~क्षितिज समर्पण~
‘शुभयात्रा रोहित ! राम्रोसँग जानू ।’
कलङ्की चोकनेर पुगेको थिएँ । मोबाइलमा मेसेजको ट्युन बज्यो । गाडीमा मेसेजको ट्युनले मात्र के थाहा पाउँदो हुँ । मोबाइल भाइब्रेट भएपछि मात्रै थाहा पाएँ । यस्तै कोलाहल र होहल्लामा काम लाग्ला भनेरै होला मोबाइलमा भाइब्रेट सुविधा राखिएको ।
हेरेँ, सन्ध्यको मेसेज रैछ ।
‘थ्याङ्क्यु डियर । मिसिङ यू अ लट ! टेक केयर ।’
बढी लेख्न सक्ने अवस्थामा थिइनँ । मन यसै पनि भारी भएको थियो । कालो बादल थोपरिएको आकाशभन्दा पनि धुम्म भएको हुँदो हो सायद त्यो बेला । ठूलो भारीले थिचे जस्तै गह्रुँगो महशुस भइरहेको थियो ।
मेरो मोबाइलमा टेक्स्ट छोडनुपूर्व उसले फेसबुकमा स्टाटस पोस्टिसक्या रैछ । उसको मेसेजको रिप्लाई गरिसकेपछि सर्र टाइमलाइन नियाले । निकै भावुक बनायो उसको लेखाइले । ठूलो कुरा त खासै केही लेखेकी थिइनँ । तर जीवनमा सानै कुराको पनि खूब अर्थ हुँदोरहेछ । मन पनि कहिलेकाहीँ सानै कुरामा खुशी भइदिन्छ । सानै कुरामा भावुक बनिदिन्छ । सायद, भावुकताको अर्काे नाम नै मन होला । अनायसै आँखाबाट आँशु खसे ।
साला यी आँशु पनि जहाँ पायो त्यहीँ खसिदिन्छन् ! कुनै मूल्य छैन यी आँशुको । सन्ध्याले त्यसै भनेकी होइन– ‘तिमी साह्रै पिन्चे छौ रोहित ।’
पुलुक्क छेउको सिटमा बसेको यात्रीलाई हेरेँ । ऊ मोबाइलमा क्यान्डिक्रस खेल्नमै व्यस्त थियो । एअरफोन कानमा घुसाएँ । मोबाइलमा भएको पुरानो हिन्दी गीत बजाएँ ।
हम तुम्से न कुछ कहे पाए …
सन्ध्यासँगको सम्बन्धको इतिहास लामो छैन । मनको सम्बन्ध स्थापित हुनुमा धेरै पहिले भेट्नु र नभेट्नुको कुनै अर्थ हुन्छ वा हुँदैन थाहा छैन । तर जीवनमा कसैसँग यति नजिक भएको थिएँ भने त्यो सन्ध्या नै थिई । जोसँग नभेट्दै मनका कुरा हुन थालिसकेका थिए । भन्नुपर्ने बाँकी केही छँदै थिएन । रित्याइसकेका थियौं आफूलाई । अझ भनौं प्रेमिल सम्बन्धको आकाशमा हामी निर्धक्क उडिरहेका थियौं– चराजस्तै । प्रेम नामको एउटा चरा निर्धक्क उडिरहेको थियो हाम्रो मनको निलो आकाशमा । हामी यति आत्मीय र यति धेरै नजिक भइसकेका थियौं कि दिनमा कम्तीमा तीन पटक फोन र अनलाइनमा कुरा भएन भने के छुटयो के छुट्यो झैं लाग्थ्यो– कमसेकम मलाई ।
‘मलाई पनि उस्तै त हो ।’ सन्ध्या भन्थी, ‘आजसम्म सम्हालेर राखेको मन चोरिछाड्यौ है ?’
