~विज्ञानकुमार भट्टराई~
जनकऋषि राईको परिचय
१ – जन्म र जन्म स्थान
आफ्नो जन्मका सम्बन्धमा कथाकार जनकऋषि राई भन्दछन् – म पिता लक्ष्मण र माता निर्मला राईका कोखबाट ज्येष्ठ पुत्रका रूपमा वि.सं. २०३३ साल असार १० गतेका दिन पाछा दिखली गोत्री भएर जन्मिएको हुँ । साथै मेरो जन्मस्थानका बारेमा भन्नुपर्दा मेरो जन्म कोशी अञ्चलको सुनसरी जिल्लाको सुन्दर रमणीय शहर धरान नगरपालिका वडा नं. १७ रत्न चौक भन्ने ठाउँमा भएको हो । (जनकऋषि राईका अनुसार)
२ – शिक्षा दिक्षा
सुगम क्षेत्र सुनसरी जिल्लाको धरानमा जन्मिएकाले सानै अवस्थाबाट पढ्नलेख्न थालेका राईलाई ५ बर्षको अवस्थामा उनकी आमाले घरैमा अक्षरारम्भ गराउनु भएको हो । उनी भन्दछन् – सामान्य आर्थिक अवस्था भएपनि पढ्न भनेपछि खुुब रहर लागेर आयो । धरानस्थित श्री प्राथमिक विद्यालयको शिशु कक्षाको विद्यार्थीका रूपमा पाटी, खरी अनि पेन्सिल र कापि बोकेर म विद्यालय जान थालें । (जनकऋषि राईका अनुसार)
यसरी पठनपाठन क्षेत्रमा लागेका राईले श्री पञ्चायत मा.वि. धरान–११ बाट वि.स. २०४८ सालमा तृतीय श्रेणीमा एस्.एल्.सी. उत्तीर्ण गरे । त्यस्तै गरेर महेन्द्र बहुमुखी क्याम्पस, धरानबाट वि.सं. २०५२ सालमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका उनको स्नातक तहका अध्ययन विविध कारणहरूले अपूर्ण रहेको पाइन्छ । (भेटवार्ता)
३ – बाल्यकाल
बाल्यकालका सम्बन्धमा कथाकार राईको अनुभव यस्तो छ – मेरा साथीहरू थोरै भएकाले घरमै बसेर पिता तथा काकाकाकीका छोराछोरीसँग खेल्थे । बाल्यकालमा चञ्चले स्वभावको थिएँ, राम्रा राम्रा कथा तथा लोककथा अध्ययन गरी रमाइलो गर्दथें । यसरी जन्मस्थान (धरान)मा कहिले बाबा त कहिले आमासँग दिनरात सँगै बसेर मेरो बाल्यकाल बितेको थियो । (भेटवार्ता)
४ – पारिवारिक अवस्था
राईको प्रारम्भिक घरायसी अवस्था सामान्य किसिमको थियो । आर्थिक अवस्था कमजोर भएका कारण उनका बुवाले पाारिवारिक जीवन सञ्चालनार्थ ठुलो परिश्रम गर्नु परेको देखिन्छ । बुवा एक प्रा.वि. शिक्षक हुनुहुन्यो । २०५६ सालमा बुवाको निधनले परिवारमा ठुलो भुइँचालो ल्याइदियो । राईका बुवाका एक दाज,ु एक भाइ, एक दिदी र एक बहिनी हुनुहुन्छ तथा राईका एक भाइ हुनुहुन्छ । राई हालसम्म अविवाहित छन् ।
५ – लेखन प्रेरणा
चलाख र तीक्ष्ण बुद्धिका धनी राई बाल्यावस्थादेखि नै कल्पनामा रम्ने, मिहिनेती र मिजासिलो स्वभावका देखिन्छन् । सानैदेखि साहित्यमा रुचि तथा पत्रपत्रिकाको अध्ययन गर्ने उनको सौख थियो । कथा लेखनको प्रेरणा अभिरुचि गराउने व्यक्तित्वहरूमा उनी गोपाल किराँती र वि. के. कोयुको सम्झना गर्ने राईको कथालेखन विशेष गरेर २०४६ सालको जनआन्दोलनपश्चात् प्रारम्भ भएको हो । यद्यपि उनले साहित्यिक लेखनको थालनी भने २०४५ बाट गरेका थिए ।
६ – आर्थिक स्थिति
