएको कुँडो मुख बजाउदै सुरुप्प सुरुप्प पारेको देख्दा।
“हैन ए कालको जुठो! त अझै याँ टोला’र बसी रा’चस्।”, पधेँरोबाट ल्याएको गाग्री पिढिमा राखेर फरिया सार्दै आइन् आमा। कालेलाई गाली गर्ने बेलामा नराम्रो भन्दा पनि नराम्रो शब्द छानी छानी हिर्काउनु भनेको कालेकी आमाको विशेषता हो। “जा एक खेप पानी ल्या” स्वर अली नरम पार्दै भनिन्,”मलाई भात बसाल्न ढिलो भो, पुन्टीलाई नि सन्चो छैन, तेरा बाउ नि एस्बेला स’अ नि आइपुगेनन्।” कालेका बाउ हिजै सर-सामान किन्न बजार पसेका थिए र आज आइपुग्ने कुरो थियो। “जान्न!” कुम उचाल्दै रुन्चे मुख बनायो। कालेले आमाको नरम स्वरको फाईदा उठाउन यसो गरेको थियो। “जा बा जा! म नय्याँ प्याट सिलाउन लाइदिन्छु बाउलाई भनेर।”, आमाले लोभ्याउन खोजिन्। कालेले लगाइराखेको कट्टु टाङ मुन्तिर उध्रिएको थियो। हुन त कालेलाई सजिलै भएको थियो, सु सु गर्नु पर्यो भने टुसुक्क बसेर सुलुल्ल छोडिदीन्थ्यो, खोलिरहनु पर्ने झन्झट पनि भएन। “हैन, मलाई त जिन्को प्याट चाइन्छ यस्पाली, भन्द्या छु।” कालेले भाउ अली बढायो।
कालेको घरदेखी पश्चिम-दक्षिणतर्फ पर्छ पँधेरो। जर्किन बोकेर फिलिली कुद्यो। बिस्तारै हिंडेको बेला चाँही घुँडाले जर्किनलाई ठ्याङ ठ्याङ हिर्काउदै हिड्न रमाइलो लाग्छ कालेलाई। “मरेस्! बल्ल बल्ल पानी थापेर ल्याएको, छोइदियो यो डाङ्ग्राले, आँखा हेरेर हिंड्नु पर्दैन बजिया?” पँधेरो पुग्ने बित्तिकै खरदार्नी आमैको स्वाद चाख्यो कालेले। “खै बज्यै, सुन्पानी हाल्दिनुस् त।” गाग्रिको पानी भुँइमा खोत्याएर खरदार्नी आमा कराइन्। काले चाँही छेउतिर नै पार्किङ गरेर बस्यो, सबैको पालो सकिएपछि आउने आफ्नो पालो कुरेर। हलो काँधमा बोकेर खेत जाँदै थिए सुकेदाइ, गोरुहरुलाई पानी खुवाउन पधेँरो छिरे। गोरुले लात्ती हान्ला भनेर काले पर भाग्यो। सुकेदाइले पानी खाँदा सुकेको घाँटिमा रुद्रघन्टी तल माथि सरेको देखिन्थ्यो अनी ‘कलक्क कलक्क’ आवाज पनि आउथ्यो। कालेले रमाइलोसँग हेर्यो।
जिउ देब्रेतिर ढल्काएर दाहिने हातमा गर्हुँगो जर्किन बोकेर काले घरनिर आइपुगेको थियो, जिरे र सिन्के ओरालो झर्दै गरेको देख्यो। “काले, हामी त डोजर हेर्न गएम् है, त नि छिटो आइजा।” जिरेले नाके स्वरमा भन्यो। एक हातले कट्टु अनी एक हातले जर्किन समातेर “ल ल” भन्दै काले घरभित्र लम्कियो। चुल्हा भित्र छिर्यो। चुल्हा पुरै धुँवाले रङ्गमङ्गिएको छ। दाउरा ओसिएर ढिलो भएकोले कालेकी आमा दाउरालाई सराप्तै थिइन्। आत्तुरी भएको बेलामा झन भात पाक्न ढिलो भएको देखेर कालेलाई छट्पटी भयो। एक मन त भात नै नखाइ दौडिन मन लागेको थियो तर आमाको डरले सोध्यो “आमा! म डोजर हेर्न जाम्?” “अब एक्छिन् पख् न, भात पाक्न लागो। पुन्टी निस्लोट छे, भुत्ले तर्सा पो हो कि, न बोक्सी पो लागो कि, म हेराउन लैजान्छु आज, म ढोका’आ साँचो ला’र जान्छु।” आमाले यसो भन्ने बित्तिकै काले एक्कासी आमाको कोठातिर दौडियो। पुन्टी सुतिरहेकी थिइ, हातमा आफ्नो टालोको पुतली समातेर। काले बिस्तारै सिरानीपट्टी गयो अनी पुन्टीको निधारमा हात राख्यो। निधार तातो थियो। पुन्टीले आँखा उघारी। “पुन्टी! ऐय्या भयो?” अरुबेला सधैं झगडा गर्न आउने कालेले यस्तो भनेको सुनेर हो कि किन हो पुन्टीले अनुहार न्याउरो पारेर आँखाबाट पिल पिल आँसु खसाली। कालेलाई झन नरमाइलो लाग्यो। अनी सोच्यो “हाम्रो पुन्टीलाई बिरामी बनाउने भुतलाई भेटे मैले जान्या थे।”
