~मनोज न्यौपाने~
वि.सं. २००० सालमा वीरगञ्जमा जन्मनुभएका ध्रुवचन्द्र गौतमको कविता विधामार्फत् साहित्यमा प्रवेश वि.सं. २०२० मा रुपरेखामा प्रकाशित ‘तथस्टता ः असफलता’ शीर्षकको कविताबाट भए पनि उपन्यासमा प्रवेश चाहिँ २०२४ सालमा रुपरेखामै प्रकाशित ‘अन्त्यपछि’ उपन्यासबाट भएको हो । मधुपर्क मासिकको पहिलो अङ्कमै उहाँको ‘सङ्कट’ शीर्षकको कथा प्रकाशित भएको हो । उहाँका हालसम्म एक्काइसवटा उपन्यास कृति प्रकाशित भइसकेका छन् । यसबाहेक चारवटा उपन्यासकृति सहलेखनमा प्रकाशित छन् । अहिले उहाँ आफ्नो बाइसौँ उपन्यास ‘साताँै ऋतु’ को तयारीमा हुनुहुन्छ । उपन्यासकार गौतमसँग मधुपर्कका लागि मनोज न्यौपानेले गर्नुभएको उपन्यास वार्ता ः
उपन्यासलाई कसरी परिभाषित गर्नुहुन्छ ?
उपन्यास जीवनलाई अलिक सूक्ष्म तर सकेसम्म व्यापक परिप्रेक्ष्यमा हेर्ने विधा हो ।
तपाईंको विचारमा उपन्यास र कथामा कुन विधाको महत्त्व बढी छ ?
कथाको आफ्नै विशेषता हुन्छ, उपन्यासको आफ्नै हुन्छ । कथा एकसरो किसिमले सर्र गएर एक ठाउँमा टुङ्गिन्छ । कथाको तुलनामा उपन्यासमा हाँगाविँगा धेरै फैलिएका हुन्छन् । दुवैको महत्त्व आ-आफ्नो ठाउँमा उत्तिकै छ । जस्तो कि कहिलेकाहीँ मोटर नजाने ठाउँमा साइकिल जान्छ, कथाले त्यस्तो काम गर्छ । त्यसैले कहिलेकाहीँ उपन्यासभन्दा कथा बढी मार्मिक हुन्छ । फेरि कहिलेकाहीँ उपन्यास बढी मार्मिक हुन्छ । कथा पुग्ने हरेक ठाउँमा उपन्यास पुग्छ नै भन्ने छैन । विषयवस्तुको मागअनुसार त्यस्तो हुन्छ । महत्त्व कुनैको कम छैन ।
तपाईं उपन्यासमा विभिन्न किसिमको प्रयोग गर्न रुचाउनुहुन्छ । सुरुमै प्रयोगबारे सोच्नुहुन्छ कि लेख्दै जाँदा त्यस्तो हुन्छ ?
प्रयोग गरी छाड्छु भनेर लेख्न बस्दिनँ म । समय, समाज र मान्छे जसरी परिवर्तन हुँदै जान्छ र म आफैँ पनि जुनढङ्गले परिवर्तन भइरहेको हुन्छु, त्यसलाई रेखाङ्कित र चिहृनित गर्नेक्रममा कृतिमा प्रयोग आउँछ । हरेक विधामा आउँछ । मान्छे स्वभावले नै जेमा पनि नवीनता खोज्छ ।
तपाईं सूत्र उपन्यासतर्फ कसरी आकषिर्त हुनुभयो ?
वेदका सूक्तहरू सूत्रमा छन् । पुराण र प्राचीन ग्रन्थहरूमा सूत्रहरू छन् । जब सूत्रको टिप्पणी हुन्छ, त्यो व्यापक हुन्छ । सूत्रको यो प्रभाव देखेर हामी सूत्रात्मकरूपमा उपन्यास प्रस्तुत गर्न सक्छौँ कि सक्तैनौँ भन्ने मेरो आफ्नै जिज्ञासा र दबाबले यसप्रति आकषिर्त भएको हुँ । मैले २०४१ सालमा सूत्रकथा र यसका केही सिद्धान्त र विचारबारे लेखेको थिएँ । त्यहीबेलै सूत्रउपन्यास पनि लेखिने सम्भावना छ भनिसकेको थिएँ । २०५५ सालमा आएर ‘फूलको आतङ्क’ उपन्यास फुर्यो ।
तपाईंले भन्नुभएको सूत्रलाई ‘र्फमुला’ भन्दा के होला ?
त्यो गलत हुन्छ । सूत्र भन्नाले कम्प्याक्ट रिलेसन हो ।
आफ्नो जीवनको छुट्टै संस्मरण नलेखेर आफैँलाई पात्र बनाएर अनुभवन्यास लेख्नुको कारण के हो नि ?
तपाईंले आफैँलाई पात्र बनाएर भन्नुभयो । त्यो आफैँ पनि अर्द्ध आफैँ मात्र हो । आफैँलाई पात्रमा रूपान्तरण गरेर ल्याइएको हो । त्यो आफैँ सधैँ आफैँ रहँदैन तर धेरैजसो आफैँ छ । अरू पात्रलाई ल्याउँदा पनि उसले आफूभित्र ल्याएको छ । आफू अरूमा बाँडिएको पनि छ । संस्मरण लेखेको भए मैले यति कल्पनाशीलता ल्याउन मिल्दैनथ्यो । किनकि त्यसो गर्दा न्याय हुँदैनथ्यो । अनुभव+उपन्यास (अनुभवन्यास) भन्दा उपन्यासमा जुनजुन गुण हुन्छन्, ती जम्मै ल्याउन पाइने हुनाले अनुभवन्यास लेखियो । यो सुविधा संस्मरणमा पाइँदैन ।
बर्सेनि एउटा-दुइटा उपन्यास प्रकाशन गर्दै हुनुहुन्छ । कहिलेसम्म यो क्रम जारी राख्नुहुन्छ ?