सामान्य आर्थिक स्थिति भएका नरबहादुर राईका साहिला छोराका जेठा नातिका रूपमा जन्मन पुगेका राईको आर्थिक अवस्था पनि सामान्य नै रहेको देखिन्छ । यिनको प्रारम्भिक अवस्थामा बुवाको प्रा.वि. को शिक्षक पदको सानो आम्दानीले घर चलेको देखिन्छ । राईको उमेर २३ बर्षको हुँदा पितालाई गुमाउनु पर्दा उनले झन् आर्थिक दुरवस्था ब्यहोर्नुपर्यो । २०५२ सालबाट न्युज टाइम्स नामक साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादकमा रही काम गर्न थालेपछि उनले घरमा आर्थिक सहयोग पुर्याउन थाले । हाल धरान – ११ मा रहेको सोलिङ नामकोे सुकुम्बासी टोलमा सामान्य किसिमको घर बनाएर बसोबास गर्ने राई हाल मध्यमवर्गीय सुखी जीवन बाँचिरहेका छन् । (भेटवार्ता)
७ – शारीरिक संरचना र स्वभाव
साहित्यकार राई गँहुगोरो वर्णका मझौले कदका, ५ फुट ३ इन्च उचाई र ६० के.जी.को हाराहारी तौल भएका व्यक्ति देखिन्छन् । पुष्ट छाती, चिप्लो ललाट, तेजिला आँखा, सामान्य नाक, छोटो कपाल भएका उनी शारीरिक संरचनाका दृष्टिले अलि होचा लाग्दछन् । सुन्दर मुखमण्डल भएका उनी बाठा र फर्स्याइला छन् । घमण्डीपन नभएका, सबैसँग ठट्टा गर्न रुचाउने, मृदुभाषी राई जोसँग पनि छिटो परिचित बन्न पुग्दछन् । प्रायः सबै प्रकारका कपडामा सजिने उनी विशेष गरी सर्ट, पेन्टमा सुन्दर लाग्दछन् । सादा जीवन उच्च विचार भएका राई सधैं विभिन्न पत्रपत्रिका पढ्न र चिन्तन कार्यका व्यस्त रहन्छन् ।
व्यक्तिगत र व्यवहारिक समस्यालाई कदापि समस्याको रूपमा नलिने राई राष्ट्रिय, अन्तराष्ट्रिय र मानवीय समस्याहरूप्रति चिन्तनशील देखिन्छन् । जीवनमा आउने उतारचढाव नीयमित आकस्मिकता झै लाग्न थालेको, भएका, भइरहेका र अब हुने घटनाहरूले अताल्ली हाल्नुपर्ने गरी प्रभाव नपार्ने ठान्दछन् । भ्रमण गर्न डकुमेन्ट्री र नाटक हेर्न मनपराउने राई आफू कथाकारिताका क्षेत्रमा सामाजिक यथार्थवादी तथा जातीय कथाकारका रूपमा परिचित हुने कुरामा विश्वास गर्दछन् ।
८ – साङ्गठनिक सेवा
साहित्यलेखनका क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा समेत कथाकार राईको उल्लेखनीय योगदान रहेको देखिन्छ । वि.सं. २०५२ सालमा न्युज टाइम्सको कार्यकारी सम्पादक भई काम गर्न थालेका राई समाजमा रहेका कुरीति, विकृति र विसङ्गति हटाई समाजमा क्रान्तिकारी सुधार चाहन्छन् तथा मानव, समाज र राष्ट्रको सेवालाई सबैभन्दा ठुलो पुण्यकर्म मान्दछन् । त्यसै गरी उनको किरात राई पत्रकार सङ्घको केन्द्रीय उपाध्यक्ष (२०६६) पदमा रही पत्रकारिताका क्षेत्रमा पनि भिन्न पहिचान निर्माण भएको देखिन्छ । नेपाल पत्रकार महासङ्घको पूर्वाञ्चल क्षेत्रीय समितिको सल्लाहकारका रूपमा पनि उनी हाल कार्यरत छन् । हालसम्म निम्नानुसारका सामाजिक तथा साहित्यिक क्षेत्रमा उनको संलग्नता रहेको देखिन्छ –
* न्युज टाइम्सको कार्यकारी सम्पादक
* किरात राई पत्रकार महासङ्घको केन्द्रीय उपाध्यक्ष
* नेपाल पत्रकार महासङ्घको पूर्वाञ्चल क्षेत्रीय समितिको सल्लाहकार
