~बिकिरण~
साँझको समय थियो, भींड चाही केको थियो याद भएन तर म त्यो भींडसित रमाईराखेको थिएँ । म जत्तिकै सबैजना खुसीनै देखिन्थेँ । के को खुसियाली हो थाहा नहुँदै म पनि आफ्नै तालमा बिना संगीतको त्यो उत्सवमा नाचिरहेथे हांसिरहेथे। एक्कासी मेरो हातमा कसैले समायो र उतर्फ मलाई तान्यो । एकछिन त म स्तब्ध भएँ उनको त्यो सुन्दरता देखेर अनि टोलाएर उनीलाई हेर्नु सिवाय मैले केही भन्न अनि गर्न सकिन ।
गोरो रुप, हँसिलो अनुहार, पातलो शरीर अनि त्यो उनको पहिरनले मलाई लठ्ठ बनायो । गुलाफी सारीमा सजिएकी साँच्चै उनी गुलाफ झैँ लागिरहेथ्यो । सुगन्धले मदहोस बनाउने परी अप्सरा मध्य कोही एक हुनुपर्छ यिनी । तपाईं एक छिन् म सित आउनु हुन्छ ? उनको सुमधुर स्वर अब यो जिन्दगीलाई भुल्न जन्मजन्म लाग्ने भयो । भगवानले सृष्टिको लागि यति धेरैसम्म पनि मेहेनत गर्दो रहेछ भन्ने अब लाग्न थाल्यो । उनीमा केही कमि कमजोरी थिएन ।
म एकोहोरो उनीलाई हेरिरहेको थिएँ । उनको जवाफ मैले नदिएर हुनुपर्छ फेरि सोधिन अनि म बल्ल झसङ्ग भएँ र हुन्छ भनेर उनको पाइलासित पाइला मिलाउदै गएँ । त्यति धेरै कुराकानी भने भएन किनकि एक त मेरो लजाउने बानि थियो अर्को म भित्र त्यति आँट पनि थिएन । त्यसैले भित्र भित्रै म आफ्नै दुनियामा हराइरहेको थिएँ । गन्तब्य केवल उनीलाई थाहा थियो म त केवल उनको चाहना म साथ दिंदै थिए । उनी र म हिंड्दा हिंड्दै एउटा सानो चोकमा पुग्यौ । त्यो ठाउँलाई नियालेर चारैतर्फ हेरेँ, जिउँ सिरिंग हुन थाल्यो, उजाड ठाउँ थियो । घरहरू त पुरै भताभुङ्ग भएका थिए, भर्खरै भुइँचलोले बिनास गरेको जस्तो देखिन्थ्यो । एउटा घर भने हल्का ठिकठाक थियो तर त्यहाँसम्म पुग्न झन्डै दस पाइला नालीबाट हिड्नु पर्ने थियो ।
गन्तब्य पनि त्यहि ठाउँमा जस्तो लाग्न थाल्यो जब उनी त्यतितिर लागिन् । अब म के गरुँ यस्तो बिचित्र ठाउँमा ल्याउनुको कारण के होला भनि सोच्दै थिएँ । अब त्यो नालीमा भएको ढुंगामा टेक्दै त्यो घरतिर लाग्नु पर्ने भयो । उनले हात समाऊन भनिन्, समाऊन परिगो अनि हात के समाएथेँ, सिंगो संसार त भुलियो त्यो जाबो नालीको के कुरा अनि कहाँ थियो त्यो ठाउँ उजाड । अब त यो नालीको बाटो कहिल्यै नसकियोस् जस्तो पो लाग्न थाल्यो तर कहाँ भने जस्तो हुनु र । कति खेर त्यो ठाउँ छोडियो र कति खेर घर भित्र पुग्यौँ पत्तो नै भएन । रात पनि परिसकेको थियो ।
बाहिर अन्धकार थियो भने भित्र उज्यालो कारण हिउँ जस्तो बाक्लो सिट र माकुराको जालोले पुरै घरको भुइँ तल्ला ढाकिएको थियो । माथिको तल्लामा के होला भन्ने कौतुहलता मनमा जाग्न थाल्यो तर माथि जाने सिडी नै थिएन । सुनसान ठाउँमा अनौठो घर देखेर म अन्यौलमा परेँ । सपना पो होकी भनेर आफैलाई गालामा एक थप्पड हानेँ । बिपना नै थियो । उनी भने मेरो क्रियाकलाप टोलाएर हेरिरहेकी थिइन । फेरि यसपाली भने म उनको आँखाको गहिराइमा डुब्न थालेँ । हैन यो मलाई के हुँदैछ ? उनको हरेको हाउभाउले किन आकर्षित गर्दैछ ? किन मेरो बोली फुटिराखेको छैन ? को हुन् अन्जान यिनी मन मनै सोच्नु सिवाय किन मैले सिधा प्रश्न गर्न सकिराखेको छैन ? मेरो भने यसरी मनोबाद बन्दै थियो उनी भने मलाई एकोहोरो हेरेको हेरेइ । मन मनै प्रभुलाई प्रणाम गरेँ । आँखा चिम्लिएर मनलाई शान्त पार्ने कोसिस गरेँ । आँखा के चिम्लिए थिएँ, आइमाइको अत्तहाँस सुनियो तैपनि मैले आँखा खोलिन । सायद तिनै सौन्दर्यकी धनी हाँसेकी हुनु पर्दछ ।
किन हाँसेकी होली सोचेँ, एकैछिनमा हाँसो पनि रोकियो अनि सुरुदेखिको सबै दोहोरिएको जस्तो महसुश हुन थाल्यो । अचानक त्यो सुरुको भीडको हल्ला सुनियो । अब भने आँखा उघार्नु नै परिगो । म त्यहि भीडको बिचमा उभिएको रहेछु । अलिक टाढा तिनै सुन्दरी उही पहिरनमा म उभेको बिपरित दिशातिर गैरहेकी थिइन । मेरो चस्माको पावरले भ्याएन क्यारे धमिलो हुँदै थियो त्यो दृश्य । चस्मा खोलेर सफा गरेँ र हेरेँ । उनी त अदृश्य भईन । प्रश्न मनमा अझै पनि रही नै रह्यो । को थिइन अन्जान तिनी, के थियो अनौठो लाग्ने त्यो ? अनौठो अन्जान अदृश्य ।
॥ बिकिरण ॥
(स्रोत : Newsbanknepal)