म खितित्त हाँसेको स्माइली पठाउँथे र भन्थेँ– उसो भए चोरी अभियोगमा जेल पठाऊ न त !
‘जेल ? जेल त तिमी यसै पनि परिहाल्यौ रोहित’, सन्ध्या भन्थी– ‘मेरो मायाको जेलमा । मेरो मनको घेराबन्दीमा । अब निस्किन गाह्रो पर्ला रोहित ।’
मसँग बोल्नलाई शब्दै हुँदैनथ्यो । च्याटमा फेरि उही स्माइली पठाउँथे ।
….
भौगोलिकताले सम्बन्धमा असर पार्दाे हो त सन्ध्यासँगको यो निकटता सम्भवै थिएन । म दूरदराज छु । ऊ सपनाको सहर काठमाडौंमा छे । सपनाले डोर्याउँदै उसलाई त्यहाँसम्म पु¥याएको । कुनै दिन मेरो सपनाले पनि त्यहाँसम्म पु¥याउला ?
‘काठमाडौं कहिले आउँछौ रोहित ?’
उसले प्रायः सोध्ने प्रश्न नै यही हुन्थ्यो । म उसलाई आश्वस्त पार्थें, ‘समय मिलाएर आउँछु नि सन्ध्या ।’
तर यो सुदूर ठाउँबाट काठमाडौं जाने समय मिलाउनै सकस थियो । भेटको मीठो कल्पनामा मन उद्वेलित हुन थालिसकेको थियो । तर लगातार २४÷२५ घण्टाको यात्रा गरेर उसलाई भेट्नकै लागि काठमाडौं जान त्यति सहज थिएन ।
‘तिमीविना शून्य लाग्छ रोहित यो सहर । यो सहरका हरचिजहरु फिक्का लाग्छन् तिमीविना । यो कोलाहलको कुनै प्रवाह छैन– तिम्रो अनुपस्थितिमा । सब बेकार लाग्छन् तिम्रो अभावमा । कि तिमी छिटो आऊ, नत्र म उतै आउँछु ।’
सन्ध्या घुर्की मिसाएर इमोसनल बनाउँथी मलाई ।
फेसबुकमा भएको हो हाम्रो पहिलो भेट । मेरो गाउँमा फेसबुकमै भेट भएर वैवाहिक सम्बन्धमा बाँधिएका एकजना दाइ हुनुहुन्छ । भाउजू पूर्व विराटनगरको । पूर्वको मान्छेलाई फेसबुकले पश्चिम पु¥यायो । बहुत प्रेम छ दाइभाउजुमा– बिहेपछि पनि । मेरो मनमा पनि कताकता ईष्र्याको भाव जागृत हुन्थ्यो । मैले पनि यस्तै सहयात्री पाउन पाए !?
त्यसै दिनदेखि हो फेसबुकमा राम्रो अनुहार गरेको केटीको फोटो देखेपछि उसको टाइमलाइन हेर्न थालेको । अनि ऊ केटी मान्छे नै हो भन्ने ‘कन्र्फम’ भएपछि ‘रिक्वेस्ट’ पठाउन थालेको । सन्ध्यालाई पनि यसरी नै रिक्वेस्ट पठाएथेँ ।
कालो टिसर्ट । कर्ली कपाल– जसमा थोरै ब्राउन कलर मिसिएको । नाकको डाँडामा अडेस लागेको फाइबरको चस्मा । चोकोफन जस्ता ओठ । अनि, मुक्त आकाशको मुनिपट्टि फुक्काफाल उभिएको उसको कभर फोटो ।