यी बाहेक अन्य विभिन्न समिति तथा उपसमितिहरूमा आबद्ध रहेर कथाकार राई समयसमयमा विविध सामाजिक सेवाका क्षेत्रमा संलग्न रहेको देखिन्छ ।
९ – शैक्षिक सेवा : – कथाकार जनकऋषि राईले वि.सं. २०४८ सालमा एस्.एल्.सी. उत्तीर्ण भए लगत्तै आफूले अध्ययन गरेको प्रा.वि धरानस्थित श्री प्राथमिक विद्यालयमा एकडेढ बर्ष स्वयंसेवक शिक्षकका रूपमा प्रौढशिक्षाअन्तर्गत अध्यापन गराईको थाहा हुन्छ ।
१० – राजनैतिक चिन्तन
साहित्यकार समाजको एक सचेत र बौद्धिक वर्गमा पर्दछ । उसले समाजका हरेक विकृति, विसङ्गति आदिको प्रतिरोध गर्दै राष्ट्र र समाजलाई अग्रगामी दिशातर्फ डोर्याउने कार्य गर्दछ । सचेत प्राणि स्वभावैले स्वेच्छिक राजनीतिक धारबाट पनि आफू बगिरहेको हुन्छ ।
साहित्यकारको कलम पनि देशमा देखापरेका विभिन्न राजनैतिक मोडहरूसँगै हेरफेर हँुदै क्रियाशील रहन्छ । जसले गर्दा साहित्य र राजनीतिका बीचमा निकट सम्बन्ध रहेको देखिन्छ । राईले आफ्ना कथामा राजनैतिक गन्ध पस्न नदिए पनि उनमा प्रजातान्त्रिक समाजवादी विचारधाराको चिन्तन प्राप्त हुन्छ । तर उनका आफ्ना रचनामा भने जातीय चिन्तन र यौन मनोविज्ञानको स्पष्ट प्रभाव देख्न सकिन्छ । राजनीति जीवनमा आवश्यक भएपनि उनले राजनैतिक पदमा रहेर काम गर्ने रुचि देखाएको पाइँदैन ।
राजनैतिक रूपमा निकै खारिएका चिन्तनशील व्यक्तित्व राई नेतृत्व तहका राजनैतिक कार्यकर्ताहरूसँग राष्टिय अखण्डता र जनताका पक्षमा लड्न आग्रह गर्दछन् । मूलुकको राजनैतिक चिन्तन, सत्ताकेन्द्रित र सुविधाभोगी प्रवुत्तितिर उन्मुख हुदै गइरहेको तात्कालिक राजनैतिक व्यक्तित्वहरूको आचरण र प्रवृत्तिमा आमूल परिवर्तन हुनु आवश्यक छ भन्ने उनको अभिमत छ ।
११ – साहित्यिक योगदान
११.१. कथाकारिता
कथाकारिताको क्षेत्रमा पनि उनको कलम सफलतापूर्वक अगाडि बढेको देखिन्छ । आफ्नो कथाकारितामा उनले सामाजिक, राजनैतिक, प्रशासनिक आदि क्षेत्रमा देखापरेका विकृति र विसङ्गतिका साथै जातीय र सांस्कृतिक पक्षको उल्लेख गर्दै त्यसले सामाजिक जनमानसमा पार्ने प्रभावका बारेमा सशक्त रूपले विश्लेषण गरेको पाइन्छ । वि.सं. २०५५ सालबाट देखापरको यिनको कथालेखन निम्नानुसार विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै अगाडि बढेको देखिन्छ ।
* बस्तीभित्र –(२०५५) गुम्बज, साहित्यिक त्रैमासिक
* एउटा भेट– विजयपुरगढी मासिक
* एउटा कथा नेपाल समाचारपत्र, सौगात
* चिठी
* जागिर – निश्चल मासिक वर्ष १ अङ्क १,२०५९
* मुन्छमीको पूर्वकथा – इटाँ साहित्यिक पत्रिका, वर्ष९, अङ्क १, २०५९
* झ्याल –गोरखा सैनिक आवाज वर्ष ११– अङ्क ८,२०५९
* कुमार मामा– मुग्लान मासिक,वर्ष १ सङ्खया– ७ सेम्टेम्बर २००२
* रिक्सा नं.२०५– गोरखा सैनिक आवाज, वर्ष १२,अङ्क १,२०६०
