कथा : मंगलरामको झोला

~श्याम साह~Shyam Shah

असनपुरमा मंगलरामको पाँच बिघा खेत थियो । पूरै एक कट्ठामा घर र पाँच कट्ठाको करेसाबारी थियो । नागेसर नामको मुसहर स्थायी हरवाह थियो । मंगलरामकी श्रीमतीको खास नाम शुभद्रा भए पनि सबैले मंगला भनेर बोलाउँदा बोलाउँदै मंगली बनाइदिएका थिए ।

मंगलरामले गरीबी नदेखेको हैन । उसको बुबाले मर्नु भन्दा अगाडि घर र पाँच कट्ठा बारी बाहेक सबै जुवाको खालमा सकेको थियो । उनले जीवनभरमा एउटै मात्र राम्रो काम गरेका थिए– मंगलराम र मंगलीको बिहा । बिहा पछि नै मंगलरामको उन्नति भयो । साह्रै लच्छिनकी मंगली काममा मरिहत्ते गर्थी । पाँच कट्ठा बारीमा तरकारी फलाएर उसले लोग्नेलाई पाँच वर्षमा पाँचै बिघा खेतको मालिक बनाइदिई । पहिलो वर्ष बडो रहर लाग्दो छोरा पनि भएको थियो, तर निकै अप्ठ्यारोसँग । मंगलराम अरू पनि छोरा चाहन्थ्यो, तर लाहानको डाक्टरले अब बच्चा जन्माउँदा मंगलीको ज्यान खतरामा पर्ने बताएपछि उसले त्यसबारे सोच्नै छाडिदिएको थियो । छोरालाई उसले गोलबजारको बोर्डिङ स्कूलमा भर्ना गरेको थियो ।

यसरी सबै कुरा ठीकठाक चलिरहेको वेला मंगलीको पाठेघरमा फेरि समस्या देखिन थाल्यो । त्यति बूढी पनि भइसकेकी थिइनँ ऊ । मंगलरामले जयनगरबाट ‘दशमुलारिष्ट’ ल्याएर खुवाउन छाडेको पनि थिएन । तर, एक्कासी पिसाबमा रगत देखिन थालेपछि जँचाउँदा लाहानका डा. पशुपति चौधरीले पाठेघर फालेपछि मात्र निको हुने बताए, अप्रेशनको निम्ति काठमाडौं जाने सुझवका साथ ।

मंगलराम दम्पतीलाई त्यस अगाडि कहिल्यै काठमाडौं जानुपर्ने आवश्यकता परेको थिएन, तर अब पर्यो । उनीहरूलाई सघाउन मानिसहरू आइहाले । काठमाडौं जानुभन्दा दुई दिन अगाडि मंगलरामले एक बिघा खेत सीताराम अग्रवाललाई पास गरिदियो । स्थानीय नेता लालबाबु यादवले मंगलरामलाई काठमाडौं पढिरहेको आफ्नो छोराको फोन नम्बर मात्र दिएनन्, सबैका अगाडि फोन गरेर उनीहरूलाई राम्ररी हेरविचार गर्न निर्देशन पनि दिए ।

बिहेको दाइजोसँगै आएको काँधमा भिर्न मिल्ने चेनवाला झेला अझै थियो, मंगलरामसँग । उसले त्यही झेलामा लोग्ने–स्वास्नीका कपडाहरू राख्यो । खाना पकाउने भाँडा–वर्तन र चामल पनि बोक्न खोजेको थियो, तर अरूले काठमाडौंमा पकाउने ठाउँ पाइँदैन भनेर रोके । उसले पानी पिउने लोटा भने राख्यो । घर नागेसरकै जिम्मामा छोड्यो । छोरालाई छिमेकीहरूले हेरिदिने भए । गाउँमा बस्नुको एउटा फाइदा यो पनि हो ।

मंगलरामले देशमा संकटकाल लागेको अनुभव गाडीमा काठमाडौं जाँदा ग¥यो । बाटोमा चेकिङको लागि ओर्लनु परेको ठाउँ उसले गन्दागन्दै बिर्सियो । गाडीमा चढ्नु अगाडिसम्म बिरामी जस्तो नदेखिएकी मंगली वाक्वाकी गर्दागर्दै सिकिस्त भइसकेकी थिई । उसलाई बसबाट ओराल्नु–चढाउनुपथ्र्याे । चेकिङको लाइन कम्ता लामो हुँदैनथ्यो । लाइनमा पालो आए पछि गर्ने कुरा चाहिं केही हुँदैनथे । झेला भने हरेक पटक खोतलिन्थ्यो । प्रश्नहरू उस्तै हुन्थे ।

‘कहाँबाट आएको ?’

‘के काम गर्दै हो ?’

‘किन काठमाडौं जान लागेको ?’

