~रविन गिरी~
‘सचिवालय भन्नुभयो। जोईपोइसँगै क्रमशः छोराछोरी, भतिजाभतिजी, सालासाली, छोरीज्वाइँ, साढुदाइ–साढुभाइलाई वरवर तान्नुभयो। मनमा लागेको गर्नुभयो। त्यसलाई क्रान्ति र ‘देश’ ले मागेको भन्नुभयो। नेतृत्वलाई खुला दिमागले सोच्न र योजना बनाउन दिनुपर्छ भन्दै केही ‘अभाव’ हुन दिएनौं। … सर र मेडमहरूसित पो ‘बुर्जुवा’ राजनीति गर्ने पैसा छ। ‘बुर्जुवा’ डिग्री छ। हामीसित के छ? …देखाइदिनुस् त ‘बासी समाज’ मा हाम्ले टेक्ने कहाँनेर हो?
नवीन विभासको कथासंग्रह रोल्पा सुइना भित्रको ‘फोटो’ शीर्षक कथाको अंश हो, यो। ‘जनयुद्ध’ मा चोट लागेको आफ्नो हातको घाउ बल्झिएपछि उपचारका लागि कमरेड ज्वार उर्फ बिर्खलाल घर्ती मगर काठमाडौं आइपुगेका हुन्छन्। संयोगले त्यहीबेला साथी शहीद कमरेड आकर्षण उर्फ जयधन बुढाको स्मृति समारोह भइरहेको थाहा पाएपछि उनी कार्यक्रममा पुगेका हुन्छन्। तर, वक्ताहरूले शहीदको साटो एकोहोरो सत्ताका कुरा गरिरहेेपछि उनको उकुसमुकुम थामिंदैन। बिर्खलाल सरासर स्टेजमा उक्लन्छन्, माइक खोस्छन्। र, चर्को स्वरमा यस्तै आक्रोश ओकल्न थाल्छन्।
कथाका ‘हेड सर’ पात्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल हुन्, जसको नेतृत्वमा देशले दश वर्ष (२०५२–२०६२) ‘जनयुद्ध’ सहेको थियो। र, कमरेड ज्वारजस्ता कार्यकर्तालाई आफ्नाहरूद्वारा नै आफ्नै सपनाको निर्मम हत्या भएको टुलुटुलु हेर्न बाध्य तुल्यायो।
जनवादी सत्ता स्थापना गर्छु भनेर कसम खाएका हेड सर अहिले देशका प्रधानमन्त्री छन्। ‘जनयुद्ध’ उनले जितेनन्, ‘सकेनौं, हार्यौं’ पनि भनेनन्। बरु, संघर्ष जारी छ भन्दै ढाँटिरहेका छन्। रोल्पा सुइना यिनै हेड सरले थला पारेका राप्ती अञ्चलका रोल्पालीहरूका सुइना (सपना) हरूको संग्रह हो। वर्गीय, जातीय, क्षेत्रीयलगायतका विभेदबाट मुक्तिका सुइना रोल्पावासीले मात्र नभई सबैको थियो।
यस्तैमा एक हूल मान्छे, ‘तिम्रा सपना पूरा गरिदिन्छौं’ भन्दै आए। मोहनविक्रम सिंहको सामन्तवाद विरोधी साम्यवादी धारबाट २०१३ सालदेखि नै प्रभावित थवाङमा पटकपटकको सरकारी सुरक्षा कारबाहीले गाउँलेलाई स्थायी प्रतिपक्षी झै बनाएको थियो। त्यही थवाङमा दाहालले ‘राज्यसत्ताबाहेक सबै भ्रम हो’ भन्दै रोल्पालीसामु सातबुँदे प्रतिबद्धता पेश गरे। उनले रोल्पालाई ‘क्रान्ति’ को उद्गमथलो मान्दै १ फागुन २०५२ मा त्यहींबाट ‘जनयुद्ध’ शुरु गरे।