मूल ढोकामा साँचो लगाएर, पुन्टीलाई काखिमा बोकेर चप्पल पट्यास पट्यास पड्काउदै हिडिन् कालेकी आमा। काले पनि नाङ्गै खुट्टा “म नि आँउछु आमै!” भन्दै फुत्रु फुत्रु उफ्रदै पछी लाग्यो। “ऐया!” एक्कासी काले करायो। कालेको दाहिने खुट्टोको बुढीऔंला ढुङ्गामा ढेस लागेछ। रगत नै आयो। “मरेस!” कालेकी आमाले दारा किट्तै धारे हात लगाइन्। कालेले थुचुक्क बसेर घाउमा माटोको पाउडर छर्कियो। घर बन्द गरेर बाहिर निस्कदा कालेकी आमा ‘माथ्लो घर’अर्थात कालेको ठुलो बाउको घरमा साँचो छोड्थिन्। माथ्लो घर पुग्दा ठुली आमा पिंढीमा बसेर मकै छोडाउदै थिइन्। ठुलो बाउको घरमा पालेको पट्टु “काले! काले!!” भन्दै पिंजडाभित्र यता उती चल्न थाल्यो। “हैन ए कान्छी के भो? कता हिनेकी?” ठुली आमाले सोधिन्। “हेर्नु न, यो पुन्टीलाई रात्भरी जोरो आ’र, रोको रोइ छे। म हेरा’र आँउछु , कालेका बाउ आए भने यो साँचो दिनुस् है।” कालेकी आमाले यो कुरा सुनाउँदा, ठुली आमा “च्व च्व च्व बिचरी!” भन्दै थिइन्।
फट्टा फट हिड्यो भने पनि आइमाइ मान्छेलाई दुई घण्टा लाग्थ्यो कट्टेल गाउँ पुग्न। हरिहर कट्टेल नाम कहलिएका झारफुके डाक्टर थिए। उनी तेइस बर्षको छदै राती सपनामा भगवान आएर झारफुक गर्ने शक्ती पाएका रे। घाम चर्किएको थियो। बाटोमा पर्ने चौताराहरुमा बिश्राम लिदै उनिहरु कट्टेल गाउँ पुगे। लामो खुइया काढेर, पछ्यौराले पसिना पुछ्तै, “कट्टेल बाजे!!!” भनेर कालेकी आमा तगारो बाहिरबाट नै चिच्याइन्। कट्टेल्नी बज्यै बाहिर आइन्। “बाजे त खेत हेर्न गाका छन्, एक्छिन्’आ आउछन्” आँगनमा पुगेर बज्यैले भनिन्,”लौ याँ शित्तल’आ बस।” अनी सबैलाई एक एक गिलास चिसो मही लिएर आइन्। बारीमा सुन्तलाको बोटमा राताम्मे सुन्तला पाकेको देखेर कालेको मन पनि सुन्तला जस्तै रसिलो भएर आयो। बाजे छिटो आइपुग्ने छाँट देखिएन, कालेकी आमा र बज्यै भलाकुसारी गर्न थाले। धेरै सुन्तला नबिगार्ने शर्तमा कालेले बोटमा चढ्ने अनुमती पायो। कालेलाई के चहियो र, बोटमा चढ्न त खप्पिस छदै थियो।
बाजेको अगाडि पुन्टीलाई थपक्क राखेर, पटुकीमा जतनले पट्याएर राखेको पचासको नोट झिकिन् कालेकी आमाले। पचास या सयको नोट या त दशैमा नभए एकदम आपद परेको बेलामा मात्र खर्च गर्थिन्। कट्टेल बाजे आँखा चिम्लिएर छिटो छिटो बर्बराउन थाले, कालेले कान ठाडो पार्यो तर केही बुझेन। बिच बिचमा उनी कुचोलाई खरानीमा झोसेर पुन्टीको अनुहारमा कुचोले छोएर लामो “फू” गर्थे। कालेले कहिले पुन्टीको अनुहार त कहिले बाजेको अनुहार हेर्दै बस्यो। अन्तिममा बाजेले “चट्!” भनेर आँखा खोल्दै अब पुन्टीलाई निको हुने घोषणा गरे।
झमक्कै साँझ परिसकेको थियो घर फर्कदा। कालेका बा आज पनि नफर्केको समाचारले कालेकी आमाको मन दुई गुणा गर्हुङ्गो भएको थियो। टुकी बालेर कालेकी आमा चुल्हामा आगो सल्काउन पट्टी लागिन् ; काले चाँही पुन्टीलाई फकाउन थाल्यो। कालेकी आमाले कालेलाई बिहानको भात तताएर दिइन्, अनी पुन्टीलाई जाउलो बनाएर खुवाइन्। आफू केही पनि खाइनन्। बल्ल बल्ल पुन्टी निदाइ। रूँदा-रूँदा पुन्टीको गालाभरी आँसुको टाटा बसेको थियो। आज कालेलाई आमासँगै सुत्ने मौका मिलेको छ। पुन्टी जन्मिएदेखि प्रायः कालेले आमासँग सुत्ने मौका पाएको छैन। कालेकी आमाले ओछ्यानमा पल्टिएर टुकी निभाइन्। यही अवसर पारेर कालेले बिस्तारै भन्यो, “आमा! औटा कथा भन न।”
अध्याय दुई
‘टिनिनिनि—-” छुट्टीको घन्टी बज्यो। केटाकेटीहरु हुरुरु कक्षा बाहिर निस्किए। आज स्कुलको अन्तिम दिन, भोलीबाट एक महीनाको गृष्मकालिन छुट्टी छ। कालेलाई झ्यालखानाबाट कैदी छुटेको जस्तो भएको छ। सबैले हेप्ने भएकोले कालेलाई स्कुल मनपर्दैन। स्कुलमा कालेलाई मनपर्ने तीन-चार जना साथीहरु मध्य बिकलले कालेलाई सबभन्दा बढी माया गर्छ। बिकल सधैं सफा लुगा र जुत्ता लगाएर स्कुल आउँछ। आघौ देखी बिकलको बुवाले उसलाई काठमाडौं पढाउन लैजाने रे। “ला काले!” बिकलले स्कुल बाहिर दुइवटा बरफ किने, सेता खुवावाला, अनी कालेतिर एउटा हात बढाए। कालेलाई अप्ठेरो महसुस भयो। बिकलले सधैं आफ्नो खाजा खुवाउथ्यो, कहिले बरफ त कहिले चट्पट किनेर खुवाउथ्यो। कालेले बिकललाई केही दिन सकेको थिएन। बरु खुवा नभएको सस्तो बरफ किनिदिएको भए पनि हुन्थ्यो जस्तो लाग्यो कालेलाई।
