~रमेश दियाली~
हे ! ईश्वर यो कस्तो दुबिधा ? कस्तो टाउको दुखेको, फुट्छ की क्या हो ? पहाड खसे झै भैराछ । यस्तो त कहिल्यै भा थेन । बरै । शरीरभरि काँडा उम्रे । २० को १९ भा छैन । ३ महिनादेखि ओछ्यानको ओछ्यानमै छन्, बा । घर लथालिङ्ग छ । खेत जोत्ने मान्छे छैनन् । कोदो पनि रोप्नुपर्ने । खेताला खोज्नुपर्ने । बाच्छो हराएको ५ दिन भईसकेछ । यता बा आज हो की भोली हो । सोचें, म बाहिर सुत्नुपर्र्यो । बिहान गोरूलाई घाँस हाल्न सजिलो हुन्छ । निन्द्रा पटक्कै लाग्या छैन । लगभग रातको ३ बजेको हुँदो हो । म झपक्क निदाएछु ।
घरभित्र मूल खाँबोको देब्रेपट्टी, बा कै छेऊमा पलेटी कसेर बसी रहेको थिएँ । सेतो टोपी र सेतै कमिजमा सजिएर फुच्चे केटो मेरो कानमा आएर ‘असोज १७’ गते भन्दै बालाई एकोहोरो हेरी मूल दैलो हुँदै हरायो ।
मेरो शरीर पसिनाले लुथु्रक्क भिजिसकेको थियो । मेरो आवाज घाँटीसम्म आएर भित्रभित्रै रोकियो । म कराउन खोजें, चिच्याउँन खोजे र अन्तमा रून खोजें । तर अँह, म थाकें । म भित्रभित्रै निस्सासीएर झल्याँस्स बिउँझे । बिहानको ९ बजिसकेछ । सूर्यले आफ्नो किरणहरु धर्तीमा फिजाउँदै गर्दा म पिडीमा बसेर चियाको चुस्कीसँगै सुर्तीको धुँवा वरिपरी बसिरहेका थिए । घरै मुनितिर खमारीको रूखमा एक हूल कागहरू आएर का… का… गर्दै कराउन थाले । पुलुक्क हेरें । एउटा उडेर गयो । अरू आआफ्नै भाकामा छन् । , काग.. काग..। जा…. पर जा.. भाग… भाग भनेको ? ढुगां टिपेर तर्साएँ ,र भागें । सोचें, अब राम्रो छैन ।
मनमनै यसो सोची रहँदा आकाश गड्याङ्गुडुङ गर्दै पानी पर्न थाल्यो । पानी रोकिएको थिएन । तिब्र गतिमा परिरहेको पानीमा भिज्दै भिनाजु आईपुगे । आच्छु..छु । कस्तो मुसालधारे पानी परेको । भिनाजुले यसो भनिरहँदा, मेरो विपरित दिशामा भएको पिर्कामा टुसुक्क बस्दै सुर्ती सल्काएँ । सायद जाडो भएछ क्यारे । ए, भिनाजु, आवाज फुत्त फुत्की हाल्यो । बा सिकिस्त छन् । के हुन लाग्यो होला ? मैले सपना पनि यस्तो देखें । खै के हुन्छ है ? मलाई डर लाग्न थाल्यो । लौ न भिनाजु । असोज लाग्ने मसान्त लाग्यो । बाहुन बाजेलाई डाकेर जप पढ्यौं ।
त्यो दिन बित्यो । भोलीपल्ट संक्रान्ति थियो । गाई गोरूको बा…आँ… आवाज मेरै कानमा आएर ठोक्कियो । बिचरा, के गरून् त भोक लागेपछि ? कुँडो बनाएर लगि दिएँ । साँच्चै मानिस र पशुहरूबिच खुब मिठो पारिवारीक सम्बन्ध छ हगी । हाम्रो खुसीमा बाँचेका छन् । खुब रमाएर खाए । दु:ख एउटा जिवनको पाठशाला न हो, जसले जिउँन सिकाउँदो रहेछ, भन्थे बा ।