रोल्पामै जन्मेहुर्केका विभासले ‘युद्ध’ लाई रोल्पाली आँखाबाटै नियालेका छन्। रिडीखोला पश्चिमका १८ मगरातलाई गहिरोसँग अनुभूत गरेका/गराएका छन्– द्वन्द्वकथा, द्वन्द्वोत्तर कथा र कथा विविध गरी तीन भागमा विभक्त ३७ थान कथामार्फत। कथाहरूमा द्वन्द्वका बहुआयामिक व्यथा छन्। वास्तविकतासँग नजिक यस्ता व्यथाहरूलाई द्वन्द्वलाई प्रत्यक्ष अनुभूत नगरेकाहरूले कल्पना पनि गर्न सक्दैनन। कथासंग्रहमार्फत रोल्पालीका दुःख अनुभूत गर्ने अवसर दिलाएकोमा कथाकारलाई विशेष धन्यवाद दिर्नैपर्छ।
माओवादी लडाईं सकिएपछि थुप्रै द्वन्द्व साहित्य लेखिए, तर तीमध्ये अधिकांशले कि द्वन्द्वलाई पूरै खारेज गर्यो कि त अतिरञ्जित बढाइचढाइँ। विभास यी दुई अतिवादमा छैनन्। उनी जनताले देखेको सपनालाई गलत मान्दैनन्। उनी आफैंले पनि त्यो सपना सँगालेका थिए र २०६० सालको तीन महीना काठमाडौंको भैरवनाथ गणमा गुजारेका थिए। रात पनि ऐंठन परेको रातमा निबन्ध संग्रहको प्रकाशनपछि कसैले उनलाई माओवादी भनी पोलिदिएको थियो। तर, त्यसअघि नै उनले आधाबाटो हिंडेपछि (कथासंग्रह), मौसमका हरफहरू (कवितासंग्रह सहलेखन) प्रकाशित गरिसकेका थिए।
विभासको कथाका अधिकांश पात्र विस्मृतिको गर्भबाट वर्तमान नियाल्छन्। पुस्तकको आवरण स्केच (रविन साय्मि) उत्कृष्ट छ, तर पढ्नै असजिलो हुने ले–आउटले पटकपटक बिझाउँछ। कथाहरूमा संवाद कम र वर्णन बढी छ। अतिशय बिम्ब र प्रतीकले कतिपय कथालाई अल्मल्याएको छ। प्रायःजसो कथामा दुःखी पात्रहरूका लम्बे गन्थन पढ्नुपर्छ।
कथासंग्रहमार्फत खाम/पाङ भाषिकालाई नेपाली साहित्यमा भित्र्याउने विभासको योगदानलाई कम आँक्न मिल्दैन। सनिस, गोन्या, धरा, कालापारे–१, कालापारे–२, रोल्पा एक्सप्रेस, जुग्रीजुलुलगायत कथाका शीर्षकहरूबाटै नेपाली वाङ्मयमा नयाँ शब्दहरूको प्रवेश भएको मान्नुपर्छ। कथाका बीच बीचमा दिलसरी पुन र दलबहादुर पुन दम्पती गुन्गुनाउँछन्, पनि :
सन्च हर्ने करणालीय धम्की हर्ने बबई
परानी गैजाने रैछ मनको जस्तो नभई
दशक लामो बलिदान त तुहियो, तर नेत्रविक्रम चन्दहरू ‘हामी धोका दिन्नौं, साथ दिनुहोस्’ भन्दै फेरि उही रोल्पा पुगेका छन्। विभासले सशस्त्र विद्रोहलाई असारे बालीसँग दाँज्दै ‘असार–२’ कथा नै लेखेका छन्। ‘आउँदो असार’ बारे गाउँलेको मन छाम्न यतिबेला मोतिलाल गाउँ पुगेका छन्– कथामा भनिएको छ।
विभासले कथामार्फत पाठकलाई मात्र होइन, सरकारलाई पनि रोल्पालीका सुइना सम्प्रेषण गरेका छन्। त्यस्ता सुइना, जसलाई सरकारको थोरै मात्र प्रयासले पनि विपनामा परिणत गरिदिन सक्छ, ‘स्थायी प्रतिपक्षी’ रोल्पाले शान्तिपूर्ण क्रान्तिमा विश्वास गर्न थाल्नेछ। राज्यले रोल्पाली नागरिकको सन्चोबिसन्चो बुझ्न पहिले झै ढिला गर्नुहुन्न।
पुस्तक रोल्पा सुइना (कथासंग्रह)
प्रकाशक साङ्ग्रिला बुक्स
लेखक नवीन विभास
पृष्ठ ३२२+६,
मूल्य रु.३३५
(स्रोत : हिमाल खबर)