बाटोमा बिकलको घर आइपुग्यो। “आउँदै गर् है काले” भनेर बिकल भित्र छिर्यो; बिकलको आमाले सँगै हिंडेको देख्ला भनेर काले छिटो छिटो अगाडि बढ्यो। उकालोमा चौतारीनिर पुग्दा केटाकेटीहरु “नमस्ते! नमस्ते!!” भन्दै एउटा पर्यटकको जमातलाई पछ्याउँदै थिए। अग्ला अग्ला शरीर, बलिया बलिया छालाका गम्बुट, गोरा गोरा छाला, मख-मख बासना आउने सुगन्ध अनी ठुला ठुला झोला बोकेका ‘अम्रीकाने’हरु पनि “नमस्टे! नमस्टे!!” भन्दै थिए। पर्यटकहरु हिमाली भेगतिर उक्लदा यही बाटो भएर जान्छन्। काले सबभन्दा अगाडि पुग्यो अनी “नमस्ते! माइ नेम इज काले” भनेर प्रतिभा देखायो। एउटा दयालु पर्यटकले खुशी भएर कालेलाई कलम उपहार दियो। काले मख्ख पर्दै पुरस्कार जितेको जसरी घरतिर लाग्यो, अरु केटाकेटी आफू पनि केही पाउने आसमा पछी लाग्दै थिए।
घर जाँदा जाँदै पानीको छिटा हान्न थाल्यो। हुरी पनि चल्न थाल्यो। कालेले हातमा बोकिराखेको किताबको ठेलीलाइ जोगाउनको लागि पछाडि शर्ट भित्र घुसार्यो अनी कुलेलाम ठोक्यो। धन्न पानीले त्यती चुट्न पाएन। पानी पर्यो कि कालेकी आमालाई भ्याइ नभ्याइ हुन्थ्यो। घरभित्र दलिनबाट पनि पानी चुहिने, भुँइबाट पनि पानी रसाउने। पानी दर्कियो भने त घरभित्र भल नै बग्थ्यो। कालेका बा प्राय घरमा हुँदैनथे। उनको काम थियो अरुको भाँडाकुँडा टाल टुल पार्ने, काट्ने हतियारहरुमा धार लगाउने अनी कसैले ‘अर्डर’ गरेको छ भने घरमा नै बसेर नँया केही बनाइदिने। अङ्रेजिमा भन्ने हो भने त्यो ठाउँको सानो तिनो ‘मेकानिकल ईन्जिनियर’ भनौ न। ईन्जिनियर साप् राती घर फर्कने बेला सधैं रक्सिले टिल्ल। आकाश जोडले गर्जियो, उज्यालोको एक झिल्का कालेको अनुहारमा पनि पर्यो अनी कालेले आँफैसँग साउती मार्यो, “उ! भगवानले फोटो खिच्यो।”
कालेको कोठा र आमाको कोठालाई काठको बार लगाएर छुट्ट्याइएको छ। कालेको एउटा सोख छ, बाटोमा भेटिएका र अनौठो लागेका सामानहरु कोठामा लिएर आउने र कुटको बाकस भित्र हाल्ने। त्यसभित्र चुम्बक, नौलो किसिमको तर प्रयोग भईसकेको ब्याट्री, एउटा सानो गुच्चा राख्ने बट्टा, गुलेली, चङ्गाको लट्टाइ,फूटबलको ब्लाडर आदी छन्। कालेलाई कहिले काही कालिमाटी मुछेर खेलौना पनि बनाउन मनपर्छ तर कालीमाटी जहाँ तही पाइँदैन, टाढा जानुपर्छ। झ्यालनिर उसले बनएका हात्ती, बुद्ध, चुरोटको ठुटो राख्ने खरानीदानी, कार आदी छन्। कालेले आज पाएको कलम उपहारलाई जतनका साथ कोठामा राख्यो। आज काले बाहिर निस्कन पाउने छेक छन्द छैन। ढोकानिर अढेस लगाएर बुढी औंला चुसेर उभिरहेकी पुन्टिलाई देख्यो उसले। फुलबुट्टे जामा लगाएकी, कपाल दुई चुल्ठी बाटेकी अनी आँखामा गाजल लगाएकी पुन्टी आज पुतली जस्तै देखिएकी छे। काले आफ्नै कुट बाकस मिलाउदै थियो, पुन्टी आएर थपक्क काखमा बसी।
साँझ झमक्क परिसकेको छ। काले पुन्टीसँग खेल्दै छ। बाहिर भ्यागुताको टर्टर आवाज अनी बेला बेलामा कुकुर भुकेको आवाज सुनिन्छ। “काले!” भनेर अस्ती बाटोमा कसले बोलाएछ भनी हेर्दा त, एकजनाले आफ्नो कुकुरलाई पो बोलाएका रहेछन्। यो कुरा सम्झिएर कालेले हाँसो थाम्न सकेन। अनी सुरु हुन्छ, पुन्टीको बालसुलभ प्रश्न लहरी, तोते बोलिमा। कहिले काँही त काले आँफै बनाएर उत्तर दिने गर्छ। कहिले ढाँडमा बोकेर त कहिले काउकुती लगाएर काले मनोरन्जन दिन्छ। टुकिको उज्यालोमा औंलाहरुको विभिन्न आकार बनाएर भित्तामा छाँया देखाउँछ। किताबमा पढेका अनी आमाले सुनाएका दन्त्य कथाहरु सुनाउँछ। पुन्टी कहिले उत्तेजित हुँदै खित्का छोड्छे, कहिले दुखी भएर न्याउरी हुन्छे त कहिले “अबुइ!” भन्दै टाँसिन आउँछे। त्यो साँझ पनि कालेका बा लर्बराउदै आइपुगे, अनी त्यो साँझ पनि कालेका बा आमा झगडा गरे। कालेलाई मनपर्ने समय ओछ्यानभित्र छिरे पछी सुरु हुन्छ। त्यो रात पनि काले घण्टौसम्म कल्पिन थाल्यो। ठुलो भए पछी कालेले निकै पैसा कमाएको रे, ठुलो बङ्गला बनाएको रे, बङ्गलासँगै ठुलो बगैंचा रे, गाडी पनि रे, आमा, बा, पुन्टी सबैले राम्रो राम्रो लुगा लगाएका रे, अनी बिकल आफ्न बा-आमा सँग कालेको घर आएका रे, यस्तै यस्तै।
