कविता : एउटा मान्छे !

~विप्लप प्रतीक~biplav-prateek

म देखिरहेछु त्यो एउटा मान्छे
एक्लै हिँडिरहेछ- मानिसहरूको विशाल भीडमा ।
ठोक्किन्छ एक्लै, सम्हालिन्छ एक्लै
रुन्छ एक्लै, सहन्छ एक्लै
अनि मुसुक्क हाँस्छ- आफू एक्लै ।
उभिन्छ, हेर्छ, मोडिन्छ अनि फेरि हिँड्छ
उकाली ओरालीमा, समथर मैदानमा
हिमाल, पहाड र मरुभूमिमा- एक्लैएक्लै ।
बिहान, दिउँसो, राति एक्लो
सोचाइ, चिन्तन र छलफलमा एक्लो
खोजीमा, बुझाइमा
अनि हराउनु र भेटाउनु सबैमा एक्लो ।
शिशिर, वसन्त, शरद, हेमन्त
आगो, आँधी, भुइँचालो, भेल
जहाँजहाँ भेट्छौ, उसलाई एक्लो भेट्छौ
घृणा, माया, मुक्ति, बन्धन
जताततै र सधैंसधैं एक्लोएक्लो ।
त्यो हीराजस्तो मानिस
हराउँछ कि भनेर,
त्यो पवित्र हृदयको मानिस
मेरो दुनियाबाट भाग्छ कि भनेर,
अचेल मलाई एकदमै डर लाग्न थालेको छ ।
मलाई सुर्ता लाग्दैछ
डायनोसरझैं कतै त्यसको वंश विलुप्त त हुने होइन ?
मलाई डर लाग्दैछ
कुनै प्राचीन तर स्मृतिमा नरहेको एउटा युगझैं
त्यो मान्छेको गाथा किताबका पन्नामा पनि नरहने त होइन ?
त्यसैले धेरै दिनदेखि म उसलाई पछ्याइरहेछु
ऊ एक्लो नहोस् भनेर ।
तर, एकदिन अचानक
मलाई झुक्याएर
कुन्नि कुन दिशातर्फ
त्यो मान्छे कुन सड्को अल्पिसकेछ- फेरि एक्लै ।
… एउटा मान्छे देखेको थिएँ
एक्लै हिँडिरहेको भीडमा र सुनसानमा पनि ।

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.