~योगेन्द्र काउछा~
गहकिला शब्दका जलपभित्र
नौलो, अनौठो लाग्ने
आशा र विश्वास जगाउने
मानिसका आकृतिहरु
विचारका लहरहरु
मञ्चन हुँदा
लाग्थ्यो,
त्यो,
कहिल्यै मर्दैन
कहिल्यै ढल्दैन
र गल्दैन
अनि, जल्दैन
इतिहास
तर साक्षी बसेको छ
पुरानाहरु हारेका छन्
खसेका छन्
म्युजियममा अटेका छन् ।
कुनै बेला
आदेशको बोलिभित्र
आँसुको तलाउ खन्याउने
लाखौंको मृत्यु गराउने
बोलीमै
कानून चलाउने
बन्दुकको गीत गाउने
हार होइन
जीत खोज्दै संसार धाउने
शक्तिको अहमा
बहलाउने
बाँच्न पनि नजान्ने
बादशाहरु
घोडाबाट खसेका छन्
डाइनासोर बनेका छन्
इतिहासमा सडेका छन्
जीवित रहेकाहरु पनि
जसले
बाँच्न जानेको छैन
युगको प्रवाहमा बेगिदैन
परिवर्तन आत्मसात् गरेको छैन
उनीहरु
प्लाष्टिक र रबरहरु जस्तै
फैलिएर पनि खुम्चिएका छन्
हुन त शुरु
शुन्यबाटै हुन्छ क्यार
नयाँ मानवको नयाँ विचार पनि
मुक्तिको गीत पनि
साँघुरा गोरेटाहरु छिचोल्दै
लामा चौडा सडकसम्म
सुनामीको बहावमा
हावाको फैलावटमा
रम्छ, पक्कै
संसारभर पुग्छ, पक्कै
समयको प्रवाहमा ।
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २३ – April 11, 2012 – २०६८ चैत्र २९ गते, बुधबार)