कविता : जन्मभूमीमै मर्न पाउँ

~देबेन्द्र बस्याल~devendra-basyal

पहराको छोरो म
पहरामै रम्न पाउँ
छहराको सन्तान म
छहरामै खेल्न पाउँ

वन पाखामा खेलेर
कन्दमुल खाएर
छहरा र पहरासंग
गाढा साइनो गाँसेर
ठाडो पाखामा हुर्केको
पहराको छोरो म पह्रामै रम्न पाउँ

गाइबाख्रा चराउदै
मुरली बजाउदै
पोथ्रासंग बयली खेल्दै
उन्यु र पातीसंग
लडिबुडी खेलेको
पहराको छोरो म पह्रामै रम्न पाउँ

कहिले जुरेढुँगासंग
कहिले ठूल्ढुँगासंग
कहिले हाँडीकोट त
कहिले खानीका ढुँगासंग
मितेरी गाँसेको
पहराको छोरो म
पहरामै रम्न पाउँ

गुराँसको फुलटीपी
रसस्वादन गर्दै
मलायको चुकसंग
गाला पट्काउदै
पातलको झाडीमा
दुईहातले जुका टिपिरहेको
पहराको छोरो म
पहरामै रम्न पाउँ

चुत्रो र औसलु खाएर
मुला जस्तो भएको
खन्यु र गेडुलाले
स्याउ जस्तो भएको
मूलको पानी पिएर
दिनहुँ हिमाल हेरेको
पहराको छोरो म
पहरामै रम्न पाउँ

जुरेढुँगामा चडेर
काली गण्डकी हेरेको
बुढी ओडारको टाकुराबाट
पारीको दुनीया देखेको
ओराली र उकालीले
शालको काठ बनेको
छहराको सन्तान म
छहरामै खेल्न पाउँ
पुराना पँधेराको पानी खाएर
सदाको लागि मर्न पाऊँ

– देबेन्द्र बस्याल, जापान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.