उसका दुई÷चारवटा स्टाटस पनि नियालेँ । जीवन भोगाइका सौन्दर्य, अलिअलि साहित्यिक कुरा, अलिअलि केही गरौं भन्ने भावनाले अभिप्रेरित उसका भनाइहरु । यस्तैयस्तै थिए । रिक्वेस्ट पठाको यस्तै आठ÷दस दिनपछि हो क्यारे, उसले एसेप्ट गरेको ।
एसेप्ट होला भन्ने आश पनि मरिसकेको थियो । किनभने यसरी धेरैबाट धेरैचोटि निरास भइसकेको छु । कोही कोहीले मात्र एसेप्ट गर्थे । तर कुरा गर्न खोज्यो बोल्दै नबोल्ने । मन नलागी नलागी ‘अनफ्रेन्ड’ गर्नुपरेका थुप्रै घटना छन् ।
धन्न सन्ध्याले चाहिँ कुरा गर्न थाली । सुरुमा उसले पनि भाउ नखोजेकी कहाँ हो र ? छोटो छोटो जवाफ दिने उसको बानीले दिक्क बनाउँथ्यो । लाग्थ्यो–सन्ध्याजस्तो घमण्डी केटी दुनियाँमा छैन ।
तर विस्तारै खुल्दै गई । म पनि साहित्यको विद्यार्थी । कहिले साहित्यका कुरा भए, कहिले जीवन भोगाइका कुरा । चलिरह्यो फेसबुकमा लाइक कमेन्ट पनि । त्यसपछि लाग्न थाल्यो– सन्ध्याजस्तो असल केटी दुनियाँमा छैन !
उसको बोल्ने शैली, तर्क गर्न सक्ने शक्ति, जीवनप्रतिको बुझाइ, यी सबै कुराले कसोकसो म उप्रति आकर्षित भइसकेछु । वास्तवमा सन्ध्याजस्तो मान्छे मेरो जीवनमा आउनुपर्छ, सायद मनले यस्तै केही सोचेको हुँदो हो । लाग्थ्यो– मेरो जीवनमा सन्ध्याको जस्तो स्थान अरुले लिनै सक्दैन ।
कैले रिस । कैले ठट्टा । कहिलेकाहीँ त दुई चार दिन बोलचालै बन्द । यसरी अघि बढ्दै थियो हाम्रो सम्बन्ध । विस्तारै माया प्रेमका कुरा हुन थाले । उसले केही हदसम्म मलाई बुझी । मैले केही हदसम्म उसलाई बुझेँ ।
एक दिन भनेको थिएँ– ‘सन्ध्या ! हुन त, यो भर्चुअल दुनियाँको कुनै विश्वास हुँदैन भन्छन् । तर, तिमीलाई फेसबुकमा भेट्टाए पनि मेरो मनले भेटाएझैं लाग्न थालेको छ । प्रविधिको साँघुरो दुनियाँमा भेटिएकी साँघुरो पात्र होइनौ तिमी । तिमी त मेरो जीवनको विशाल फाँटमा आएकी छ्यौ । अटाएकी छ्यौ मेरो हृदयको विशाल सिंहासनमा र हिनेकी छ्यौ मेरो मनको राजमार्गभरी !
….
