कथा : घूस

~उज्ज्वल जी.सी.~ujjwol-gc

देवेन्द्र साहू आफ्नो व्यापारिक कामकाजको सिलसिलामा अफिस पुगेर गमक्क फुल्दै भन्न थाल्यो– “खर्दार साप ! मेरो टिप्पणी आज हाकिम साहेबकहाँ पेश गर्दिनुस् त ! पर्सि त म जर्मन पुग्नुपर्छ । ”

उच्च व्यक्तित्वमा आकर्षित हुँदै खर्दारले भन्यो– “हुन्छ हजुर, माथि हाकिम साहेबज्यूकहॉं बस्दै गरुँ न । म त्यहीं ल्याउँछु । ”

आफ्नो आदेशलाई शिरोपर गरेको देखेर देवेन्द्र साहू प्रशन्न मुद्रा लिंदै हाकिमको कोठातिर लाग्यो । काम चाँडै गरिदिए चिया खर्च पाइएला कि भन्ने लोभ साँचेर खर्दारले टिप्पणी लेख्न के आँटेथ्यो अचानक उसको फोन आयो हस्पिटलबाट– “दाइ भाउजुले छोरा पाउनु भयो । तपाईं तुरुन्त आइहाल्नोस् ।” भन्दै ।

आफ्नो काम सुब्बालाई सुम्पेर ऊ खुसीले अत्तालिंदै हस्पिटलतिर लाग्यो ।

एक घण्टासम्म पनि आफ्नो टिप्पणी माथि नल्याएकोले देवेन्द्र साहू रिसले मुर्मरिंदै तल ओर्लेर बम्कन थाल्यो–“क्या हो यो चाला ? एउटा जाबो टिप्पणी लेख्न पनि यत्रो ढिलाइ ?”

उसले कुरा टुंग्याउन नपाउँदै सुब्बाले जवाफ दियो– “हैन साहूजी उहाँको हस्पिटलबाट जरुरी फोन आ’थ्यो । अहिले आइहाल्नु हुन्छ । तपाईंको काम आज सकिए भैहाल्यो नि !”

देवेन्द्र साहू झन् ठूलो स्वरले कराउन थाल्यो– “मलाई थाहा छ तपाईंहरुको नियत । यो त मात्र पैसा खाने बहाना हो बुझ्नु भो ?” भन्दै ।

सुब्बाले विनम्रतापूर्वक फेरि भन्यो –“हैन…हैन साहूजी ! अरु कोही होलान्,तर हामीलाई त्यस्तो आरोप लाउनु भएन । उहाँ आउनु भएपछि तुरुन्तै भैहाल्छ तपाईंको काम । बरु एकछिन माथि हाकिमसाहेबज्यूकहाँ नै बसिरहूँ न ।”

“मलाई तपाईंको हाकिमकहाँ बसिरहने फुर्सद छैन । ठीक छ भोलि आउँला । ” भन्दै बाहिर निस्केर एक पसलबाट विशेष प्रहरीमा फोन गर्यो– “हलो….. म देवेन्द्र … बोलेको । हेर्नुस् न ……अफिसमा मेरो एउटा सानो काम गर्न पनि घूस खोज्दैछ एक कर्मचारी । हुन्छ … हुन्छ हजुर भोलि म आफै त्यहाँ आउँछु । ”

सकारात्मक जवाफमा दङ्ग पर्दै फोनको रिसिभर राख्यो उसले ।

भोलि दिनको ११ बजे नै गुप्तचरहरुलाई लिएर देवेन्द्र साहू अफिस पुग्यो । त्यसबेला खर्दारले काम सकेर हाकिमसाहेबकहॉं टिप्पणी पेश गरिसकेको थियो । उसलाई साहूले आज फसाउन खोज्दैछ भन्ने थाहा थिएन ।

