~अकेला यात्री~
जो आजका पाठमा धूमपानका हानीहरू पढाएर फर्केको छ
जो आजका पाठमा मद्यपानका बेफाइदाहरू पढाएर फर्केको छ ।
प्रायशः मास्टर साहेबलाई देख्छु अचेल
अबेरसम्म यो भट्टीपसलमा……!
जो समयको महत्त्व बुझाएर फर्केको छ ।
गिलासको चुस्की, चुरोटको धुवाँ र अर्धचेतमा
प्रायश: अचेल मास्टर साहेबलाई
किन भेट्छु अबेरसम्म यो भट्टीपसलमा ?
जो कलाको सुन्दरता, सङ्गीतको सुर र साहित्यको रस पढाएर फर्केको छ,
हिमालको चुचुरो, पहाडको छाती र तराईको मैदान पढाएर फर्केको छ
राष्ट्रिय एकता, वीरहरूको गाथा र राज्यको इतिहास बुझाएर फर्केको छ ।
प्रायश: देख्छु अबेरसम्म यो भट्टी पसलमा मास्टर साहेबलाई
जो आजका पाठमा धूमपानका हानी, मद्यपानका बेफाइदा
र समयको महत्त्व बुझाएर फर्केको छ ।
मास्टर साहेब !
यो राज्यमा………
कि तिमी पनि अपहेलित छौ ?
कि पढाउछौ झुटा कुराहरू र अतृप्त छौ?
किन देख्छु अबेरसम्म यो भट्टी पसलमा ?
जो समयको महत्त्व बुझाएर फर्केको छ ।
अकेला यात्री
मंगलटार–२, खोटाङ
हाल: श्री शारदा मा.वि. खार्पा-४, खोटाङ
akelayatri37@gmail.com
शिक्षक मासिक २०७३, असोज अङ्कमा प्रकाशित
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)