एक ठाउँमा चेकिङको लागि गाडी रोकिंदा उसलाई पिसाबले निकै च्यापेको थियो । अघिल्लो गाडीका मानिसहरूले छेउको झडी भिजाइरहेको देखेर ऊ पनि त्यहाँ गयो । तर, त्यत्ति नै वेला कड्केको सैनिकको आवाजले उसको पिसाब बीचमै रोकिदियो । ऊ हतार–हतार लाइनमा लाग्यो । पिसाब फेरिरहनेहरूलाई एउटा सिपाहीले जनही दुई–दुई लात्ती हान्यो । उनीहरूले कान समातेर उठबस पनि गर्नुपर्यो ।

मंगलरामले काठमाडौं पुगेर लालबाबु यादवको छोरालाई फोन गर्यो । तुरुन्तै भने जसो आइपुगेको अमित यादवले वीर अस्पतालमा डाक्टरसँग समय समेत मिलाइसकेको रहेछ । परीक्षण पछि मंगली अस्पतालमा भर्ना भई । अप्रेशनको समय पनि तोकियो । सबै कुराहरू सामान्य ढङ्गले चलिरहेको थियो । तर, त्यही वेला बेहोर्नुपरेको एउटा दशा सम्झ्ँदा मंगलराम अहिले पनि झ्स्कन्छ र रुन्चे हाँसो हाँस्छ ।

अस्पतालको गन्धले वाक्क भएको ऊ अमितको करले बेलुकातिर रत्नपार्कको चक्कर लगाउन निस्केको थियो । निस्कने वेलामा वार्डमा आइपुगेकी सफाई गर्ने केटीले भुईंमा असरल्ल झेला उठाउन भनेकीले ऊ झेला बोकेरै बाहिर निस्केको थियो । रत्नपार्कको फन्को लगाउन उसलाई धेरै समय लागेन । फर्केर आउँदा गेटको नाङ्ले पसलमा खैनी देख्ने बित्तिकै उसको तलतल बल्झियो्झ्यिो ।

“दिदी, खैनीको कति ?”

“दश रुपैयाँ ।”

मंगलराम मधेशी हुलियामै थियो । त्यसमाथि मैलिएको थोत्रो ब्याग । लालबाबुले उसलाई नभनेको होइन, तर एक्कासी प्यान्ट–सट कहाँ पाउनु ? लालबाबुले आफ्नै कपडा दिन पनि खोजेकै हो, तर उसले लिन चाहेको थिएन । ऊ धोती, कुर्ता र चप्पलमै काठमाडौं आइपुग्यो । उसको यो हुलिया पसल्नीका लागि चाखलाग्दो भएको थियो ।

“हाम्रोतिर त यो पुरिया पाँच रुपैयाँमा पाइन्छ, दिदी ।”

पसल्नी टसमस भइनँ ।

“असनपुर नाम सुन्नुभएको छ, दिदी ? सिरहामा पर्छ । त्यहाँ पाँच बिघा खेत छ हाम्रो । … बुधनाकी आमा छ नि, मेरो घरवाली । हो, उसैलाई जँचाउन आएको । यही वीर अस्पतालमा भर्ना गराएको छु … ।”

पसल्नीले नसोधी नै उसले आफ्नो रामकहानी थालेको थियो । ग्राहकहरू नआइरहेको वेला पसल्नीलाई पनि उसको कुरा रमाइलै लागिरहेको थियो । मंगलरामलाई त्यही वेला पिसाबले च्याप्यो र वरिपरि हेर्न थाल्यो । उसले मानिसहरूको भीडबाट अलिपर रानीपोखरी देख्यो ।

“दिदी, त्यहाँ पिसाब गर्दा कसैले केही भन्छ ?”

“भन्दैन, मार्छ । ऊ त्यहाँ जाऊ, ट्वाइलेट छ ।”

“हाम्रोतिर त दिदी, दिसा–पिसाब यस्तै पोखरीको छेउछाउमा गर्ने हो ।”

त्यसपछि ऊ आफैं हाँस्यो ।

“मेरो झेला पनि हेर्दै गर्नु, दिदी ।”

ऊ सडकपारिको ट्वाइलेटतिर गयो, तर त्यहाँ पिसाब फेरेको पनि पैसा लिएको देखेर भित्र पसेन । अचम्मसँगै अलि झवाँक पनि चल्यो उसलाई । त्यही सुरमा अस्पताल गएर हल्का भयो । त्यसवेलासम्म झेला बिर्सिसकेको थियो, उसले । मंगलीले भन्दा मात्र झसङ्ग भयो ।

उसले झेला छोडेर जाने बित्तिकै महानगरपालिकाको गाडी आएकोले पसल्नी नाङ्लो उठाएर भागेकी थिई, मंगलरामको झेला त्यहीं छाडेर ।

“झेला कसको हो ?”