यिनै कथाहरू राईले ‘बस्तीभित्र’ नामक कथा सङ्ग्रहमा वि.सं. २०६६ सालमा प्रकाशित गरिसकेका छन् । उनले यस कथा सङ्ग्रहमा मझौला खालका जम्मा १३ वटा कथाहरूलाई सङ्कलन गरेका छन् । उनको यस सङ्ग्रहभित्रको ‘एउटा भेट’ कथा पेन नेपाल नामक बेलायती संस्थाले अङ्ग्रेजी भाषामा अनुवाद गरी प्रकाशित समेत गरेको छ ।
यिनका प्रारम्भिक कथाका तुलनामा पछिल्ला कथामा बढी चिन्तनशील देखिन्छन् । यिनी प्रसिद्ध कथाकारहरू एन्टोन चेकप, खलिल जिब्रान, वी. पी. कोइराला, भवानी भिक्षु आदिको कथाकारिताबाट आफू प्रभावित भएको स्वीकार गर्दछन् । जसको परिणाम बस्तीभित्र कथा सङ्ग्रहमा पनि प्रष्ट देख्न सकिन्छ । उनले यी कथामा वर्गीय समानता ,आर्थिक क्रान्ति, जातीय र सांस्कृतिक सवालका पक्षमा समेत कलम उठाएका छन् ।
राईका कथागत विशेषताहरूलाई बुदागत रूपमा निम्नानुसार देखाउन सकिन्छ –
– चरित्र प्रधान कथाकार
– यथार्थपरक सामाजिक घटना विवरण
– द्वन्द्वको प्रबलता
– झिनो (सामान्य) कथावस्तु
– स्वैर कल्पनाको यथार्थपरक प्रयोग
– लेखक स्वयं ‘म’ पात्रका रूपमा उपस्थिति हुनु
– भुत, भविष्य र वर्तमान घटनाको सूत्रात्मक प्रयोग
– जातीयताका सवालमा सचेतता
– नारी र पुरुषका माझमा देखिने रतिरागात्मकताको चित्रण
– मानिसका दमित, अतृप्त र असन्तुष्ट भावनाहरूको चित्रण
– ग्रन्थिका रूपमा रहेका अव्यक्त यौन कुण्ठाको अभिव्यक्ति
११.२. कविव्यक्तित्व
राईले कविता क्षेत्रबाटै साहित्यलेखनको थालनी गरेका हुन् । उनी कथाकारिताका क्षेत्रमा पछिमात्र समाविष्ट भएका हुन् । उनको कवितालेखन २०४४ सालतिर फुटकर कविताका रूपमा स्थानीय पत्रपत्रिकामा प्रकाशित भई प्रारम्भ भएको हो । तर पुस्तकाकार रूपमा आजसम्म यिनले सिर्जना गरेका कविताको सँगालो भने प्रकाशित भएको छैन ।
क्रान्ति र चेतनाका उदीयमान कवि राईका कवितामा सामाजिक विकृति र विसङ्गतिप्रति चोटिलो व्यङ्ग्य प्रहार गरिएको हुन्छ । यिनका प्रारम्भिक चरणका कवितामा प्राकृतिक विषयवस्तु र राष्ट्रियता अभिव्यक्त हुन्थ्यो । कवितालेखनको उत्तरवर्ती चरणमा मानवीय मूल्य र मान्यता, सामाजिक, सांस्कृतिक चेत तथा विकृति एवं विसंङ्गतिहरू प्रतिको विद्रोही दृष्टिकोण प्राप्त हुन्छ । लयात्मक गद्यमा कलात्मक विम्ब र आख्यानीकृत प्रतीकको प्रयोग गर्दै कविता लेख्ने राईका कवितामा देशप्रेम, देशभक्ति, विग्रँदो राजनैतिक परिस्थिति प्रति चिन्ता र चेतनाले ओतप्रोत यिनको कवि व्यक्तित्व प्रस्फुटित भएको छ ।
११.३. पत्रकारिता
जनकऋषि राई पत्रकारिता क्षेत्रमा पनि सफल पत्रकारका रूपमा देखापरेका छन् । उनले २०५२ सालमा न्युज टाइम्स साप्ताहिक पत्रिकामा पनि कार्यकारी सम्पादक भई कार्य गरेको पाइन्छ । विचार प्रधान ‘नामसामु’ पत्रिकामा पनि कार्यकारी सम्पादक भई पत्रकारिता क्षेत्रमा योगदान पनि पुर्याए । गोरखा सैनिक आवाज मासिक पत्रिकाको सह–सम्पादक पनि भए । पत्रकारिताकै माध्यमबाट विभिन्न विद्युतीय सञ्चार माध्यम सप्तकोशी एफ्.एम्. इटहरीमा नयाँ नेपाल र सङ्घीय नेपाल नामक रेडियो कार्यक्रम तथा स्टार एफ्.एम्. धरानमा ‘नवजीवन’ कार्यक्रमका प्रस्तोता पनि भए । वर्तमान समयमा नेपाल पत्रकार महासङ्घको पूर्वाञ्चल क्षेत्रीय समितिको सल्लाहकारका रूपमा संलग्न रहेका छन् ।