आङ नै सिरिङ्ग पार्ने जिवनका कठिन भोगाईलाई एकमुस्ट बनाएर यात्रा गर्नुपर्ने । दिनभरिको थकान, कताको रोपाँई, कताको जोताईले गर्दा साँझ परेको पत्तै भएन छ । झपक्क साँझ पर्न लागेको थियो । म आँगनमा आगो ताप्दै सुर्ती पिउँदै गर्दा बाहिरै आवाज सुनियो । दौडेर भित्र गएँ । बा रहेछन् । बा को आँखा धमिलो थियो । के भो बा ? म केशब, तिम्रो कान्छो छोरो । बा ले पुलुक्क हेरे । दिसा लागेछ । घरमुनीतिर डिलकै छेउमा, बोतलमा पानीसँगै बालाई बोकेर रूख मुनि राखें । बाको लौरो छोडिएछ । नातिनिले दौडेर ल्याई दिई । बा लाई औधी माया गर्छे र बाले पनि । साउको भन्दा ब्याजको माया धेरै भने झैँ, खाँदा, बस्दा धेरैजसो बासँगै हुने भएकोले पनि होला सायद, सधैँ बाले नातिनिलाई नै खोजिरहन्थे । बा, यहि बस । मानेन बा ।
बोट बिरूवा, रूख पात, बाटोघाटो र चौतारीमा दिशा पिसाब गर्नु हुन्न भन्दै बाले सम्झाउँथे केटाकेटी हुँदा । आज सम्झें । बा भन्ने गर्थे (यी रूखहरूमा त हामीले पुजा गरेका छौं । कति आस्था र बिश्वास । यस्तो सोची रहँदा फेरी बालाई बोकेर पाईखाना लैजाउ भन्दा बा पलक्कै पल्टेर टाउको ढुगांमा गएर ठोक्कियो । म आत्तिएछु । बा….. बा…. भन्दै गर्दा बोतलको पानी पोखिएर बाको खुट्टा पुरै भिज्यो । के गरूँ र कसो गरूँ भयो । म आपतमा परें । लौन बा लडें । बा. बा भन्दै गर्दा आमा र कान्छी बहिनी दौडेर आए । उमेरको हिसाबले आमा ५० काटिसकेकी थिईन् ।
बहिनीको नाम सीता । सारै राम्रो हाँस्छे । आफ्नो जीऊको सफाईमा खासै ध्यान दिन्न । उमेरले १५ टेकिछे । गाऊँको सरकारी स्कूलमा ५ कक्षा पढ्दै गर्दा आमालाई सघाउने बहानामा स्कूल छोडेकी थिई । बहिनी आमा र मैले बोकेर घरको मझेरीसम्म त लगियो तर मूल प्राण त गई सकेछ । आमा बाको टाउको मुसार्दै रून लागिन् । बहिनीको रूवाईले गाउँका मान्छेहरू हतारिदै आई हाले । मुखियाले हातको नाडी छाम्दै गर्दा बाले सास फेरे । सास अझै बाँकी छ । मेडिकल लानुपर्छ भन्दै थिए, मुखिया । अब ढिलो नगरेस् । मरे पनि बाँचे पनि एक चोटी मेडिकल लानै पर्यो । भाई कान्छो, छिमेकी दर्जी ठूले र भारवाला मिलेर बालाई डोकोमा बोक्यौं । लाग्यौ बाटोतिर । हिजो रातभरीको पानीले ललै खोला र तगला खोला उल्लेर असमेल भाको छ । छिटै आईज है कान्छा । सानोमा यसलाई हात्ती पनि भन्थे । हात्ती जस्तै बलियो थियो । बोली अलिक लट्याङ्ग्रो बोल्थ्यो ।