जीवनमा पहिलोपटक काठमाडौंलाई छुने अवसर आइपुग्यो । सन्ध्याले पटक पटक सोध्ने प्रश्नको उत्तर समाप्त हुँदै थियो । मन यति खुशी थियो कि एकातिर पहिलोपटक काठमाडौंमा पाइला टेक्दैथिएँ । अर्काेतिर कोही खास मान्छे छ । पर्खेको थियो कसैले । मन यसै पनि चङ्गा भइरहेको थियो ।
रेडियोले तालिमको सिलसिलामा काठमाडौं पठाउने निर्णय गरेको दिनै सन्ध्यालाई फोन गरेको थिएँ– ‘सन्ध्या ! म भोलि आउँदैछु । पर्खेर बस्नू ।’
‘पर्खाइ त यसै पनि छ रोहित । तिमीले भने पनि नभने पनि । धेरै भयो मैले तिमीलाई पर्खिन थालेको । कैयौं दिन सपनामा पर्खिएँ । कैयौं दिन विपनामा पर्खिएँ’ सन्ध्याको जवाफ आयो– ‘यो पर्खाइको पर्खाल त्यतिबेला भत्किनेछ जतिबेला तिमी मेरो समीपमा हुनेछौ । जतिबेला तिम्रो आँखामा आफूलाई हेर्नेछु ।’
यो खबरले सन्ध्या पनि निकै खुशी सुनिएकी थिई । मानौं, म परदेश गएको लाहुरे थिएँ । ऊ रात दिन मेरै प्रतीक्षामा बसेकी फूलकुमारी थिई । जसलाई मैले सिन्दूर दिएको थिएँ, चुरा दिएको थिएँ । दिएको थिएँ जीवनमा केही वर्षहरु, केही हर्षहरु । त्यही सिन्दूर, चुरा र पोतेलाई प्रियवर सम्झिँदै बसेकी मेरो मुना थिई ऊ । म मदन थिएँ– जो आफ्नी प्रियसीका लागि खुशी किन्न भनेर पर्देश पसेको थिएँ ।
…
बागबजारको कफी सप । टेबल नम्बर पाँच । बाहिर थोरै झरी । खासै चिसो चाहिँ हैन यो मौसम । तर बाहिर परेको झरीले केही चिसोको अनुभूति भने पक्कै दिलाएको छ ।
गाउँमा यतिबेला घाम डुबिसक्यो होला !
धेरै बेरसम्म एकाअर्काले सीधा नजर हेर्न पनि सकेनौं । मभन्दा बढी सन्ध्या नै लजालु देखिन्थी । फेसबुक र फोनमा त्यत्रो कुरा भइसक्दा पनि किन प्रत्यक्ष भेटमा असजिलो महशुस हुन्छ कुन्नि ?
‘समय मिलाएर कतै घुम्न जाउन सन्ध्या’, कफीको चुस्की लिँदै भनेँ, ‘यो कोलाहल भन्दा अलि पर… । जहाँ बाँड्न सकियोस् जीवनका केही खुशीहरु ।’
सायद उसको पनि यही चहाना हुँदो हो भनी– तिम्रो तालिम कैले सकिन्छ रे ?
–पर्सि ।
–उसो भए निपर्सि कतै जाऊँ न त । म समय मिलाउँछु । बरु कता जाने ?
–म विल्कुल नयाँ छु यो ठाउँमा । कता लैजाने तिम्रो जिम्मा ।
–उम्म ! ओके ! धुलिखेल जाउँला ।
–हस् !
छोटो भेट, छोटो कुराकानीपछि हामी छुट्टियौं । सन्ध्यासित तीन दिनपछि धुलिखेल घुम्न जाने कुराले मन निकै उद्वेलियो । बेलुका आँखा चिम्म गरेर बिहान ब्युझिँदा एकैपटक तीन दिन बितिदिए हुन्थ्यो जस्तो लाग्न थाल्यो ।
कफीसपबाट छुट्टिँदा सन्ध्याले हग गरी । कानको छेउमा हल्का चुम्बन पनि । फेरि अर्काे आनन्द थपियो जीवनमा । अर्काे खुशी थपियो ।
जीवनमा केटीमान्छेको अँगालो र चुम्बन पाएको यो पहिलो पटक हो । थोरै काउकुती र असजिलो जस्तो महशुस भयो । शरीर जिरिङ्ग भयो । वरिपरि हेरेँ । मान्छेहरुको भीड बाक्लो थियो । तर, हामीप्रति कसैको ध्यान थिएन । आखिर, कसलाई कसको वास्ता छ र यो सरहमा ?!
यद्यपि सन्ध्यालाई चुम्बनको जवाफ दिने आँट आएन ।
…
‘के छ सन्ध्या ? भोलि कति बजे हिँडौं ?’