बिहानको भात खाने बित्तिकै काले गुलेली बोकेर टाप कस्यो। आज चरा शिकार गर्ने दाउ छ। सिन्के पनि भात बजाइवरी बाहिर आँगनमा चुठ्न निस्किएको रहेछ, कालेलाई देख्ने बित्तिकै चिसै हात दौडियो। कालेले शिकार गर्न जाने प्रस्ताव राख्नु भन्दा अगाडी नै सिन्केले नाक नै थुनेर बोलेको जस्तो आवाजमा भन्यो,”काले आज आँप् टिप्न गैरीभन्ज्याङ जाम् हिन्।” “आँप्?” काले फुरुङ्ग भयो, तर सिन्के जहिले पनि उपद्रो गर्दै हिंड्ने भएकोले कालेलाई उसँग हिंड्न अली डर लाग्छ। लटरम्म आँप सम्झिएर कालेको मन गैरीभन्ज्याङ पुगिसकेको थियो। टाढा पनि कम टाढा छैन। गाउँको बस्तीलाई टाढा छोडेर, ओरालै ओरालो लागे दुइजना। ओरालो सकिएपछी एउटा खोलो तरे, त्यसपछी बल्ल सुरु भयो चाक्लो बन। फाट्ट फुट्ट बाहेक त्यती मानिस हिंडेको देखिदैन त्यो बाटो। कोही दाउरा लिन अनी कोही आँप टिप्न आउछन् त्यो बनमा। बिस्तारै आपँका बोटहरु देखिन थालेपछी बुर्कुसी मार्दै कुदे दुइजना।
एउटा बडेमानको आँपको रुख छान्यो कालेले अनी भन्यो, “सिन्के तँ ह्याँ बसेर आँप् बटुल् म रुखाँ चडेर झार्छु है?” सिन्के मान्ने खालको भए पो। “इस् बस्छु, म नि चढ्छु नि”,थुतुनो तिखो बनाएर बोल्यो सिन्के। “खुर्मुरेर मरिस् भने मेरो दोस् छैन है, भन्द्या छु।” भनेर काले रुखलाई दुबै हातले अङ्गालो हालेर, भ्यागुता जस्तो गरेर माथि माथि चढ्न थाल्यो। सिन्के झन के कम, लाग्यो पछी पछी। हाँगाका टुप्पा टुप्पामा पाकेका सिन्दुरे आँप छानी छानी टिपे। कालेलाई आज संसार नै आँपमय लागिरहेको छ, जता हेर्यो उतै आँप। दुबै जनालाई घर फर्किन मन छैन। आँप खाएर अघाएपछी पोल्टाभरी बटुले, गोजिभित्र पनि अटे जती कोचे अनि बाटो तताए।
दुबैजना ‘खुइया’ काढ्दै उकालो छिचोल्दै छन्। आकाशमा आज पनि कालो बादल मडारिदै छ, आकाश एकफेर गर्जियो। उनिहरु तर्सिएर फटाफट हिंड्न थाले। आधा बाटो पनि नपुग्दै पानीका ठुला ठुला थोपाले हिर्काउन सुरु भयो। “ला! मैले त गुलेली नै त्याँ बिर्सें।” कालेले सम्झिएर खिन्न मान्यो। “दगुर् काले!” भन्दै सिन्के फिलिली कुद्यो। पानी धरर दर्कियो। पर्यो आपद! अझ पनि बस्ती सुरु हुन टाढा नै छ, वरपरी ओत लाग्ने ठाउँ केही छैन। रुझेर निथ्रुक्क भईसके, दौडदा दौडदा लखतरान भईसके, उता आँप पोखिएला भन्ने पिर। बल्ल एउटा खन्डहर जस्तो ठाउँ भेटियो। त्यो ठाउँ हेर्दा, कुनै भरियाहरु बास बस्ने पाटी जस्तो थियो। पुरानो बासँका खावा हालेको, परालको छानो छाएको, अनी ढुङ्गाको चुल्होमा खरानी पनि रहेछ। लुगा खोलेर आँप पोको पारे र टुक्रुक्क बसे। “घराँ आमैले मार्छिन् मलाई, देखिस् मैले अघी नै हिडुम् भन्या हैन तलाई।” कालेले सिन्केलाई रिस पोख्यो। दुबै जना एकछिन चुपचाप बसे।
पानी अझै मुसलधारे दर्किरहेको छ। “काले तलाई था छ? मान्छे मरेसी स्वर्ग जान्छन् रे, अनी काल नआइ मरो भने चै भूत बन्छन् रे।” सिन्केले आज भावुक कुरा निकाल्यो,”मलाई मेरो हजुर’आ ले भन्या।” कालेले थप्यो,”हारो आ’ले भन्या त सानो उमेर्मा मरो भनी आत्मा बाँकी हुन्छ रे अनी त्यस्ले तर्साउँछ रे।” आफूले सुनेका भूतका कुराहरु पालै पालो सुनाउदै गए। बाँसको झ्याङ्गमा राती तर्साएको कुरा, भकुन्डे भुतको कुरा, खहरे खोलोनिर ढलेको रूख उठेको कुरा ….। मरे पछी के हुन्छ होला? स्वर्ग कहाँ होला? भगवान कस्तो देखिन्छ होला? अनी साच्ची आत्मा हुन्छ होला त? अनी त्यो आत्माको पनि चेतना हुन्छ होला? त्यो आत्मा किन भुत बन्ने होला? कौतुहलता बढ्दै गयो। गफ गर्दा गर्दै साँझ परेको जस्तो भयो तर कती बजेको हो अत्तो पत्तो छैन। जाडोले थुरुरु काँप्न थाले। पानी अली पातलो भए पछी दगुरेर नजिक को बस्तीसम्म पुग्ने सुर कसेका छन्। यत्तिकैमा कालेले भन्यो, “सिन्के! पानी दर्क्या दर्क्यै भ र याँ बास बस्न परो भनी के गर्नी? याँ त तर्साउँछ होला!”
