~नवीन प्यासी~
म जासुस प्रेमको चिहानमाथि सुतेको एउटा प्रेमी
उठेर यो चिहानबाट
म दुनियाँको एउटा यस्तो प्रतिबन्धित बाटोमा हिँड्न चाहन्छु
जहाँ तिमी र मलाई मात्र हिँड्ने छुट होस्,
जहाँ तिम्रो सुगन्ध चोर्ने बतासको हातमा हतकडी होस्,
जहाँ तिम्रो सुन्दरता चाहिने फूलहरू हिरासतमा होऊन्,
जहाँ तिम्रो मुस्कान कुरिरहेको क्षितिजमा अँध्यारो छाइसकेको होस् ।
हिँड्दै गर्दा तिमीले–
अचानक मेरो हात समातेर मुटुमा आतंक मच्चाइदिनु
चन्द्रमाले हड्बडाएर आफ्नो अक्षमा हिँड्न बिर्सियोस्
र, थप्पड लगाओस् औँसीले सम्झाउने बहानामा
बादल अत्तालिएर कोकोहोलो गरोस्
र खसालोस् पानीका केही हरफ तिम्रो केसको सम्राज्यमा !
रात आफै डराएर कुलेलम ठोकोस्
र, छोडोस् घाँटी थिचिएको एकजोर उज्यालो बिहानी,
जहाँ तिम्रो भाकामा भाका मिलाउने
चराहरूको चुच्चामा खतराको संकेत होस्,
जहाँ तिम्रो वैँशालु घाँघरभित्र छिरेर विलिन हुन खोज्ने
तिम्रै आफ्नो छायाँलाई काँडेतारको बार होस्,
जहाँ तिम्रो चौबन्दीको कुर्सीमा बस्ने
मेरो आँखालाई खिसी गर्ने
पहरेदार तुनालाई सत्ताच्युत गरिएको होस् ।
म तिम्रो पैतालाका छापहरू पनि मेटिएको देख्न चाहन्छु
ताकि ती छापहरू पहिल्याउँदै–पहिल्याउँदै
कोही पनि तिम्रो पाउजुको संगीत सुन्न नआइपुगून् ।
जसरी आइपुग्दैन किरणहरूको रङ
मंसिर–पुसले कोरेका शीतलहरको स्केचसम्म ।
जसरी आइपुग्दैन गुडेको चक्का पछ्याउँदै–पछ्याउँदै
चक्काले नै कुल्चेको सुदूर ठाउँको माटोको मन ।
जसरी आइपुग्दैन भाग्यरेखाहरू विपनाको जहाज चढेर
खुसीको लगेज घिसार्दै–घिसार्दै जीवनको एयरपोर्टसम्म ।
उसैगरी नआइपुगोस् झुक्किएर पनि पुतलीको जुलुस
तिमीले टेकेको भूगोल वरिपरि…
जहाँ तिम्रो रूप पिएर लर्खराउने ऐनामा ढुांहरू ठोक्किउन्,
जहाँ तिम्रो आँसुको व्यापार गर्ने नदीमा बगरहरूले छापा मारुन्,
जहाँ तिमीलाई अल्मल्याउने सहरमाथि समयले युद्ध छेडोस् ।
म जासुस प्रेमको चिहानमाथि सुतेको एउटा प्रेमी !
उठेर यो चिहानबाट
म दुनियाँको एउटा यस्तो प्रतिबन्धित बाटोमा हिँड्न चाहन्छु
जहाँ तिमी र मलाई मात्र हिँड्ने छुट होस् ।
र, नहोस् रोइरहेका सल्लाहरूको देशमा
चखेवाको जवानी हराएको गीत ।