फोन उठाउने बित्तिकै एकै सासमा सोधिहालेँ । व्यग्र प्रतीक्षा थियो । यति व्यग्र त सानोमा बा हाट जाँदा पनि भएको थिइनँ । किनभने बा हाट जाँदा केही न केही खानेकुुरा ल्याएर आउनुहुन्थ्यो । केटाकेटीमा त्योभन्दा ठूलो के नै हुन्थ्यो र ? दिनभर बा आउने बाटो हेरेर बिताइन्थ्यो ।
मेरो प्रश्नमा सन्ध्याले जुन जवाफ दिई त्यसले मलाई खपिनसक्नुको पीडा भयो । छाँगाबाट खसेजस्तै भएँ । हातखुट्टा गलेर आए । निकै थकानको महशुस भयो । मनमा सन्नाटा छायो । निकै समयको प्रतीक्षाको पर्खाल गल्र्याम्म भत्कियो । बोल्नै सकिनँ, गला रोकिएर आयो । एकहोरो सन्ध्याको कुरा सुनिरहेँ र उसको कुरा सुनिरहेको प्रमाणित गर्न बीचबीचमा थोरै सास मात्र निकालेँ ।
त्यतिबेला मेरो अनुहार कस्तो भएको हँुदो हो ? उसलाई फोन डायल गर्दा मेरो अनुहारमा देखिएको उत्साहको चमक र अहिलेमा कति भिन्नता होला ? यो अवस्थालाई कम्प्युटरमा झैं ‘अन डु’ गरेर हेर्न मिल्ने भए जरुर हेर्ने थिएँ ।
‘सरी रोहित ! आ’म भेरी भेरी सरी !
विश्वास छ– तिमीले मलाई बुझ्नेछौ । मैले भोली ‘टायम’ दिन नसक्ने भएँ रोहित । अफिसको कामका लागि बिहानै हेटौंडा जानुपर्ने भयो । सायद दुई दिन जति उतै बसाइ हुन्छ होला । मलाई पनि रहर थियो– तिमीसित कतै टाढा गएर मनका कुरा गरौं । यो मनमा वर्षाैँदेखि रहेको भारी केही समयलाई भए पनि बिसाउँ । थाहा छ– आफ्नो मान्छेसँग विताएका एक एक पलहरु अमूल्य र आत्मीय हुन्छन् । तर तिम्रो समीप बसेर मन फुकाउने धोको यसपालि अधुरै रह्यो !
रोहित ! थाहा छैन आजको मेरो बाँकी समय कसरी बित्यो । कलेज गइयो तर, के पढाइ भयो त्यो पनि याद छैन । कसरी गएँ, कसरी आएँ कुनै सम्झना छैन । याद जस्तै छरपस्टिएका छन्– किताब कापी । उस्तै लथालिङ्ग छ मन पनि । म एकदमै निःशब्द र दुःखित छु ! यति व्यस्त भइएछ कि आफ्नै खुशीका लागि पनि समय निकाल्न सकिएन !
उसको कुरा सुनिसकेपछि मैले यत्ति बोल्न सकेँ– ‘ठीकै छ सन्ध्या ! यो सबै मेरै नसिबले भएको हो । जुन मान्छेको भाग्यमा खुशीको कुनै स्थानै छैन भने त्यो मान्छेले खुशी सँगाल्छु भनेर नहुने रहेछ । आखिर जीवन भनेको के नै हो र ? थोरै कल्पना, थोरै सपना न हो । त्यही थोरै कल्पना थियो, त्यही थोरै सपना थियो– तिमीसितको । तर त्यही पनि पूरा हुन सकेन सन्ध्या ।’
बोल्नै सकिएन, गला रोकियो । सन्ध्याले पनि बोल्न सकिन । सायद रोइरहेकी हुँदी हो । पटक पटक घिक्क ! गरेको मसिनो आवाज आउँथ्यो ।
‘टेक केयर सन्ध्या !’ फोन राखिसकेपछि मेसेज लेखेँ ।
‘यु टू !’ रिप्लाई गरी ।
एकफेर आँखा झिमिक्क नगरेर रात कट्यो । जीवनमा पहिलोपटक अनिदो बसियो ।
गाडी थानकोट पुग्नै लाग्दा मनमा अनेक तर्कनाहरु आउन थाले । सन्ध्याका विषयमा शङ्का गरौं कि विश्वास ? शङ्का गरौं त्यत्रो माया गरेकी छ । त्यति धेरै कुरा भनिसकेपछि शङ्का गरेर पाप सोच्न पनि मन लागेन । विश्वास गरौं, वचन तोडेकी थिई । आफ्नै आँखाले देखेको कुरा त सत्य हुँदैन भने उसले भनेका कुरामा सत्यता छ भनेर म कसरी विश्वास गरौं ?