अचेल संयोगले त्यस्तो भएको छ । दिमागमा विषय हुन्जेल लेख्ने हो । कुनै दिन रित्तिन पनि सक्छ । त्यसबेला फेरि किन लेख्नुहुन्न भन्दै सोध्न आउनेहरू पनि हुनसक्छन् ।
तपाईं अरू विधामा पनि कलम चलाइरहनुभएको हुन्छ । कसरी भ्याउनुहुन्छ यत्ति धेरै लेख्न ?
पहिलो कुरा कुन कामलाई प्राथमिकता दिने भन्ने हो । यही कामलाई प्राथमिकता दिने भन्ने टुङ्गो लागेपछि अरू काम गौण भइहाल्छन् अनि भ्याइन्छ । जस्तो कि अहिले म केही लेखिरहेको हुन्थेँ भने तपाईंलाई आज नआउनुस् भन्न पनि सक्थेँ ।
तपाईंलाई उपन्यासमा हिन्दी शब्द बढी नै प्रयोग गर्नुहुन्छ भन्ने आरोप छ नि !
यसलाई आरोपको रूपमा म लिन्नँ । मेरो त्यस्तै वातावरणमा लालनपालन भयो । मैले वाल्यकालमा बोल्ने भाषामा हिन्दी र भोजपुरी मिसिएको हुन्थ्यो । हिन्दीभन्दा पनि बढी भोजपुरी हुन्थ्यो । साथीहरूसँग यस्तै बोलिन्थ्यो । जसको पृष्ठभूमिजस्तो छ, लेखनमा त्यो त आउँछ नै । आफू हुर्किएको ठाउँको प्रभाव आउनु स्वाभाविकै हो । पात्रअनुसार पनि भाषा आउँछ उपन्यासमा ।
उपन्यासको कुनै पात्रमाथि आफैँबाट अन्याय भएजस्तो लाग्छ कि सधैँ न्याय नै गर्नुहुन्छ ?
‘बालुवामाथि’ उपन्यासका केही पात्रहरूमाथि अन्याय भएजस्तो लाग्छ तर त्यो मैले जानीजानी गरेको होइन । अहिले लेख्थेँ भने अर्कै किसिमले लेख्थेँ होला, केही अन्य दृष्टिकोणहरू तिनमा हाल्थेँ हुँला । त्यसबेला अहिलेजस्तो मेरो सीप विकसित थिएन । नजानेर तिनीहरूमाथि अन्याय भएको हुनसक्छ ।
अन्यायमा परेका पात्रहरूलाई न्याय दिन ‘बालुवामाथि’ उपन्यास पुनर्लेखन गर्ने विचार गर्नुभएको छैन ?
म मेरा कुनै पनि उपन्यास पुनर्लेखन गर्न चाहन्नँ । त्यो बेला म जसरी थिएँ, जस्तो थिएँ, त्यो त्यसरी नै, त्यस्तै होस् भनेर त्यत्तिकै छोडिदिन्छु ।
आफ्ना उपन्यासहरूमा कम चर्चा पाएको उपन्यास कुन हो जस्तो लाग्छ ?
प्रायः मेरा उपन्यासहरू कमै चर्चित छन् । मलाई उपन्यासकारका रूपमा मान्छेले चिन्छन्, त्यो बेग्लै कुरा हो । ‘अलिखित’ एउटा चाहिँ अलिक चर्चामा आयो । ‘फूलको आतङ्क’ पहिलो सूत्रउपन्यास भएकोले, अलि अलग्ग भएकोले चर्चामा आयो । बाँकी अरू त कमै चर्चित छन् ।
चर्चामा नआउने कारण के त ?
कारण त के अब ! उदाहरणका लागि मात्र भन्छु-‘जेलिएको’ उपन्यासलाई मुखले जम्मैले प्रशंसा गरे तर लेखेर त्यो कुरा कसैले बाहिर ल्याएनन् ।
लेखनमा विषयवस्तुको चयन कसरी गर्नुहुन्छ ?
मैले धेरै ठाउँ भनेको छु, मेरो अनुभवले, अवलोकनले, संवेदनाले, कल्पनाशीलताले या मेरो प्रतिभाले-खोइ केले हो, कुनै बेला हिँड्दाहिँड्दै वा ओछ्यानमा पल्टँदापल्टँदै स्वाट्ट एउटा फ्ल्यास आउँछ बिजुली चम्किएजस्तो । एक निमेषका लागि सारा संसार उज्यालो हुन्छ, त्यही बेला घटनाका रूपमा या पात्रका रूपमा विषयवस्तु आउँछ । त्यसपछि फेरि अन्धकार हुन्छ । त्यही अन्धकार हुनुअघि निमेषभरको उज्यालोमा लिएको विषयवस्तुलाई बुन्दैबुन्दै उपन्यास लेख्न थाल्छु ।
(स्रोत : मधुपर्क २०६८ मंसीर)