~कृष्णराज खनाल~
जरुर सभासद म पागल !
यस्तै छ मेरो हाल !
अस्पतालको एउटा अँधेरो कोठामा
हाड छालाको मेरो शरीर
मृत्युसँग जिस्किँदै
धिकिर धिकिर हावा खाएर बाँचिरहेछ ।
म तिनका भाषा बुझ्छु
म तिनका लेखा राख्छु
पैसाको आडमा,
शक्तिको मदमा
निर्धा जनताको घाँटीमा
जवर्जस्ती रस्सी कस्दा,
छुरी चलाउँदा
बिल्ला लगाएका मुक सभासद्हरु
तै चुप मै चुप छन्
त्यसैले म मौन बसेरै
पन्ध्र दिनदेखि यो विछ्यौनामा लडिरहेछु ।
मेरो अनसन जारी छ ।
मेरो माग जारी छ ।
यो मेरो आठौँ अभिषेक हो
मेरा माग सात पटक पूरा भए
तर अहँ कहिल्यै कार्यान्वयन भएन
प्रत्येक पटक ताला चाबी लिएकाहरु
आउँछन्, झुक्छन् र मसँग वाचा गर्छन्
‘तेरो माग पूरा भयो’
अनि मलाई जुस खुवाउँछन् र उठाउँछन् ।
म पत्याउनै नहुने कुरा पत्याउँछु
त्यसैले म पागल हुँ
जरुर सभासद म पागल !
यस्तै छ मेरो हाल !
एकदिन यमराज मेरो छेउमै आयो र भन्यो
‘डाक्टर ! आउ, हिँड मसँग जाउँ’
यहाँ बस्न तिमी योग्य छैनौ
हुटिट्याउँले आकाश थामेर नि थामिन्न
तर मैले मानिन
ऊ लरक्क फर्केर गयो
किनकि यो मेरो एकाकी जीवनको सवाल होइन
मेरो काँधमा तीन करोड
नेपालीको स्वास्थ्यको चिन्ता थियो ।
त्यसैले म विचलित हुन्छु,
म आन्दोलित हुन्छु,
र त एकै प्रकृतिका माग राखेर
वारम्वार अनसन बस्छु
यही हतियार नचाउँछु
र देशका ठेकेदारहरुको
सातोपुत्लो उडाउँछु ।
जरुर सभासद म पागल !
यस्तै छ मेरो हाल !
एकथरीले बुद्धलाई नि पागल भनेथे
एकथरीले जिससलाई नि पागलको संज्ञा दिएथे
देवकोटालाई नि पागल भनेथे
मूर्खहरु त्यसै भन्छन्
औडाहा भएर भित्रभित्रै जल्छन्
जनताको खातिर हिँडेका
महामानवहरुलाई पागल भन्छन्
जरुर सभासद म पागल !
यस्तै छ मेरो हाल !
निर्लज्ज लोकसँग,
जैरे ओलीसँग किन डराउने ?
त्यसैले म डराउन्न
तिम्रा जस्ता ढुकुरे छाती बोकेर हिँड्दिन,
अस्पताललाई व्यापारिक मल बनाउँदिन
मसँग नैतिक बल छ,
मेरो मौनतालाई तृण नठान
किनकि यही बौलाहासँग लाखौँ नेपालीको साथ छ
म उनीहरुकै लागि लड्छु
म यस्तै उस्तै ज्याद्रो छु
विद्रोह गरिरहन्छु
किनकि म पागल हुँ ।
जरुर सभासद म पागल !
यस्तै छ मेरो हाल !
(डा. गोविन्द केसीप्रति सर्मिर्पत )
– गुणादी, तनहुँ
हाल : वोस्टन, अमेरिका ।
(स्रोत : गोरखापत्र)