मनले पनि यस्तो बेला अनेक शङ्का गर्दाेरहेछ । जसलाई सबैभन्दा बढी विश्वास गरिन्छ, कहिलेकाहीँ उसैलाई शङ्का गर्न मन लाग्ने । यो विश्वास र शङ्का पनि एउटै सिक्काका दुई पाटा जस्तै रहेछन् ।
…
किन किन उसलाई फोन गर्न मन लागेन । झण्डै १५ दिनसम्म फेसबुक पनि खोलिन । फेसबुक खोल्दा ऊ अनलाइन भेटिन छोडिसकेकी थिई । काठमाडौँबाट आएको १७ दिनपछि उसलाई फोन ‘ट्राई’ गरेंँ तर, अफ भन्यो ।
सुवीन भट्टराईको समर लभ उपन्यासको अतितको जस्तो हालत भइरहेको थियो । उत्तिकै विक्षिप्त थिएँ । फरक यत्ति हो अतितले जस्तो रक्सीको नसा लिन सकेको थिइनँ । चुरोट भने पहिलेको तुलनामा बढी नै पिउँन थालेको थिएँ । सन्ध्याले पनि त सायाको जस्तो व्यावहारिक चरित्र प्रस्तुत गरेकी थिई । फरक यत्ति हो, साया अतितलाई कुनै जानकारी नै नदिएर हराएकी थिई । सन्ध्या म ‘टायम दिन नभ्याउने भएँ’ भनेर गएकी थिई । तर, अहिले सन्ध्या र सायामा कुनै फरक छैन । न फोन, न अनलाइन, न फेसबुकमा अपडेट ! सताउनुको पनि हद हुन्छ नि यार !
उसले मलाई देखाउने व्यवहारले लाग्दैनथ्यो यसरी खबरै नगरी हराउली भनेर । कति विश्वास र समर्पण भाव थियो उसमा । कति इमानदार र मायालु लाग्थी मेरी प्रिय सन्ध्या !
मनमा पटक–पटक अतित र सायाको पुनर्मिलनको कुरा याद आइरह्यो । सन्ध्यासित पनि त्यस्तै मीठो पलको कल्पना गरिरहेँ । सन्ध्या कहाँ छ भन्ने मात्रै थाहा पाएको भए बरु म आफै पुग्थे ऊ भएको ठाउँ । तर उसको पूरै हालतदेखि बेखबर छु । अनि कहाँ जानू म ?
अचानक सन्ध्या भेटिई !
आरआर क्याम्पस बाहिरपट्टीको क्यान्टिनमा चिया पिइरहेको थिएँ । सिमसिम पानी परिरहेको थियो । ब्याचलर सकेर मास्टर पढ्न काठमाडौं पसेको पनि डेढ वर्ष भइसकेछ । सन्ध्यासँग सम्पर्कविहीन भएको तीन वर्ष ।
सन्ध्या भेटिनु त भेटिई । तर मेरी हो भन्ने कुनै आधार नहुनेगरी भेटिई । हुन त, ऊ मेरी हो भन्ने खास आधार के नै थियो र ?