अध्याय तीन
तिहार सुरु भयो। कालेलाई दशैँदेखि तिहारसम्मको समय कहिल्यै नसकिए पनि हुन्थ्यो जस्तो लाग्छ। “आज काग पूजा, भोलि कुकुर पूजा, पर्सी गाई पूजा, निकोर्सी गोबर्धन पूजा, अनी भाइटीका…”, काले औंला भाँच्दै बिदा गन्दै छ। आँगनको छेउछाउ र बारीमा सयपत्री, सुपारी, मखमली, बाबरी, चमेली जस्ता थरी थरिका फूलको सुवासले हावा मगमगाएको छ। कही मीठा-मीठा रोटी, कही देउसी-भैलो, कही जुवा-तास, कही पटाखा, कही पिङ्ग, बिहान उठेदेखी राती नसुते सम्म रमाइलो देखेर कालेको भुँइमा खुट्टा छैन। कालेका बा आज बिहान उठ्ने बित्तिकै बाहिर लागे। कालेकी आमा कालेलाई भात पस्किएर माथ्लो घरको ढिकिमा पिठो कुट्न गइन्। पुन्टी पनि आमालाई पछ्याउदै गई।
पीपलबोटे चौतारोमा लिङे पिङ्ग खेल्न बिहान देखीनै केटाकेटीहरु ओइरिन थालेका छन्। काले भात खाएर त्यहाँ पुग्दा उसका कोही साथीहरु थिएनन्। छेउको चउरमा काले पलेंटी कसेर बस्यो पालो कुर्न। कालेले तलतिरबाट धने दाइ उक्लिदै गरेको देख्यो अनी खुशी भयो। धनेको बारेमा कालेलाई धेरै कुरा त थाहा छैन तर पनि उसलाई एकदम मनपर्छ। धने एउटा सिपाही हो, बिदाको बेला गाउँ आँउछ। छोटो कपाल, कालो चस्मा, टीसर्ट र जिन्स, कसिलो जिउडाल, झट्ट हेर्दा दुई-चार जना सजिलै पछार्छ जस्तो। कालेलाई धनेदाइ कुनै ‘हिरो’ जस्तो लाग्छ। कालेसँग खुब जिस्किन्छ अनी खुब माया पनि गर्छ। धने आउने बित्तिकै अरु केटाकेटीहरुले पिङ्ग छोडे। धने रहर पुग्ने गरी मच्चियो र कालेलाई बोलाएर पिङ्ग हस्तान्तरण गर्यो।
काले रमाउदै पिङ्ग खेल्दै थियो। भुड्के आएर निहु खोज्न सुरु गरिहाल्यो। भुड्के कालेभन्दा उमेर र जिउ दुबैले ठुलो छ। भुड्के हेपाहा प्रब्रितीको भएकोले कालेलाई फिटिक्कै मनपर्दैन। “पिङ्ग छोड्चस् कि छोड्दैनस्?”, भुड्केले गोलभेडा जस्तो आँखा ठुलो पार्दै भन्यो। “छोड्दिन!” कालेले बलियो गरेर डोरी समात्यो। भुड्केले कपालमा समातेर जबर्जस्ती तान्यो, “तलाई डाङ्ग्रा! अझ खेल्छस्?” कालेको पेटमा घुँडाले बेस्सरी हिर्कायो,”लौ खेल्!” काले थचक्क भुँइमा बस्यो, “ऐया!!!” एकछिन सास नै रोकिएको जस्तो भयो। “पख् तलाई! म धने दाइलाई भन्दिन्चु।” कालेले उभिएर हत्केलाले आँसु पुछ्तै भन्यो। “जा भन्दे तेरी आमाको पोइलाई!” भुड्के झन झन रुखो बन्दै बोल्यो। भुड्केका साथीहरु गलल हाँस्न थाले। सबैजना काले र भुड्केलाई उभिएर घेरेका थिए। काले रिसले भाउन्न भएर जिउ तातिएर आयो, ओठ काँप्न थाल्यो। “सबैलाई था’छ तेरी आमा धने स’अ सुतेकी भनेर” भुड्केले यती मात्र के बोलेर सिध्याएको थियो, कालेले रिसले आँखा देख्न छोड्यो। हुत्तिएर भुड्केलाई भुँइमा पछार्यो अनी मुड्किले हिर्काउन थाल्यो। कसो कसो भुड्केले कालेलाई उल्टै पछारेर कालेमाथी चढ्यो। कालेको अनुहारमा कसेर दुई मुक्का हान्ने बित्तिकै कालेको नाकबाट ह्वाल ह्वाल रगत बग्न थाल्यो। यत्तिकैमा ठुला मान्छेहरु आएर भुड्केलाई समातेर तानेर लगे।
काले यत्तिकै नाक समातेर त्यँही बसिरह्यो, लुगाभरी रगतका टाटा छन्। काले आज पटक्कै रोएन, न त उसलाई नाक सुन्निएको मतलब छ। उसको मनमा नरमाइलो आँधिबेहरी चलिरहेको छ। बारम्बार भुड्केको तातो झिर जस्ता शब्दहरु कानमा गुन्जिरहेको छ। भुड्के र उसका साथीहर्सँग अहिले नै गएर बदला लिँउ जस्तो भएको छ। धने र उसले देखाउने दयालु व्यबहार सम्झिएर कालेलाई घीन लागेर आयो। कालेले पँधेरोमा गएर रगत पखाल्यो। त्यो दिनभरी काले कोहीसँग बोलेन। बेलुकी देउसी-भैलो हेर्न पनि कतै गएन। राती आमाले भात खान बोलाउँदा झर्किएर घुर्की देखायो अनी केही नखाइ सुत्यो।