काम छिटो छरितो तरिकाले समयमै गरिदिंदा प्रायशः ग्राहकहरुले खुसी भएर चियाखर्च भन्दै हातमा राखिदिने ५०-६० रुपियाँलाई उसले कहिल्यै घूस ठानेको थिएन । त्यसैले ऊ आज पनि चियाखर्च अवश्य पाइन्छ भन्ने सपनामा मग्न हुँदै बसिरहेको थियो ।

“क्या हो खर्दार साप ! हिजो त घण्टौं कुराइदिनु भो नि ! बरु यति चाहिन्छ भनेको भए त भैहाल्थ्यो । त्यस्तो दुःख पनि दिनुहुन्छ ?” भन्दै अगाडि उभिन आइपुगेका देवेन्द्र साहूलाई देखेर एकछिन अकमक्क पर्यो ।

“हजुर हिजो टिप्पणी लेख्दालेख्दै हस्पिटलबाट फोन आएर अपरझट जानु प¥यो । आज सकेर फाइल माथि पेश गरिसकेको छु । बरु माथि नै सम्पर्क राखूँ न ।” भन्दै नम्रता पोख्यो आफ्नो लोभलाई सुरक्षित राख्दै–खर्दारले ।

“अबदेखि त्यस्तो दुःख कसैलाई पनि नदिनु होला । ल भन्नुस् चिया खर्च कति दिउँ ?”

–“हजुरको जो इच्छा । ”

–“तैपनि…।”

–“हेरेर दिबक्से हुन्छ नि ।”

यत्तिकैमा ढोका बाहिर उभिइरहेका गुप्तचरहरुलाई आँखा सन्काउँदै देवेन्द्र साहूले मनिव्यागबाट सयको नोट झिक्दै उसको हातमा दियो ।

“जय जय होस् हजुर” भन्दै नोटलाई खल्तीमा राख्न के खोजेथ्यो, गुप्तचरहरु आएर उसको हात ट्याप्प समाते ।
तुरुन्तै सर्जमिन मुचुल्का भयो ।

पैसा लिएको हैन भनेर कसैले बक्न सकेनन् । आखिर उसलाई समातेर कारवाहीका लागि लगियो । आफ्नो षड्यन्त्र सफल भएकोमा देवेन्द्र साहू दङ्ग पर्दै हाकिमको कोठाभित्र छिरेर दुई हात जोड्दै भन्न थाल्यो– “ के गर्ने हजुर ? यस्ता कर्मचारीहरुले गर्दा अफिसकै बदनाम हुन्छ । अनि हजुर, मेरो टिप्पणी के भयो होला ?”

“अँ.. भर्खरै स्वीकृत गरिदिएको छु । बस्नुस् न देवेन्द्रजी ।” भन्दै हाकिमले भलाकुसारी गर्न थाले ।

–“हेर्नुस् न आज कस्तो झरी परिरहेको ?”

–“व्य्राण्डी लगाउनु पर्छ हजुर !”

–“कुन तलबले खानु यो महंगीमा व्य्राण्डी ?”

–“खै हजुरले हामीलाई सम्झिबक्सन्न त । हामीलाई पनि यसो सेवा गर्ने अवसर दिबक्से के नै बिग्रन्छ र ?” भन्दै हाकिमको टेबुलबाट फोन गर्यो – देवेन्द्र साहूले –“को बोलेको ? …अँ… सून त समिरको हातमा पाँच बोतल बेलायती व्य्राण्डी र पाँच कार्टुन ५५५ चुरोट …..सापको घर ….मा अहिल्यै पुर्याउन पठाइदेऊ त ! ”

–“आ … किन दुःख गर्नु भा’को देवेन्द्रजीले । ”

“हैन हजुर केको दुःख ? यो त मेरो सौभाग्य हो । भोलि जर्मन जॉंदैछु । फर्केपछि दर्शन गर्न आउँला” भन्दै आफ्नो कागजात बोकेर देवेन्द्र साहू दुई हात जोड्दै कोठाबाट निस्क्यो ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.