कविता : कविहरुलाई चिठी

~उदय निरौला~

कवि श्यामल ।
तिमी त पतलैयाकै शशीश्यामल हौ
चारकोसे झाडी नै हौ
तिम्रो त्यो हेडलाइट बिनाको ट्रक
जंगलजंगल दौडिरहेछ अझ
गन्तव्य बिना
अँध्यारोमा भीर तिर ।

रावलको तबेलाको घोडा तबेलाबाट फुक्यो
बुर्कुसी रहेछ
बिना लक्ष्य कता हानिने हो
अश्वमेध भएको छैन
समाउने लबकुश जन्मिएका पनि छैनन् ।

विमलाहरु डान्सबार छिर्न थालेकाछन्
कवि विभू
डान्सबार निकै खुलेका छन्
विकास भएकै छ विमलाहरुका लागि ।

कवि निभा
साँच्चिकै नारायणहिटी क्यूरीयो बनेको छ
विदेशी स्वदेशी पर्यटकहरु
म्युजीयम हेरीरहेकै छन्
राजा महाराजाको छालाको पेटी झुण्डिनेछ
दाँत झुण्डिनेछ
र नङ् रौँहरु राखिनेछन् ।

उता गाउँतिर
जंगल बढेको छ
तर बाघहरु छैनन्
श्यालमात्र छन्
स्कूल पाठशाला उच्च मा. वि. भएका छन्
तर त्यहाँ शिक्षक छैन
राजनीति सिकाउने मास्टर छ ।

पर्दा एउटा खस्यो
नपथ्यमा कोही खित्खिताउँछ
पर्दा उघ्रिएन मित्र कविहरु
पर्दा बाक्लिएर लाग्यो ।

गाउँ, पाखामा, कोदो फल्न छाड्यो
गिठ्ठा, भ्याकुर फल्न छाड्यो
समयले गजबको नेटो काट्यो
भाइहरु मुङ्लानिएश
बुढाबुढीहरु डाँडाको घाम तापिरहेका छन्
कुन्नी किन हो ? कविजीहरु
यो देशमा विदेशीहरु पलिरहेछन्
स्वदेशीहरु बाहीरी रहेछन् ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.