राती काले एक्कासी आमा-बाउको झगडाले ब्युँझियो। काले आँखा मिच्दै बिस्तारै ढोका बाहिर निस्कियो। मध्य रातमा कालेका बाउ लर्बराएको स्वरमा स्वास्नीलाई नानाभाती आरोप लगाउँदै छन्। कालेकी आमा पनि बाझ्न के कम, कपाल फिजाएर महाकाली रूप धारण गरेकी छिन् अनी लोग्नेलाई भएभरको गाली गरेर रिस पोख्दैछिन्। “तलाई रा’डी को को स’अ सुतेर ल्याइस् यत्रो खर्च ल भन्” भन्दै कालेका बा ले कपाल समातेर जगल्ट्याउन थाले। पुन्टी डराएर रुन थाली। “तँ जड्याहा लाछिले पैसा घराँ नल्याएसी जोस’अ सुते नि के मत्लब् हँ?” भन्दै कालेकी आमाले पनि भुत्ल्याउन थालिन्। काले दगुर्दै माथ्लो घर पुग्यो ठुलो बाउलाई बोलाउन। ठुलो बाउ-आमा आएर लोग्ने-स्वास्नीलाई छुट्याएर सम्झाउन थाले। “म अब एक्छिन् नि बस्न सक्दिन यो घर’आँ। ” भन्दै कालेकी आमा भक्कानो छोड्दै रुन थाली।
बिहान सबेरै कालेकी आमाले पोको पुन्तरो बाँधिन्। कालेलाई झक्झकाएर ब्युँझाइन्, “काले राम्रो स’अ बस् है, पुन्टी र म मामाघर जान्छम्। घर्को हेर्बिचार् गर्, भात पकाएर खा, सुङ्गुर्लाई पनि कुँडो बना’र ख्वा है?” साँचोको झुप्पो झ्यालनिर राख्दै भनिन्। सधैं आमा मामाघर जाने बेलामा काले पछी लाग्थ्यो तर आज लागेन। केवल यती मात्र बोल्यो,”आमा तिमी कैले औनी?” “म तिहार सक्किएसी आउँछु बा, तेरो बाउले कान्छी आमा पो ल्याउँछन् कि के था।” कालेकी आमा पुन्टिलाई लिएर माइत हिंड्ने नै भईन्। काले बाहिर निस्कियो बिदाइ गर्न। पुन्टी फुरुक्क परेर,”हामी मामा घल जानी” भन्दै अघी अघी लागि। कालेले यसपाली पुन्टीको हातको टिका थाप्न नपाउने भयो।
यो तिहारमा कालेले बाउको जुन रूप देख्यो त्यो पहिले कहिल्यै पनि देखेको थिएन। कालेका बाउ घरको कामहरु आँफै गर्थे, बारीबाट सागसब्जी टिपेर ल्याउँथे, किनमेल गर्न पनि आँफै जान्थे। काले चाँही बाउलाई सघाउथ्यो। यो तिहारमा कालेले बाउसँग धेरै समय बितायो। सधैं बाउसँग बोल्न डराउने काले, बाउको व्यबहार देखेर साथीसँग जस्तै कुरा गर्न थाल्यो। बाउले पनि आमाको कमी महसुस हुन नदिन मिठो मिठो पकाएर खुवायो, पटाखा किन्न पैसा दियो। कालेका बाउ रक्सी खान पर्यो भने पनि घरमा नै बसेर खान्थे। यसरी हेर्दा हेर्दै तिहार पनि सकियो तर कालेकी आमा फर्किनन्।
अन्तिम अध्याय
“कान्छीलाई घुमाउने काठमाडौं शहर….. ” गीत घन्किरहेको छ र बस राजमार्गमा आफ्नै गतिमा चलिरहेको छ। पुषको जाडो महिना अझ पनि बाटो कुहिरोले डम्म ढाकेको छ। बस त्यति भीड छैन, केही टाढा नै जाने यात्रीहरु छन् र केही स्थानीय तरकारी ब्यापारीहरु डोको बिसाएर बसेका छन्। अनि ठाउँ ठाँउमा बस घ्याच्च रोकिन्छ, कोही ओर्लिन्छन् कोही चढ्छन्। काले अन्तिम सिटको कुनामा कसैले नदेख्ने गरी कक्रक्क परेर बसेको छ। त्रास, थकाई, भोक अनि जाडोले गर्दा काले कठयाङ्ग्रिएको छ। कालेले कहिल्यै नचिताएको हिजोको काल रात्रीका दृश्यहरु आँखा अगाडि अझै फन्फनी चलिरहेको छ।