नाम चै नन्दलाल हो । बालाई बोकेका छौं । हेर्दा हेर्दै पानी कम्मर हुँदै घाँटी सम्म आईहाल्यो । हे प्रभु ! यो आपत्तीमा हामीलाई बचाऊ । मनमनै ईश्वर सम्झे । बल्लतल्ल खोला पारी पुग्यौं । हामी सबै थकित भयौं । कस्तो गर्हुंगो बाको शरीर । गेलुफु मेडिकल लानुपर्ने । नाऊमा राखेर माओ खोला हुँदै मेडिकल पुर्यायो । डाक्टरी जाँचबुझ अझै बाँकी थियो । झिनो आशा थियो । सन्नाटासँग गाँसिएर आकाशतिर सुर्तीको धुँवा उडाई रहँदा भोटे डाक्टरले बेस्सरी गाली गरे ।
अस्पताल वरिपरी सुर्ती पिउन मिल्दैन । हत्त न पत्त फ्याँकिदिए । मेरा बालाई कस्तो छ ? सोध्नै नपाई डाक्टर सरासर हिंडिहाले । यी भोटेहरू यस्तै हुन्छन् । हामी नेपालीहरुलाई खोक्रो र रित्यो ठान्छन् । एकातिर नेपालीहरुलाई देश निकाला गर्दै सयौँ नेपालीहरुलाई बिनाकारण हत्याराको अभियुगमा जेलमा थुनि यातना दिईरहेको थियो । भुटानको कूर शासकहरूद्वारा हजारौँ भूटानी नागरिकहरुलाई देशबिहिन बनाई समाप्त पार्ने षडयन्त्रको खेल भईरहेको थियो दरबारमा ।
दक्षिण भूटानमा सैनिकहरूद्वरा दिदि, बहिनीहरू माथि बलात्कार गर्दै हात खुट्टा काटी जंगलमा फाली दिएको घटना खुब सुन्न पाईन्थ्यो । कति त मेरै गाऊँको चेलीहरू पनि सैनिहरूको शिकार भएका छन् । जतिबेला भूमिसुधार कार्यान्वयन गर्ने र नेपालीहरूको हक हित र अधिकारको लागि लड्दै गर्दा भूटानको तानाशाही सरकार विपक्षमा उभिएर राष्ट्रप्रेमी माहसुर बस्नेतको (क्षेत्री) निर्मम हत्या गरि सुनकोसीमा बगाई दिएको थियो ।
हामीहरूको जग्गा जमिन हड्पिएको अवस्थामा घर सम्पत्ति जफत गरेर पनि सिमाना या भनांै देश नै छोड्नुपर्ने बाध्यता थियो । बिहानको समय हुँदो हो । ठ्याक्कै समय याद भएन । ढिंडो नखाएको दुई दिन भएको थियो । केही खानु पर्यो भन्दै गर्दा हस्याङ फस्याङ् गर्दै बले आईपुग्यो । बले मेरो मित भाईको छोरा । सुँक्क .. सुँक्क गर्दै रून थाल्यो । के भो बले ? किन रून्छेस् ए ? ती आँशुले भरिएको आँखा पुछ्दै बले बोल्यो राती पुलिसहरू आएर बहिनी सीतालाई लगे । के भन्छ यो ? मैले सोधे ।
सितालाई ? बले बोल्न सकेन । पासो लगाएर मर्नु बाहेक अरु बिकल्प छैन । भगवान् तिमी किन यती निर्दयी छौ ? एकातिर बा मूत्युसँग लड्दैछन् । म अन्यौलमा परें । बाको अलिक बिसेकको खबर लिएर डाक्टर आए । सोचें, बालाई लिएरै जान्छु । घरैमा झाँक्री हेरी कालीमाईलाई परेवाको बलि दिन्छु । बहिनीको पीरले छाती नै चिरिएला जस्तो भाछ । ल, हिंड् बले । बालाई लिएर घर आयौँ ।
(स्रोत : Himalayamail)