पहिलो भेटमा उसले
भनेकी थिई–
‘भोकै छु,
घरपतिले बहाल मागेका छन्
कलेजको फी तिर्न
सकेकी छैन
परीक्षा आइसक्यो
घरबाट खर्चको सट्टा चिठी आएको छ–
अब आफ्नै खुट्टामा
उभिनुपर्छ ।’
दोस्रो भेट पनि उसको समस्या त्यस्तै थियो–
‘घरपतिले कोठाबाट निकाले
साथीकोमा बसेकी छु
कलेजको परीक्षा दिन सकिनँ
घरबाट पनि चिठी
आउन छोड्यो
सडक–सडक भौँतारिँदै छु–
अब त मृत्यु प्यारो लाग्न थालेको छ ।’
तेस्रो भेटमा
अनामनगरको क्याबिन रेस्टुराँमा थिई अम्बिका
मैले छुट्याउनै सकिनँ
उसैले बोलाई–
‘सबै कुरा बेचेर
आफ्नो खुट्टामा उभिएकी छु
अभाव छैन तर अशान्ति बढिरहेको छु ।’
अन्तिम पटक
अस्पतालमा भेटिई अम्बिका
शिथिल स्वरमा बरबराई–
‘आफ्नै खुट्टामा उभिँदा
थाकिँदो रहेछ,
तर पनि जिउने इच्छा
जागेको छ ।’
हाल:- बोस्टन, अमेरिका