दुई महिना बितिसकेको थियो कालेकी आमा माइतिबाट नफर्किएकी। कालेका बाउ एकचोटी लिन गएका पनि हुन् तर फर्किनन्। आमा र पुन्टी बिना कालेलाई प्राय नियास्रो लागिरहन्थ्यो। सधैं कालेको एउटै प्रश्न हुन्थ्यो,”बा! आमै कैले औनी?” कालेका बा कहिले आश्वासन दिन्थे त कहिले रिसाउँथे। आमा किन नफर्किएकी हुन् कालेले राम्रोसँग बुझ्न सकेको थिएन तर आफ्नो, बाको र घरको मायाले आमा अवश्य फर्किन्छिन् भन्ने विश्वास मनमा थियो। हिजोको साँझ काले घर फर्किदा झमक्क अधेँरो भइसकेको थियो। “काँ गै’राथिस्?” भनेर बाउले गाली गर्लान् भनेर काले चाल मारेर घरको ढोका उघारेर भित्र छिर्यो। साँइ-सुँइ केही आवाज सुनिएन। काले चुल्हाभित्र छिर्यो, टुकी बलिरहेको थियो। “भात्सात् पका’र बा कतै निस्के कि” काले सोच्दै थियो। उतापट्टी आमाको कोठामा केही चलेको जस्तो खत्र्याक खुत्रुक आवाज आयो। कालेलाई बिरालो आएर केही सामान खसाल्यो कि जस्तो लाग्यो। चुल्हाको टुकी लिएर बिस्तारै हेर्न गयो। ढोकामा पुग्ने बित्तिकै काले अवाक भयो। मुटुमा ढ्याङ्रो ठोक्यो। टुकिको उज्यालोमा उसले देख्यो; कोठामा छरपश्ट सामानहरु छरिएको छ; कालेको बाउको हातमा खुकुरी छ तर उनलाई निरिह पारेर एउटा बलियो लोग्ने मान्छेले लडाएर हात खुट्टा चलाऊन नसक्ने गरी न्याकेको छ; त्यो मान्छेको अनुहार छोपिएको छ। त्यो मान्छेले फर्किएर कालेतिर हेर्यो। कालेको सातो पुत्लो गयो। हेर्दाहेर्दै त्यो निर्दयी राक्षसले कालेको बाउको हातबाट खुकुरी खोसेर गर्दनमा छप्कायो। निरिह मानव चित्कार गुन्जियो, भित्ता रगतको छिर्काले रङ्गियो। काले चिच्यायो र हातबाट टुकी खस्यो।
त्यसपछि काले बेतोड भाग्यो। सिर्फ भागीरह्यो। पछाडि फर्किएर हेर्न पनि सकेन। काले गाँउबाट धेरै टाढा पुगिसकेको थियो। मनमा त्रास अलि कम भए पछि अली बिस्तारै हिंड्न सुरु गर्यो। अब कहाँ जाने? कालेले सोच्न सकेन। “हे भगवान!” हात जोडेर भगवानलाई पुकार्यो। मामाघर सम्झियो, जाने बाटो थाहा छैन, कता हो कता। को होला त त्यो मान्छे? कालेको बाउसँग के दुश्मनी थियो होला? कालेले केही सोच्न सकेन। झल्याँस्स सम्झियो, कतै त्यो धने त होइन? फेरि धने त अहिले गाउँमा छैन। के भयो, किन भयो कालेले केही बुझ्न सकेन। सबै सपना भए पनि हुन्थ्यो जस्तो लाग्यो। त्यति रमाइलो आफ्नो संसार फेरि फिर्ता आए पनि हुन्थ्यो जस्तो लाग्यो। चलचित्रको हिरोले जसरी आफ्नो बाउलाई बचाउन नसकेकोमा पछुतो लाग्यो। कालेको आँखाबाट आँसु झरिरहेको थियो भने पाइला अगाडि बढिरहेको थियो। रात छिप्पिसकेको थियो, तर आकाशमा जुन लागिरहेको थियो। अब के गर्ने? बाउको हत्याराले खोज्दै आउने पो हो कि? हिँड्दाहिँड्दै काले रातिको २-३ बजेतिर बसपार्क पुग्यो। खम्बाको बत्तिको उज्यालोमा कालेले चारैतिर हेर्यो, सुनसान थियो। काले जाडोले काँपिरहेको थियो। एउटा बस देख्यो, अनि टायर माथि चढेर झ्यालबाट भित्र छिर्यो। बसभित्र कोही थिएन, काले अन्तिम सिटमा गएर सुत्यो।
बसको कन्डक्टरले टिकट उठाउँदै आयो, टिकट नकाट्ने यात्रुहरुले पैसा तिर्दै थिए। कन्डक्टर पछाडि आइपुग्न लागि सक्यो, कालेलाई के गरौँ के गरौँ भयो। आफूलाई नदेखे पनि हुन्थ्यो जस्तो लाग्यो। “ओ भाइ काँ स’अ जानी हो तिमी?” आखिर कन्डक्टर आइपुग्यो। कालेले नसुनेको जसरी बाहिर हेरेर बस्यो। “ओइ केटो! पैसा छैन भनी बाहिर निस्की” भन्दै झन् गाली गर्न थाल्यो। कालेलाई सार्है नरमाइलो लागेर आयो। सहाराविहीन भएर हिक्क हिक्क गर्दै रुन थाल्यो। कन्डक्टरलाई पनि माया लागेछ क्यारे, “के तालको केटो रइ’छ।” भन्दै अगाडि लाग्यो। त्यसपछि काले त्यही नचली बसिरह्यो। भोकले आन्द्रा बटारिएला जस्तो भयो। खाना खान बस रोकेको ठाउँमा ओर्लिएर धाराबाट पानी पियो। बसको अगाडि लेखेको देखेर बल्ल थाहा पायो कालेले, बस त काठमाडौं जाने रहेछ। “बिकल पनि काठमाडौंमा छ रे, कुन ठाम्मा होला, भेट भए नि हुन्थो।” कालेले सोच्यो अनि बिकलसँग भेटेर सबै कुरा एकै सासमा सुनाउन मन लाग्यो।
