~निभा शाह~
आइतेकै रगत पसिनाले
देश बन्छ,
आइतेको देश कहाँ छ ?
आइतेको देश सिँहदरबार भित्र छ, भनु भने,
आइतेकी जोइ, मर्दा
आइते कात्रो किन्न नसकेर,
मुग्लान पस्यो की
बागमति पस्यो,
आइतेको कुनै खोजखबर
सिँहदरबारको बहि खातामा छैन ।
आइतेको देश कहाँ छ ?
आइते कि जोइ मर्दा
आइतेका छोरा छोरी
रातभरि,
मरेकी आमाको दूध चुसीरहेका थिए,
मरेकी आमाको दूध चुस्ने
आइतेका भोका छोरा छोरीको फोटो
सिहँदरबारको कुनै भित्तामा छैन
आइतेको देश कहाँ छ ?
आइते की जोइ,
कात्रो नपाएर
च्यातिएको चोलीमा
माटो भित्र गाडिइ,
च्यातिएको चोलीमा
कात्रो बिहिन,
माटो भित्र
गाडिदै गरेकी
आइते कि जोइको फोटो
सिँहदरबारको कुनै मुल गेटमा छैन
आइतेको देश क हाँ छ ?
आइतेको देश
सिहँदरबार भित्र छ भनु भने,
अन्नको गेडि नपाएर
मरेकी आमाको दूध चुस्ने
भोको जनताको इतिहास
सिहँदरबारको कुन संविधानमा छ ।
न नौलो संविधान
न पुरानो संविधान
न बन्नेवाला संविधान
सिहदरबारको कुनै पनि संविधानमा
आइतेको भोकको इतिहास हुने छैन,
आइते कि जोइको
कात्रो बिहिन इतिहास हुने छैन
मरेकि आमाको दूध चुस्ने
आइतेका छोरा छोरीको इतिहास हुने छैन ।
इतिहास बिहिन,
आइतेको देश कहाँ छ ?
अझै सिहंदरबार भित्र छ,
भनु भने,
सिहँदरबार मालिकहरुको देश हो,
त्यहाँ कुनै जनताको देश हुँदैन,
त्यहाँ कुनै आइतेको देश हुँदैन,
आइतेको देश कहाँ छ ?
हसियाको धारमा
बन्दुकको नालमा,
आइतेको देश कहाँ छ ?
आइतेकै रगत पसिनाले देश बन्छ
आइतेको देश कहाँ छ ?
(स्रोत : “मनसरा” कविता संग्रहबाट)