~प्रकाश सुनुवार ‘निराकार’~
भुकम्पले
पुरुषहरुको प्रतिनिधित्व गरिरहेको
धरहराहरु अनि अग्ला पर्खालहरु
लगातार भत्काइरहेको छ ।
धरहरा ढल्यो
पर्खालहरु ढल्ने क्रम जारी छ
भग्नावषेश मुनि
नारी र पुरुष दुवै थिचिए
पुरुषहरु चुपचाप छन्
नारीहरु अहिले फेरि
कहिल्यै नढल्ने धरहरा उठाउने योजना वनाउँदै छन् ।
पुरुषहरुले नहरहरु खने
नहरमा बग्ने पानीले
सिमानावारीको माटो अलिकति भिजेको छैन
नारीहरु ति नहरहरु भत्काउन चाहन्छन्
सिमावारीको माटो मलिलो वनाउन खोजिरहेछन्
पुरुषहरु सुख्खा चिराचिरा परेर
फुटेका खेतहरु हेरेर वसेका छन् ।
नारीहरुले कानून वनाउन पाएनन्
नारीहरुलाई रोकियो
नारीहरुलाई दबाउन खोजियो
आमाहरु अहिले कानून वनाउन जुटेका छन्
पुरुषहरु डराइरहेका छन्
आफै भित्रको पुरुषभयले पुरुषहरु अशान्त छन् ।
गाउँको खेतवारी देखि जंगलसम्म
वारुद र स्प्लीण्टरहरु छरिए
अहिले नारीहरुको नाङ्गगो हात र खुट्टामा बिज्दैछन्
पुरुष जवाफदेही छैनौ भन्छन्
लुकिलुकि विदेशको बाटो पहिल्याउंदै छन्
नारीहरु डोकोमा बम र स्प्लीण्टरहरु बोकेर घर ल्याउँछन्
चुल्होमा सल्काएर भोक सेकाउँछन् ।
स्कुलहरु भत्काइए
भौतिक संरचनाहरु जलाइए
त्यतिखेर पुरुषवाद र उनीहरुको अहमता पनि ढले
र, विदेशमा रोजगारी पढ्न गए
कोही फौजमा भर्ती लाग्न छाती नाप्न गए
कतै नजाने पुरुषहरु कुर्सीमोहको पहाड खडा गर्नमा जुटे
त्यो पहाड भत्काउन नारीहरु लागे
र, पुरुषहरु रोकावट लगाउन खोजिरहे ।
पुरुषहरु कोही युद्धमा मारिए
वस्तीहरुमा पुरुष थोरै देखिन्छन् ।
नारीहरु बाक्लो देखिन्छन्
नारीहरु केवल जोड्ने काममा लागेका छन् ।
नारीहरु अहिले फेरि
खेतिबालीमा लागेका छन्
भान्सा पनि तयार गर्दैछन् ।
र, यसपटक नारीहरु
पुरुषवाद ढाल्ने तयारीमा लागेका छन् ।
(२ जलाई २०१६, फार्नवोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)