~अनिल नेम्बाङ~
के गर्दै छौ कान्छि?
स्पष्ट देखिन- अलि माथि उक्ल न
उध्रिएको चोली टालेको छैनौ?
गोठालो दाइ के गर्दैछन्?
सुनिन्न नि उनको देउराली गुन्जिने लोकभाका
तलको नागबेली खोला पनि ठुस्किएर नबोली उँधै बग्दो हो
आँगनको रुखमा नाच्न छाडे होलान् जुरेली
मैले रोपेको लालुपाते कत्रो भयो?
नरिसाउ न कान्छि
उचाइमा पुग्दा सबै सबै त देखिने रहेछ
तर,
अस्पष्ट देखिँदो रहेछ
सबै चिज सानो सानो देखिँदो रहेछ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)