११.४. प्रकाशित कृति
वि.सं. २०४४ सालदेखि नै कविता लेखनबाट साहित्यिक क्षेत्रमा कलम चलाउने राईका हालसम्म २०६६मा प्रकाशित ‘बस्तीभित्र’ कथा सङ्ग्रहले मात्र कृतिको रूप धारण गरेको छ ।
११.५. सम्मान तथा पुरस्कार
आधुनिक नेपाली साहित्यको समसामयिक धाराभित्र कथाकार राईले दह्रिलो कदम चाल्नुका साथै यसको जगमा बलियो इँटा थप्ने काम गरेका छन् । विशेष गरेर कथा क्षेत्रमा कलम चलाउने कथाकार राईलाई अझ तदारुकताका साथ अगाडी बढ्न सक्ने हौसला प्रदान गर्दै विभिन्न सङ्घसंस्था र साहित्यिक प्रतिष्ठानहरूले सम्मान तथा पुरस्कार प्रदान गरेको देखिन्छ । उनले प्राप्त गरेका पुरस्कारहरूको विवरण निम्नानुसार छ : –
– उत्कृष्ट पत्रकार २०५७, गोरखा भुतपूर्व सैनिक सङ्घ, सुनसरी
– राष्ट्रव्यापी कथा प्रतियोगिता २०५८ मा तेस्रो (पेन नेपाल, काठमाडौं)
– बढी पुस्तक अध्ययन पुरस्कार २०५८, (एल रोइ पुस्तकालय, धरान)
– विशेष पत्रकारिता सम्मान, २०५९ (किराती जागरण सभा, सुनसरी)
– युवा प्रतिभा २०६० (विमल स्मुति,पुस्तकालय धरान, सुनसरी)
– सम्मान–२०६२ (लोकतान्त्रिक श्रष्टाहरूको संयुक्त मञ्च नेपाल, सुनसरी)
– कदर पत्र – २०६६ (किरात राई यायोक्खा केन्द्रीय समिति काठमाण्डौ)
– सम्मान पत्र– २०६६ (लालीगुराँस क्लब धरान)
– सम्मान पत्र – (नौलो एकता युवा समूह र सुनौलो विहानी युवा जमात धरान –११)
यस अतिरिक्त पनि उनले विभिन्न सम्मान तथा पुरस्कारहरू प्रशस्त रूपमा प्राप्त गरिसकेका छन् ।
hetchakuppa@gmail.com
११.६. निष्कर्ष
प्रस्तुत यस अध्यायका विभिन्न शीर्षक तथा उपशीर्षकहरूमा राईका व्यक्तित्व र कृतित्वका साथै उनले पुर्याएको योगदान र अवस्थाको चर्चा गरिएको छ । सामान्य आर्थिक स्थिति, बालककाल तथा युवाजीवन, सार्वजानिक कार्यहरूमा व्यस्तता आदिबाट केही समय निकाली नेपाली साहित्यको कथा विधामा आफूले सकेको योगदान दिनुभएको छ । नारी र पुरुषभित्र उठेका मनोभावना, जातीय तथा सांस्कृतिक, भौगोलिक आदि क्षेत्रमा कथाको उठान राम्ररी गरिएको छ । स्वैरकल्पनामूलक स्वतन्त्र लेखनका माध्यमबाट विद्यमान समाजका सामाजिक यथार्थको चित्रण गर्दै गाउँघरमा देखापरेका विकृति, विसङ्गति, कुसंस्कार आदिका विरुद्धमा आवाज उठाइएको पाइन्छ । उनले सरल सहज भाषाशैलीका माध्यमबाट भौगोलिक, जातीय, तथा मानिसभित्र भएको मनोभावना पन्छाउदै पूर्वीय तथा पाश्चात्य वाङ्मयको अनुसरण गरेको पाइन्छ । मौलिकता, सूक्ष्म अध्ययन र विश्लेषणमूलक लेखन आदि उनको समग्र साहित्यिक विशेषता हो ।
विज्ञानकुमार भट्टराई
नेपाल संस्कृत विश्वविद्यालय
पिण्डेश्वर विद्यापीठ, धरान – १४
(स्रोत : साहित्यघर – निहारिका)