~हरिहर तिमिल्सिना~
ऊ हो मेरो जीवन सहारा र त म बगाउँछु प्रेमधारा अनवरत, अनन्त उसमाथि। म उसलाई अँगाल्न मन पराउँछु र सुकोमल हातहरूले उसको टाउको र अङ्गप्रत्यङ्ग मुसार्छु कृतकृत्य मनले। चुमिदिन्छु उसलाई छातीमा टाँसेर उसका ओठ, अधर र नजरहरू। ऊ खुसी भएर स्वीकृतिका दृष्टिहरू फ्याँक्छ मतिर र अघि बढ्छ, म लुरुलुरू उसको पछि लाग्छु।
जीवनका मोडहरूमा अनेकौँ यात्रीहरू आए गए तर ऊ… ऊ… मुटुभन्दा प्यारो छ। उसलाई जति अँगालो हाले पनि मुटुको कुवा भरिँदैन, जति चुम्बन गरे पनि मनको प्यास बुझ्दैन। म अनुगृहीत हुन्छु ऊप्रति र कहिले नतमस्तक हुन्छु किनकि ऊ नहुँदो हो त यो नीरश जीवन अझ कति कहालीलाग्दो हुँदो हो, यो कठिन जीवनयात्रा अझ कति उराठ र बोझिलो हुँदो हो। त्यसैले त भावनाहरूमा गुटमुटिएर म उसैलाई अँगाल्छु, मुसार्छु र चुम्छु। उसलाई लिएर प्रेमसाथ मन लागेको ठाउँमा घुम्छु। म उसैसित रुन्छु अनि उसैसित हाँस्छु। किनकि ऊ नै मेरो दुःख हो, ऊ नै मेरो सुख हो, ऊ नै मेरो सर्वस्व अनि जीवनको एउटै सहारा हो।
भन्नेहरू उसलाई लौरो भन्छन् तर म अन्धोका लागि ऊ मेरो जीवनपथ हो।
-सुडाल-९, भक्तपुर
(स्रोत : मधुपर्क लघुकथा अङ्क २०५६ बाट साभार)