हातमा सानो प्लास्टिक ब्याग । नाडीभरी चुरा । सुनको बाला पनि थियो बायाँ नाडीमा । कपाल स्टेट गरिछ । सिउँदोको सिन्दूर प्रष्ट देखिन्थ्यो । हरियो बुट्टा गरेको पहेंलो कुर्तासुरुवालमा थिई सन्ध्या । पहिलेभन्दा अलि मोेटाइछ । ओेठको गाढा लाली बहुतै सुहाएको थियो । उसँगै हिँडिरहेको थियो एउटा अधवैंसे पुरुष । जसको हातमा गुडियाजस्तो लाग्ने झण्डै पन्ध्र महिना जतिको बच्चा थियो । अलि पर बाटोको बायाँछेउ रोकेको कारतर्फ जाँदै थिए उनीहरु ।
सन्ध्यालाई बोलाउन मन लाग्यो । पिउँदै गरेको चिया आधाउधी छोडिदिएँ । चुरोटमा पनि दुई÷चार पफ बाँकी नै थियो । हतारमा सन्ध्याहरु भएको ठाउँतिर लागे । छिटोछिटो पाइला चाल्छु भन्दा पनि हुँदै हुँदैन । सपनामा ऐठन परेको बेला यस्तै हुन्थ्यो ।
कारछेउ पुग्दा बोल्न आँटै आएन । शरीर काँपेको जस्तो भयो । मुटुको गति स्वभाविक भन्दा बढ्यो ।
हातको प्लास्टिक ब्याग कारको पछाडिको सिटमा राखेर सन्ध्या अगाडिको सिटमा बसी । बच्चा समातेको पुरुष, ड्राइभर सिटमा बस्यो । उसले समातेको बच्चा सन्ध्याले काखमा लिई ।
सन्ध्या कककककक !
सन्ध्याले कारको ढोका लगाउँदैै गर्दा हिम्मतका साथ बोलाएँ । ड्राइभर सिटको पुरुषले गहिरो नजरले हे¥यो । तर सन्ध्या केही बोलिन ।
सन्ध्या ! म्म्म ः रो.. रोहि… त..!
सन्ध्याको अनुहारमा कुनै परिवर्तनको भाव देखिएन । विलकुल अपरिचत जस्तो गरी प्रस्ततु भई । ‘हु आर यु म्यान ? आइ डोन्ट नो !’ सन्ध्या बोली, ‘सायद तपाईंलाई भ्रम प¥यो होला । सरी आ’म नट सन्ध्या !’
उसको काखको बच्चा मतिर हेर्र्दै गिजा देखाएर ङिच्च हाँस्यो । थोरै हात हल्लाए जस्तो ग¥यो । के सोच्यो कुन्नी ?
‘राजा जाऊँ !’ सन्ध्याले ड्राइभर सिटमा बसेको पुरुषलाई भनी । कार टुडिँखेलतर्फ गएर दक्षिण मोडियो । रुखले छेलिउन्जेल हेरिरहेँ । मनमा लामो समयदेखि गुम्सिएको एउटा प्रश्नको उत्तर भेटियो ।
घाम धरहराको टुप्पोबाट ओर्लिंदैछ । म भने बेसरी ‘मात्तिने’ सोचले पुरानो बसपार्कतिर उक्लिँदैछु । समय र मौसम दुवैले च्यालेन्ज गरेका छन् आज ।
अघि सन्ध्याहरु दक्षिण लागेको दोबाटोनेरबाट उत्तर लागेँ । थोरै अगाडि पुगेको थिएँ, मोबाइलमा मेसेजको ट्युन बज्यो । हेरें, नयाँ नम्बरबाट आको रैछ–
सरी रोहित ! आई वाज सन्ध्या ! बाई फर इभर !!
(स्रोत : Ratopati.com)