शंकास्पद झेला देखेपछि महानगर प्रहरी करायो । कसैले मेरो नभनेपछि झेला शंकास्पद हुन पुग्यो । त्यो समय नै त्यस्तो थियो । कसैले त्यो झेला बिहानैबाट त्यहाँ थियो भन्न थाले । एउटा नकावधारीले छोडेर गएको भन्नेहरू पनि निस्किए । मंगलराम त्यहाँ पुग्दा ठूलै भीड लागिसकेको थियो । झेलाको वरिपरि पुलिसहरूको पर्खाल लागेको थियो । प्रहरीको मेटलडिटेक्टर रातो बत्ती बालेर कराइसकेको थियो । त्यसलगत्तै सेनाको बम डिस्पोजल टोली आइपुग्यो ।

“ए हजूर, त्यो त मेरो झेला छ ।”

उसको झेलालाई अजीवको लुगा लगाएका सैनिकहरूले लामो छडीले चलाउन थालेपछि मंगलमान नकराई रहन सकेन । सुरक्षाकर्मीहरूलाई त्यो झेला आफ्नो भएको सकार्ने मान्छे भए पुग्ने स्थिति थियो । नभन्दै, मंगलरामले वाक्य पूरा गर्दा नगर्दै ऊ बाजको पञ्जामा परेको चल्ला जस्तो भइहाल्यो । त्यसको केही क्षणपछि ऊ एउटा गोदाम जस्तो घरमा उल्टो झुन्डिएको थियो ।

‘झेला कसले दियो ?’

‘कहाँबाट आयो ?’

‘अरू को–को छन् ?’

मंगलराममाथि खतरनाक केरकार शुरू भयो ।

“हजूर झेला त मेरै छ, घरवालीलाई जँचाउन आएको हजूर ।”

“स्वास्नी जँचाउन झेलामा बम राखेर हिंड्छस् ?”

लगत्तै उसको मुखमा अर्को बज्रप्रहार भयो । र, उसलाई मुड्कीले भन्दा बमको कुराले बढी धक्का दियो ।

“जरुर कुछ गलतफहमी भएको छ हजूर । …मैले त्यहाँ पसल्नी दिदीलाई झेला छाडेर गएको थिएँ । त्यसपछि मलाई केही थाहा भएन हजूर ।”

“अनि त्यति महŒवपूर्ण झेला अर्कासँग त्यसै छोड्छस् त ?”

“पिसाबले च्यापेर हजूर ।”

“मा… ?”

उसले आफ्नो कुरा नसक्दै धुलाइ शुरू भयो । मंगलरामलाई बेहोश हुन धेरै बेर लागेन ।

होशमा आउँदा उसले आपूmलाई सोफामा बसेको पायो । तर, सबै कुरा धमिलो देखिरहेको थियो ।

“पानी… ।”

एउटा प्रहरीले हतार–हतार जगमा पानी ल्याएर उसलाई खुवायो । पानीको अपार शीतलता महसूस गर्दै प्रहरीको अनुहार नियाल्दा उसले अलि बूढो देख्यो ।

“के गर्छौ भाइ, गल्ती सबैबाट हुन्छ । समय नै त्यस्तो छ । तिमीले पनि झेला त्यसरी छोड्नुहुँदैनथ्यो । झेलाभित्रको लोटाले गर्दा सब कुरा बिग्रन गयो … ।”

“हजूर, मेरी घरवाली … ।”

उसको अनुहार सुन्निएको थियो । बोल्दा निकै पीडा भयो उसलाई ।

“चिन्ता नलेऊ । सब कुरा रामै्रसँग भएको छ । शायद, अप्रेशन पनि भइसक्यो होला । तिम्रो मान्छे, के नाम थियो उसको ? अँ, अमित । उसलाई सबै थाहा छ । हामी तिमीलाई अस्पताल पुर्याईदिन्छौं ।”

“बहुत मेहरबानी हुन्छ, हजूर ।”

त्यही प्रहरीले उसलाई भ्यानमा राखेर अस्पताल पु¥यायो र छोड्ने वेला फेरि भन्यो– “ल भाइ, यो कुरालाई बिर्सिदिनू । हामीले पनि तिमीहरू जस्तै सोझसीधा जनताको लागि यस्तो गर्नु परेको ।”

कुटाइले सुन्निएको उसको अनुहार देखेर मंगली चिच्याउँदै उठ्न खोजी ।

“गे माई गे माई, केनाके यते चोट लगल हे बुधनाके बाउ ?”

मंगलराम बिस्तारै श्रीमतीको छेउमा गएर फिस्स हाँस्यो ।

“जान बैंच गेलौ वेहा बहुते समझ् ।”

(स्रोत : हिमाल खबर ३ कात्तिक २०७०)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.