मध्यदिनमा नयाँ बसपार्कमा बस रोकिएपछि बाँकी भएका सबै यात्रुहरु झरे। काले पनि गर्हुङ्गो पाइला लिएर ओर्लियो। अबको प्रत्यक पल कालेको लागि अनौठो, अनभिज्ञ र लक्षहिन हुनेछ। काठमाडौंको बारेमा केही थाहा छैन। पाइला जता जता लाग्छ उतै गयो। मान्छेलाई जस्तोसुकै परोस्, भोक भनेको भोक नै रहेछ। बाटोमा मान्छेहरु आ-आफ्नो सुरमा हिँडिरहेका छन्। कसैलाई कसैको मतलब छैन। काले भोकले भौँतारिन थाल्यो। अहिलेलाई केही खानेकुराको पोको भेटे पनि हुन्थ्यो जस्तो लाग्यो। बाटोमा कसैले दया गरेर पैसा दिए पनि हुन्थ्यो जस्तो लाग्यो। घर सम्झियो, आमा र पुन्टी सम्झियो,साथीभाइ, गाउँ, स्कूल, पँधेरो …. सबैसँग टाढा, यस्तो दुनियाँमा जहाँ कसैले उसलाई चिन्दैन, जहाँ जे गर्न पनि मिल्छ तर उ केही गर्न सक्तैन। हिड्दै जाँदा एउटा बहुलाहा देख्यो। फोहोरको थुप्रोबाट अरुले फ्याँकेका खानेकुराहरु कुपुकुपु खाइरहेको थियो। अलि अलि घिन लाग्यो अलि अलि माया। तर त्यतिबेला कालेलाई त्यसरी पेट भर्नु भन्दा भोक खप्नु निको लाग्यो।
आज काठमाडौं ओर्लिएको पनि तेस्रो दिन भइसकेको छ। काले टुँडिखेलको चउरमा टाउकोलाई हत्केलाले थामेर पल्टिएको छ अनि सोचमग्न छ। एकचोटी गाँउ सम्झियो। अब त आमाले पनि सबै घटना थाहा पाइन् होला, अनि अहिले गाँउमा के भएको होला जस्तो लाग्यो। एक मन बसपार्क गएदेखि कोही चिनेको मान्छेले गाँउ पुर्याइदिन्छ कि जस्तो लाग्यो। अनि उठेर हिँड्न सुरु गर्यो। अहिलेसम्म कालेले धेरै अचम्मको चिजहरु देखिसकेको छ काठमाडौंमा। मोटरहरुको घुइँचो, अग्ला-अग्ला भवनहरु, बजारहरु, कहिले नदेखेका रङ्गी चङ्गी खेलौना, लुगा, थरी थरिका खानेकुरा, यी सब चिजहरुले एकातिर कालेको हिजो भुल्न मद्दत गरिरहेको थियो भने अर्कोतिर सपनाको टुसाहरु पलाउन थालेका थिए। हिजो मात्र कालेले पेट भर्नको लागि एउटा होटेलमा भाँडा माझेर बस्छु भनेको थियो। तर उसलाई त्यो बन्धन मन परेन। आज बिहान नै त्यहाँबाट भागेको थियो। हिँड्दा हिँड्दै कालेको मन अर्कैतिर मोडियो र पाइला रोकियो। कालेलाई पैसा कमाउन मन लाग्यो। तर कसरी? काले कहिले घण्टौसम्म कुनै चिजलाई टोलाएर हेर्छ त कहिले घण्टौसम्म बितेका कुरा सम्झिएर बस्छ।
काले दुबै हत्केला गालामा राखेर टोलाएर बसेको छ आफ्ना उमेरका केही केटाकेटीहरुलाई हेर्दै। मैलोले कट्कटिएको कपडा, काला मैला दागले भरिएको अनुहार, मयलले लेस्सिएको शरीर , जिङ्रिङ्ग परेको कपाल, अनि उनीहरुले एउटा एउटा प्लास्टिकका पोकाहरु भिरेका छन्। आफू-आफूमा जिस्किँदैछन्, हाँस्दैछन्, जे मन लाग्यो त्यही गर्दैछन्। काले आफ्नो सबै कुरा भुलेर उनिहरुलाई टोलाएर हेर्दै छ। कालेले ति केटाकेटिहरुको हुलमा धेरै ‘आफू’ देख्यो। अब बिस्तारै कालेलाई त्यो दुनियाँले स्वागत गर्दै छ जहाँ खुला आकाश नै आफ्नो छत हुन्छ, चोरी हुनको लागि आफूसँग केही हुँदैन। शर्त बस यति छ कि आफ्नो भोक टार्न केही गर्नुपर्ने छ, प्रकृति र मौसमको सजायबाट बच्नुपर्ने छ।
– जय, सिड्नी (अष्ट्रेलिया)
यो कथा काल्पनिक हो। यस कथामा प्रयोग गरिएका भाषा र शब्दहरु कसैलाई असभ्य लागेमा क्षमाप्रार्थी छु।
(स्रोत : माइ संसार डट कम)